उपराष्ट्रपतिद्वारा विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त

Ramsahaye yadav

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालीहरूको महान् पर्व विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले समाजमा नयाँ उत्साह र उमङ्ग छर्ने बताए। “आनन्द, खुसी र एकताको यो पर्वले सबैको जीवनमा खराब आचरणको अन्त्य गर्दै समाजमा नयाँ ऊर्जा तथा उत्साह सञ्चार गर्न सकोस्”, शुभकामना सन्देशमा उल्लेख छ ।


उपराष्ट्रपति यादवले आख्यानका आधारमा तिथि विशेषमा मनाइने हाम्रा प्रत्येक पर्व–त्योहार आफ्नो मान्यतामा अनौठो र मौलिक रहेका उल्लेख गरे। यस्ता पर्वले हाम्रा सांस्कृतिक परम्परालाई अक्षुण्ण राख्न सहयोग पुग्ने भन्दै उनले नेपालीका महत्त्वपूर्ण चाडपर्वमध्ये विजयादशमी पनि एक भएको उल्लेख गरे। “भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार दसैँ, बडादसैँ, दशहरा, दुर्गा पूजा, नवरात्रि आदि नामले समेत चिनिने यो महापर्व असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइन्छ ।

विजयादशमी सामाजिक मात्र नभई राष्ट्रिय महत्त्व बोकेको पर्व पनि हो । यसले कु प्रवृत्तिमाथि सद्वृत्तिको विजय, असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिन्छ”, उपराष्ट्रपति यादवले भनेका छन,“संसारमा अन्याय र अत्याचार गर्नेहरूको सधैँ पराजय हुने तथा न्यायकर्ता र सदाचारीको सधैँ विजय हुने शिक्षा पनि यसले दिन्छ । अत्याचारी जतिसुकै शक्तिशाली भए पनि अन्त्यमा उसको सर्वनाश निश्चित भएको सन्देश पनि दिन्छ ।”

उनले विजयादशमीले समाजमा चेतना र सजगता ल्याउँदै सबैलाई मन–बचनबाट सुकर्म गर्न र कुविचार परित्याग गर्न सघाऊँ पुगोस् भनी कामनासमेत गरे। यस्तै, विजयादशमीले आपसी शत्रुता र कटुता बिर्सेर एकर्कामा शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गर्दै परिवार र समाजमा एकता, प्रेम र सद्भावना बढाउनमा सहयोग पुग्ने र सामाजिक सम्बन्धलाई बलियो र एकताको भावना अभिवृद्धि गर्नमा सघाउने उपराष्ट्रपति यादवको विश्वास छ ।

उपराष्ट्रपति यादवबाट टीका तथा प्रसाद प्रदान हुने समय निर्धारण

उपराष्ट्रपति रामसहायप्रसाद यादवबाट विजयादशमीको अवसरमा उच्चपदस्थ व्यक्तित्व र आम नागरिकलाई टीका तथा प्रसाद प्रदान हुने समय तोकिएको उनको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवको सचिवालयले बुधबार एक प्रेस नोट जारी गर्दै यही असोज २६ गते दसैँका दिन उच्च तहमा रहेका व्यक्ति र आम नागरिकलाई टीका–प्रसाद ग्रहणका लागि अपराह्न २ः३० बजेदेखि ४ः०० बजेसम्मको समय तोकिएको जनाएको हो ।

सचिवालयले टीका ग्रहणका क्रममा मर्यादित पोसाक लगाएर आउन अपिलसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय