दलका नेताहरूलाई दलितहरू दलका असिंयार र हिस्सेदार हुन भन्ने रियलाइजेसन नै भएन

Ganesh bk

गणेश विश्वकर्माको परिचय मानव अधिकारकर्मी, दलित अभियन्ता र एकीकृत समाजवादीका नेताका रूपमा परिचित छ । उनी दलित मुक्ति सङ्गठनका केन्द्रीय अध्यक्षको जिम्मेवारीमा पनि छन् । दलित समुदायका अधिकारका विषयमा खरो बहस गर्न रुचाउने उनी विद्यावारिधिको तयारीमा पनि छन् । नेपाल गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र सङ्घीयताको अभ्यासको चरणमा छ । मुलुक छुवाछुतमुक्त राष्ट्र घोषणा भइसकेको अवस्था छ । तर कार्यान्वयनको पाटो फितलो देखिन्छ । नेपालका दलित समुदायको अवस्था, नीति निर्माण तहमा उनीहरूको सहभागिता एवम् राज्यका जिम्मेवार निकायमा दलित समुदायको प्रतिनिधित्व लगायतका गरिएको संक्षिप्त कुराकानी:

संविधान जारी भएको नौ वर्ष बित्यो । संविधानले हरेक निकायमा दलितको प्रतिनिधित्व अनिवार्य भनेको छ तर कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ ?
संविधानका सन्दर्भमा कुरा गर्दा गौरव गर्ने कुरा भनेको मानव अधिकारको पक्ष हो । मानव अधिकारको पक्ष एकदमै राम्रो छ । विशेषगरी हामी के दावा गर्ने गर्छौं भने भारतको भन्दा नेपालको संविधानमा धेरै कुरा राख्न सफल भएका छौँ । विशेषगरी नेपालको संविधानका दुईटा धाराहरू २४ र धारा ४० मा मौलिक हकहरू संसारका संविधानहरू मध्ये एउटै समुदायको दुईटा मौलिक हक समेटिएको नेपालको संविधान मात्र थियो । धारा २४ मा छुवाछुत विरुद्धको हक थियो भने धारा ४० मा आर्थिक,सामाजिक, राजनीतिक अधिकारको प्रतिनिधित्वको कुरा थियो । त्यो बाहेकका धारा १८ मा समानताको हक, धारा २९ मा श्रम सम्बन्धीको हक र धारा ४२ मा सामाजिक न्यायको हक छ ।

संविधानमा स्पष्ट रूपमा दलित भनेर सबै ठाउँमा राखिएको छ । तर भारतमा थिएन । यसरी हेर्दा नेपालको संविधान सबैभन्दा राम्रो थियो र छ । तर कार्यान्वयनमा जाँदा जहाँ दलित नै भनेर तोकिएको छ त्यो ठाउँमा उनीहरुले अवसर पाएका छन् । त्यो वाद्यकारी नै भयो । तर नतोकेको ठाउँमा समावेशिताको कुरा गरियो तर दलितहरूलाई आशा मात्रै देखाउने काम गरियो । जस्तै मन्त्रीमण्डल बनाउँदा यति सङ्ख्यामा आवश्यक पर्छ भनेर भनियो, यति प्रतिशत महिला हुनेछ , यति प्रतिशत दलित हुनेछ भनेर उल्लेख नै भएन । उल्लेख नहुने बित्तिकै राखे पनि भयो नराखे पनि भयो । नेतृत्वमा बसेकाले मनमौजी गर्न पाए ।

यस्तै अरु क्षेत्रहरूमा पनि सबैभन्दा बढी आधारभूत वर्गका मान्छेलाई सम्बोधन गर्ने एउटा धारा थियो ४०, त्यो धाराको उपधारा ५ र ६ थियो । दलितहरूका लागि एक पटक भूमि दिने आवासको व्यवस्था गर्ने भनियो । तर कानुन बनाउँदा चाहिँ भूमि व्यवस्था र सहरी विकास मन्त्रालयले दलितका लागि मात्र होइन अरूको लागि पनि हो भनेर त्यसलाई परिवर्तन गराइदियो ।

त्यस्तै, भूमि आयोग गठन भयो, त्यस अगाडि भूमि समस्या समाधान आयोग गठन भएको थियो । ती आयोगहरूको उद्देश्य हेर्दा धारा ४० को उपधार ५ र ६ कार्यान्वयन गर्ने भनेर गठन भएको देखिन्छ । तर त्यसमा प्रतिनिधित्व हेर्दा एउटा पनि दलित सदस्य राखिएन । दोस्रो पटक झगडा गरेर बल्लतल्ल एक जना राखियो ।

