अविरल वर्षाका कारण राष्ट्रिय राजमार्गमा ठूलो क्षति, उपत्यका जोड्ने सबै नाका बन्द

Nagdhunga sadak

काठमाडौं । पछिल्लो दुई दिनयताको अविरल वर्षाका कारण देशभर मूख्य राष्ट्रिय राजमार्गमा ठूलो क्षति भएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने सबै राजमार्ग पहिरोले अवरुछ भएको छ ।

खासगरी राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मूख्य राजमार्गमै बाढी र पहिरोले क्षति गरेको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् शनिबार साँझसम्म उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने सबै नाका ठप्प भएका छन् ।

काठमाडौं उपत्यकालाई बाहिरका जिल्लाहरुसँग जोड्ने सबै नाका शनिबार साँझसम्म बन्द छन् । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले बिहानैदेखि यो सडक खण्ड बन्द छ ।

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने वीपी राजमार्ग समेत अवरुद्ध छ । सडक विभागका अनुसार वीपी राजमार्गको मात्र करीव २ सय मिटर सडक बाढीले बगाएको छ । यस राजमार्गको नेपालथोक–धुलिखेल खण्डको नेपालथोक नजिक रोशी खोलाले ६० मिटर सडक पुरै बगाएको छ ।

अरनिको राजमार्ग समेत अवरुद्ध भएको सडक विभागले जनाएको छ । काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको विभागले जनाएको छ ।

हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने लामो तथा छोटा दूरीका सबै मार्ग बन्द भएका हुन् । हेटौंडाबाट काठमाडौं आउने कान्ति लोकपथ, राजधानी मार्ग ९भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं०, कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।

अहिलेसम्म २३ राजमार्गका ६६ भन्दा धेरै स्थानमा बाढी र पहिरोले क्षति पुगेकाले यातायात बन्द गर्नुपरेको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए ।

पहिरोले आधा दर्जन पुल बाढी र पहिरोले बगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गबाट दुई मुलुक बीचको सडक सम्पर्कसमेत विच्छेद हुन पुगेको छ । सडक विभागका अनुसार शनिबार वीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाका विभिन्न स्थान र सिन्धुलीमा सडक अवरुद्ध छ ।

कान्ति राजमार्गको मकवानपुर खण्ड, त्रिभुवन राजपथको धादिङ र मकवानपुर खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध रहेको छ । पुष्पलाल रामार्गको ओखलढुंगा, सिन्धुली, खोटाङसहितका जिल्लामा सडक अवरुद्ध भएको छ । राप्ती राजमार्गको सल्लान, सिद्धार्थ राजमार्थको पाल्पा, तानसेन–रिडी–कोरला राजमार्गको मुस्ताङ, पृथ्वी राजमार्गको धादिङ र तनहुँका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको छ ।

सालझण्डी–ढोरपाटन खण्डको अर्घाखाँची र स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड समेत अवरुद्ध रहेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यस सडक खण्डमा मात्र विभिन्न ६ स्थानमा पहिरो गएको छ । यी पहिरोग्रस्त क्षेत्रमा पैदल यात्रु समेत पास हुन नसक्ने अवस्था छ ।

महानिर्देशक पोखरेलका अनुसार शनिबार साँझसम्म देशभर करीव आधा दर्जन सडक पुलमा क्षति पुगेको छ । मेची राजमार्गको हेवाखोलामा गत वर्ष मात्र बनाइएको बेली व्रिज आज पुनः भत्किएको छ । इलामको सन्दकपुरस्थित राता खोलामा निर्माणाधिन पुल भत्किएको छ ।

सिन्धुलीको खुर्कोटमा सुनकोशी नदीमाथिको पुलमा क्षति पुगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गका पुलहरुमा समेत क्षति पुगेको महानिर्देशक पोखरेलले जनाएका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका -२ तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार लार्चाको बेली ब्रिज बगेको छ । १० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज समेत बगेको छ । तातोपानी नाका जाने लिपिङको पुल समेत बगेको छ । कान्ति लोकपथमा पर्ने बागमति नदीमाथिको पुल समेत बाढीले बगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

क्रमसः बाहिरिन थाल्यो मनसुन, आगामी ३ दिन भने वर्षाको सम्भावना कायमै

Mausam news

काठमाडौं । नेपालका केही भूभागबाट यो वर्षको मनसुन बाहिरिएको छ । गत असार पहिलो साता भित्रिएको मनसुन...