मौसम अनुकूल भएपछि एकैदिन ६९० पर्यटक लुक्ला पुगे

Lukla airport solu

सोलुखुम्बु । मौसम अनुकूल भएसँगै काठमाडौँ र रामेछापको मन्थली विमानस्थलमा रोकिएका छ सय ९० पर्यटक लुक्ला पुगेका छन् । मौसम प्रतिकूलताका कारण दुई दिनदेखि पर्यटक मन्थली र काठमाडौँमा रोकिएका थिए ।

नेपाल नागरिक उड्डययन प्राधिकरण लुक्लाका ‘एटिसी अफिसर’ विवश दाहालका अनुसार बुधबार मन्थलीमा रोकिएका छ सय र काठमाडौँमा रोकिएका ९० पर्यटक लुक्ला पुगेका हुन् । हेलिकप्टरमार्फत ७० उडान गर्दा तीन सय ५० र २२ उडान जहाजमार्फत तीन सय ४० पर्यटक लुक्ला ओर्लिएका उनले बताए ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले खुम्बु क्षेत्र आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट जहाजमार्फत लुक्ला उडानको व्यवस्था गरेको छ ।

गत आइतबार ९० उडानमार्फत आठ सय पर्यटक लुक्ला आएको प्राधिकरणको तथ्याङ्क छ । खुम्बुक्षेत्र भ्रमणमा आउने पर्यटकले लुक्लाबाटै पदयात्रा सुरु गर्छन्। लुक्लासम्म सडक नपुगेकाले सर्वसाधारण र पर्यटकका लागि हवाइसेवा प्रमुख माध्यम हो । लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो। यो विमानस्थल समुन्द्र सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ पाँच सय २७ मिटर र चौडाइ २० मिटर छ, जुन अन्य विमानस्थलभन्दा छोटो हो । छोटो धावनमार्ग भएकाले त्यहाँ ‘ओभरसुट’ सम्भव हुँदैन ।

प्रतिकृया दिनुहोस