७७ जिल्ला मध्ये ७२ जिल्लामा भूमि आयोग गठन गरियो तर तीमध्ये दुई जिल्ला बैतडी र धनकुटामा मात्र दलित समुदायका व्यक्तिलाई अध्यक्ष बनाइयो । अन्यमा कोही पनि दलितले अवसर पाएनन् । आम रूपमा भूमि, सुकुम्वासी, पछाडि पारिएका समुदाय लैजाने भनेर आयोग अगाडि बढाइयो । तर कार्यान्वयन फितलो रूपमा भयो । हुन त सुकुम्वासी भन्ने बित्तिकै दलित मात्र हुने कुरा भएन । सुकुम्वासी र भूमीहिनभित्र पनि कब्जा गरेर बस्ने मान्छेको नेतृत्व कसले गर्छ भन्ने कुरा आयो । यहाँ दलितले त कब्जा गर्न नसक्ला । एक ठाउँमा जग्गा छ भने अर्को ठाउँमा आएर फेरि जग्गा हडप्ने काम त अरूले नै गरिरहेको देखिन्छ । जसको पहुँच हुन्छ उसले उक्त क्षेत्रमा नेतृत्व गरिरहेका छन् ।

दलितकै कुरा गर्ने हो भने पनि सातवटा प्रदेशबाट कम्तिमा एक जना दलित राष्ट्रियसभामा हुने भन्ने व्यवस्था छ । तर अरु ठाउँमा दलितले अवसर नै पाएनन् । यो सातजना दलितव्यक्ति लिने ठाउँमा एक जना महिला पनि अटाइएनन् । किनकि त्यहाँ दलित महिला उल्लेख गरेको छैन । दलित महिला नभएर पुरुष मात्र एक जना अटाएको छ । सात जना दलित भनेको ठाउँमा महिलाको संख्या तोकिनुपर्ने थियो, तोकिएन । राज्यले पनि चासो दिएन । समावेशी आयोग भन्ने बनाइएको थियो, त्यसमा पाँच जना सदस्य हुन्छन् । पाँच जनाभित्र दलितको प्रतिनिधित्व देखिदैन। समावेशी भनेको दलित आयोग हो की भनेर दलित आयोग बनाइयो । जहाँ दलित बाहेक अन्य राख्न पाइँदैन भनेको छ त्यहीँ भएर त्यहाँ पाँच जना नै दलित समुदायकै व्यक्ति राखिएको होला ।

त्यहाँ पनि महिला यतिउति भनेर तोकिएको छैन । खासगरी दुई महिला हुनुपर्ने हो एक जना मात्र सहभागिता गराइएको छ । दमाई, परियार, सार्की अटाइएको छैन ।

समावेशिताको आधारमा संविधान राम्रो भएजस्तो भए पनि समुदायले हेर्ने दृष्टिकोणमा कार्यान्वयन गरेको देखिँदैन । राजनीतिक दलहरूले पार्टीको नेतृत्वमा दलित समुदायका मान्छे पुर्याउने क्रममा विभेद गरेको पाइन्छ । खासगरी कम्युनिस्ट पार्टीहरूले आफूलाई समावेशी दाबी गरेपनि कार्यान्वयनमा कमजोर रहेको पाइन्छ । पार्टीहरूले आफ्नो पार्टीको महाधिवेशनमा समावेशीको छुट्टै कोटा भनेर छुट्टाउने गरेपनि त्यो कोटामा पनि १३ प्रतिशत मात्र दलितलाई दिने गरेका छन् । समावेशिता कोटा छुट्टाउने कुनै आधार नै छैन ।

दलित समुदायको प्रतिनिधित्व वा सहभागिता कमजोर हुनुमा समुदायकै कमजोरी हो कि ?
मलाई लागेको के हो भने आन्दोलनको हिसाबले सामाजिक एवं सामुदायिक आन्दोलनहरूमध्ये सबैभन्दा बलियो दलित समुदायकै आन्दोलनलाई मानिन्छ । दोस्रो पटकको संविधान जारी हुने बेलामा सबै आन्दोलनहरू बन्द भइसकेका थिए तर दलित आन्दोलन मात्र जारी थियो । वैचारिक हिसाबले हेर्ने हो भनेपनि दलित आन्दोलन त्यति कमजोर चाहिँ छैन । अहिले पार्टीका भातृ सङ्गठनको नेतृत्वदेखि पार्टीको शीर्षस्थ तहमा पनि दलित समुदायका नेताहरू पुग्नु भएको छ । तर अब पनि हरेक बिहान उठ्ने बित्तिकै जुलुस निकाल्ने कुरा त भएन नि । दबाब भनेर दिनहुँ जुलुस निकाल्ने कुरा पनि भएन । लबिङ गर्ने, आफू आबद्ध पार्टीमा अधिकारका लागि झगडा गर्ने लगायतका कामहरू त भइरहेकै छन् । तपाईँले भनेजस्तै राजनीतिक दलका नेताहरूले र राज्यसत्तामा भएका कूटनीतिज्ञहरूले दलितहरूलाई दयाको पात्रको रूपले हेर्ने र त्यही अनुसार कोटा छुट्टाउने गरेका छन् ।

