बढ्दैछ भारत क्यानडाबीच कुटनीतिक दुरी, भारतद्धारा ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित

Canada and india flag

काठमाडौं । भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको छ ।

भारत सरकारले आफ्नो देशमा रहेका क्यानडाका कार्यकारी उच्चायुक्त स्टिवर्ट रस ह्विलर, उपउच्चायुक्त प्याट्रिक हेबर्ट, प्रथम सचिवहरू मेरी क्याथरिन जोली, इयान रस डेभिड ट्राइट्स, एडम जेम्स चुइप्का र पाउला अर्जुएलालाई देश निकाला गर्ने निर्णय गरेको हो ।

भारतीय विदेश मन्त्रालयले उनीहरूलाई यही अक्टोबर १९ राति ११ बजेर ५९ मिनेटअघि भारत छाड्न भनेको छ । यसअघि भारतले क्यानडामा रहेका आफ्ना उच्चायुक्त सञ्जयकुमार बर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

क्यानडामा सन् २०२३ मा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या हुनुमा क्यानाडा सरकारले भारतको हात रहेको आरोप लगाएपछि दुई देशबीच कूटनीतिक तिक्तता बढेको छ । क्यानडाले भारतका उच्चायुक्त सञ्जय कुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञहरु सन् हरदीप सिंह निज्जरको हत्या प्रकरणमा जोडिएको आरोप लगाउँदै आएको छ । क्यानडाले एक कूटनीतिक नोट पनि भारत पठाएको थियो ।

भारतले भने क्यानडाले लगाएको आरोप अस्वीकार गर्दै क्यानडाका ६ कूटनीतिज्ञलाई देश निकाला गर्ने र आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

क्यानडाको अडानप्रति आपत्ति जनाउँदै भारतले दिल्लीस्थित आफ्नो नियोगका वरिष्ठ कूटनीतिज्ञलाई बोलाएको छ । विदेश मन्त्रालयले क्यानडामा रहेका भारतीय उच्चायोग र अन्य कूटनीतिज्ञलाई आधारहीन निशाना बनाउने कार्य अस्वीकार्य रहेको बताएको छ ।

सोमबार साँझ भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘ट्रुडो सरकारको व्यवहारका कारण भारतीय कूटनीतिज्ञको सुरक्षा खतरामा परेको छ। अहिलेको सरकारप्रति हाम्रो विश्वास छैन । यसैलाई ध्यानमा राख्दै भारत सरकारले क्यानडाबाट आफ्ना उच्चायुक्त र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । हामीले क्यानडालाई ट्रुडो सरकारले भारतविरुद्ध पृथकता र चरमपन्थीलाई जसरी समर्थन गरिरहेको छ त्यसको विरुद्ध जवाफ दिने अधिकार भारतसँग छ भनी बतायौँ ।’

यता, भारतको यो निर्णयपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजधानी ओटावामा पत्रकार सम्मेलन गरी भारतलाई आफूहरुले हरदीप सिंह हत्यामा भारतीय संलग्न भएको प्रमाण दिए पनि भारतले अनुसन्धान नसघाएको आरोप लगाए ।

उनले भने, ‘क्यानडा र भारतबीच लामो समयदेखिको सम्बन्ध छ । व्यापार र वाणिज्यको लामो इतिहास छ । तर हामीले जे देखिरहेका छौं त्यो सैह्य छैन । भारतको सम्प्रभूता र क्षेत्रीय अखण्डताको क्यानाडाले पूर्णरुपमा सम्मान गर्दछ र हामीलाई विश्वास छ भारतले पनि हामीलाई त्यस्तै गर्ने छ ।’

यसैगरी भारतले निष्कासित गरेपछि दिल्लीस्थित क्यानडाइ मिसनका बरिष्ठ कूटनीतिज्ञ स्टिबर्ट ह्वीलरले भनेका छन्, भारतले लामो समयदेखि जे माग गरिरहेको थियो, त्यो माग क्यानडाले पूरा गरिदिएको छ । क्यानडाले आफ्नो भूमिमा क्यानडाकै नागरिकको हत्या मामिलामा भारतीय एजेन्ट र उनको भारत सरकारसँग जोडिएको सम्बन्धको ठोस प्रमाण भारतलाई बुझाइदिएका छौं । अब कदम चाल्ने पालो भारतको हो । भारतीय कदम दुवै देश र ती देशका नागरिकका जनताको हितमा हुनेछ । यो प्रकरणमा सहयोग गर्न क्यानडा सरकार तयार छ ।’

प्रतिकृया दिनुहोस