बजेटको अभावले अलपत्र बन्यो काभ्रेको तामाङ एकीकृत बस्ती

काभ्रे । मण्डनदेउपुर नगरपालिका-१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण रोकिएको छ ।
बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी काम थालिएको थियो। योजनाअन्तर्गत छ वटा घर बन्न बाँकी छ । बनेका घरहरूको ‘फिनिसिङ’ गर्न बाँकी छ । नमूना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो। बजेट अभावमा दुई वर्षदेखि निर्माण रोकिएको निर्माण समितिले जनाएको छ। उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको कामसमेत अलपत्र भएको हो ।
बाँकी काम पूरा गर्न नगर कार्यालयले ४० लाख रकम दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखि नै रकम निकासा नहुँदा बस्ती निर्माणको रोकिएको हो । बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो। सरकारको योजनअनुसारनै तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘होम-स्टे’सहितको नमुना तामाङ बस्तीको निर्माण थालिएको थियो ।
नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेश्की फर्छ्योट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताउँदै आएका छन्। यसअघि नगरले १० लाख रुपैयाँ सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरीदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ। प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताए ।
केही वर्षअघिसम्म स्थानीयस्तरमै पटकपटक ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिएको उनले बताए । प्राधिकरणबाट दुई करोड ८० लाख रुपैयाँ निकासा भएको उनले जानकारी दिए। उनका अनुसार त्यो रकम एकीकृत बस्तीमा पहुँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ ।
प्रतिकृया दिनुहोस