बल्ल भयो नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता

बंगलादेशले ५ वर्षमा ७ अर्ब ३९ करोड रुपैयाँको विद्युत् खरिद गर्ने

Bidhyut samjhauta

काठमाडौं । नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल, भारत र बंगलादेशबीच बिजुली बिक्री गर्न ऐतिहासिक सम्झौता भएसँगै नेपाललाई तेस्रो मुलुकमा बिजुली बेच्ने बाटो खुलेको छ ।

यसअघि २ पटक मिति तय भएर पनि सम्झौतामा हस्ताक्षर हुनसकेको थिएन । विद्युत् बिक्रीबापत नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउनेछ । अहिलेको विनिमय दरअनुसार बंगलादेशले ५ वर्षमा ७ अर्ब ३९ करोड रुपैयाँको विद्युत् खरिद गर्ने अनुमान छ ।

सम्झौतामा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत नर्‍याङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष रिटेल करिम र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् ।
यसअघि ४० मेगावाट बिजुली खरिदबिक्री गर्न साउन १३ मा सम्झौता हुने भनिएको थियो। तर सम्झौता नहुँदै बंगलादेशमा सरकारविरुद्ध विद्यार्थीको देशव्यापी प्रदर्शन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् । त्यसपछि बिजुली खरिदबिक्री सम्झौताबारे अन्योल सिर्जना भएको थियो । तर बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने प्रक्रियालाई निरन्तरता दिने बताएपछि सम्झौता भएको हो ।

प्राधिकरणले वर्षायामका ५ महिना अर्थात् हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी छ, जसअनुसार ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ  । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुनेछ । त्यसका लागि विद्युत्‌को मिटर मुजफ्फरपुरमा रहनेछ । त्यसैले ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नुपर्नेछ ।

मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने भएको हो । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

नेपाल, भारत र बंगलादेशका अधिकारीहरूले नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न भएको त्रिपक्षीय सम्झौता ऐतिहासिक भएको बताएका छन् ।

‘आजको यो उपलब्धि सन् २०१८ देखि नेपाल र बंगलादेशले ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको ६ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो,’ मन्त्री खड्काले भने, ‘नेपालका तत्कालीन शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा क्षेत्रको भिजन पेपरमा हस्ताक्षर गर्नुभएको थियो । हालै प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेश सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले यो सम्झौताका लागि संयुक्त बैठकमार्फत दिशा निर्देश गर्नुभएको थियो । उहाँहरूको पहलले यो सम्भव भएको हो ।’

बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले यो सम्झौता दक्षिण एसियाली विद्युत् सहकार्यमा कोशेढुंगा भएको बताइन् । भारत, नेपाल र बंगलादेशको पारस्परिक लाभका लागि यो महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । आगामी दिनमा यो सहकार्य अझै बढ्ने उनले बताइन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...