दलका नेताहरूलाई दलितहरू दलका असिंयार र हिस्सेदार हुन भन्ने रियलाइजेसन नै भएन । यसका कारण उनीहरूलाई दलित समुदायका मानिसलाई राखेपनि हुन्छ, नराखेपनि हुन्छ भन्ने लागेको छ । संविधानले वाद्यकारी बनाएका ठाउँमा समेत दलहरूले कमजोर मान्छेहरूलाई लाने गरेका छन् । अलिकति वैचारिक बहस गर्ने मान्छे लग्यो भने त्यहाँ अर्कै खालको समस्या होला कि भन्ने डर छ । जस्तै समानुपातिक सांसद प्रणालीमा पनि एकदम कमजोर मान्छे लिएर जाने परम्परा बसेको छ । त्यहाँ अवसर पाएका मान्छेहरूले बोल्दै बोलेनन् भने दलितहरूमा योग्यता नै छैन, राम्रोसँग बोल्दै बोल्दैनन् भन्ने दोष दिइन्छ । अलिकति बोल्न जान्यो वा क्षमातावान् भयो भने बाठो भयो भन्ने गरिन्छ । जे गरेपनि दलित समुदायलाई नै दोष दिने परिपाटी सिर्जना भएको छ । अहिलेपनि कुनै जातिविषेशलाई हेला गर्ने प्रवृत्ति पनि पार्टीभित्र छ । रुकुम पश्चिममा उपल्लो जातको केटीसँग प्रेम गरेको विषयमा नवराज विकसहित त्यतिधेरै दलित समुदायका मानिसहरू मारिए । तर राज्यले जति भूमिका खेल्नुपर्दथ्यो त्यति खेलेको पाइएन । घटना भएको बेला दलित अधिकारका चर्चा गरियो तर उस्तै प्रवृत्तिको विकास हुँदै गयो ।

राज्यमा भएका ठुला परिवर्तनहरू, जनआन्दोलन, राज्य सत्ता परिवर्तनमा दलितको अहम् भूमिका छ । तर त्यो लडाइँलाई हिस्सेदारीका रूपमा बुझिदिएनन् । र दलित समुदायका मान्छेहरूलाई दयाका आधारमा हेर्न तर अधिकारको रूपमा नहेर्ने परिपाटी हाबी भयो । अहिले राज्यसत्ता परिवर्तन गर्ने ठाउँमा आइसकेपछि फेरि प्रयोग गर्न खोजिरहेका छन् । उतिबेला हामीले केही संशोधनको आवाज उठायौं भने यति रामो संविधानमाथि पनि प्रश्न गर्ने तपाईँहरू भन्ने गरिन्थ्यो ।

ठाउँ ठाउँमा समावेशिता कुरा गर्दै हिँड्छौँ तर प्रत्यक्ष निर्वाचन प्रणालीमा दलित समुदायलाई टिकट नै दिइदैन । गैर दलितले चुनाव हार्न हुन्छ भने दलितले चुनाव हार्नु हुँदैन । गैर दलितले जित्नुपर्ने भए त शतप्रतिशत जित्नुपर्ने नि उहाँहरू । जित्न र हार्ने त पार्टी न हो । पार्टीले आफ्ना उम्मेदवारलाई जिताउने गरी योजना बनाउनुपर्‍यो नि । कार्यकर्ताहरूलाई त्यसरी नै परिचालित गर्नुपर्यो । जनयुद्धपछिको आम निर्वाचनमा माओवादीबाट सात जना दलितले जितेका होइनन् ?

संविधान कार्यान्वयनमा आइसक्दा पनि राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा दलितहरू साँचै दबिएरै र हेपिएरै बसेका छन् त तपाईँको अध्ययनले के देखाउँछ ?
राजनीतिक हिसाबले भन्ने हो भने संविधान जारी भइसकेपछि राज्यका निकायहरूमा दलितको उपस्थिति बलियो देखियो । पार्टीहरूका स्थायी कमिटी, केन्द्रीय पदाधिकारी र पार्टीको पोलिटब्युरो लेभलमा ठुलो सङ्ख्यामा दलित समुदायका साथीहरू पुग्नुभयो । नेपालको संविधान, २०७२ जारी भइसकेपछि पनि दुईवटा चुनाव भए । दुईवटै प्रदेश र सङ्घीय संसद्मा दलितहरूको उपस्थिति केही राम्रो देखियो । त्यही बीचमा केही मन्त्री पनि हुनुभयो । प्रशासनिक क्षेत्रमा पनि केही नभएको भने होइन दलितहरूको राम्रो उपस्थिति रह्यो । न्यायाधीशहरू पनि थपिनुभयो । जताततै समावेशी कोटा नभए पनि अहिले सबै क्षेत्रमा दलित समुदायको सहभागिता सुधारोन्मुख छ ।

