बाढीपहिरो अपडेट : मृतकको संख्या २२८ पुग्यो, २५ जना अझैं बेपत्ता

बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित हुँदा १७ अर्बको क्षति

Badhi pahiro 14

काठमाडौं । केही दिनअघिको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ । २५ जना अझै हराइरहेका छन् । बाढी पहिरोमा परेर एक सय ५८ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।
बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार १७ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ ।

सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ ।

बाढीका कारण सबैभन्दा बढी समस्यामा विपी राजमार्ग परेको छ । रोशी खोला किनारका बस्ती क्षतविक्षत भएको छ । हालसम्मको विवरणअनुसार बाढीपहिरोबाट सडक र पुलमा मात्रै दुई अर्ब ५२ करोड बराबरको क्षति भएको छ । बाढीले पाँच वटा पक्की पुल र दुई वटा बेलिब्रिजमा क्षति पुगेको छ ।

कृषि क्षेत्रमा करिब छ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ । कूल ५८ हजार चार सय ७६ हेक्टरमा लगाइएको तीन अर्ब ५० करोड बराबर धानबालीमा क्षति पुगेको छ । किसानका २६ हजार दुई सय पाँच वटा पशुपन्छीमा क्षति पुगेको छ ।

भौतिक क्षतितर्फ खानेपानी संरचनामा तीन अर्ब ५५ करोड, सडक पूर्वाधारमा दुई अर्ब ५२ करोड, ऊर्जातर्फ चार अर्ब र जलस्रोत तथा सिँचाइतर्फ एक अर्ब ३५ करोड बराबरको क्षति भएको छ । बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकामा नौ वटा सञ्चालन आइसकेका छन् । त्यस्तै ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सडक विभागअन्तर्गतका झण्डै २२ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ । त्यसमा सडकतर्फ एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ ८२ करोड र बेलीब्रिजतर्फ २० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण छ । सो मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढीपहिरोका कारण क्षति पुगेको छ ।

बाढीपहिरोका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग कान्ति राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ । सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङ्गटारको पुल पूर्णरूपमा क्षति पुगेको छ ।

अरनिको राजमार्गअन्तर्गत लिपिङ पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाउँदा यातायात सञ्चालनमा असुविधा उत्पन्न भएको छ । लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज बाढीले बगाएको छ । सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङटारको पुल पूर्णरूपमा क्षति भएको विवरण छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए । बाढीपहिरोबाट अवरुद्ध भएका सडकलाई थप तदारुकताका साथ सञ्चालनमा ल्याउने, पहिरोबाट अवरुद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...