आर्थिक क्षेत्रका कुरा गर्ने हो भने भूमिसुधारका क्षेत्रमा पनि दलित समुदायलाई एकपटक भूमि दिने, एकपटक आवासको व्यवस्था गर्ने भनेर व्यवस्था गरिएको थियो । दुई तीनवटा भूमि आयोगहरु बने । तर आयोगमा समुदायका साथीहरू प्राथमिकतामा परेनन् । बरु दलित समुदायलाई विस्थापित गर्ने कामहरू धेरै भयो । स्मार्ट सिटी बनाउने भन्दै सडक छेउमा बसेका दलितहरूलाई निकाल्ने कामहरू भयो । यद्यपि,स्थानीय तह निर्वाचनमा वडा सदस्यमा एकजना दलित हुनुपर्ने प्रावधान अनुसार वडाको नेतृत्व पालिकाको उपमेयरको नेतृत्वलगायतले गर्दा संविधान जारी भएपछि दलित समुदायको सहभागिता पनि निकै माथि गएको हो । तर अब यस अवधिमा केही नराम्रा कामहरू पनि भएको देखियो । असन्तुष्टि जनाउनुपर्ने ठाउँहरू देखा परे । आवास, भूमि वितरणका सवालमा साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै मानिसहरूलाई अगाडि बढाउन सकिन्थ्यो, तर सकिएन । टिकेप्रथा हाबी भयो तर संस्थागत गर्ने काम भएन ।

तर दलित समुदायबाट प्रतिनिधित्व गर्दै दलीय राजनीतिमा रहनुभएका नेताहरू मौनजस्तै देखिनुहुन्छ । पार्टी नेतृत्वबाट डराएर खुलेर लबिङमा लागेको देखिँदैन नि ?
राजनीतिक दलहरू भन्दापनि नीतिगत निर्णय प्राथमिकतामा हुनुपर्छ । जस्तै: अहिलेको मन्त्रिपरिषद्मा एक महिला र एक पुरुष गरी दुई जना दलित राख्ने भनि नीतिगत व्यवस्था भयो भने आन्दोलनलाई बल पुग्थ्यो । तर यहाँ त जसले खुसामत गरेर फुत्काउन सक्यो उसले बाजी मार्ने अवस्था देखियो । दयाधारी भावना छचल्किने परिपाटी भयो । अर्को कुरा पार्टीहरूमा एकदम गुटबन्दीको समस्या छ । अहिले जोरले बोल्यो भने अर्को पटक आफ्नै गुटको मान्छेले पछाडि पारिदेला भन्ने डर पनि देखिन्छ आफूभन्दा कमजोरसँग मात्र भिड्ने, उसलाई अझै पछाडि पार्ने प्रवृत्ति दलित समुदायभित्रै पनि छ । अधिकारकै लागि आफ्नो पार्टीविरुद्ध शक्ति निर्माण गरेर जान सकिने अवस्था छैन । पार्टीमा भएका दलित समुदायका नेता एक्लैले प्रमुख नेतालाई तह लगाउन सक्दैन । दलित समुदायको सहभागिताका लागि एउटा राजनीति संस्कारको आवश्यकता छ । त्यो संस्कार अझै नेपाली राजनीतिमा बसिसेकेको छैन ।

राजनीतिक संस्कार देखाउनु पर्‍यो नि, पोलिटिकल संस्कार राम्रो देखायो भने त्यसलाई एउटा सिस्टममा बसाल्ने, महिला कसरी अगाडि आउने, दलित कसरी लिएर आउने, अपाङ्गता भएकालाई कसरी ल्याउने, मुस्लिम समुदायका मान्छेलाई के गर्ने भन्ने विषयमा ठोस कानुन बनाएर अघि बढियो भने ठिक हुन्छ । दोष जति अरूलाई दिने र आफू गल्ती गर्ने प्रवृत्ति रहेसम्म दलितको उत्थान हुँदैन ।

त्यसोभए अब के गर्ने त ?
पहिला राजनीतिक दलहरूले सीमान्तकृत समुदायलाई उत्थान र विकासको लागि दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजनाहरू बनाउनुपर्छ । दलित समुदायलाई र दलित मुद्दालाई निश्चित वर्षभित्र समस्या समाधान गराउँछौँ भन्ने प्रण गर्नुपर्छ । अहिले दिगो विकास लक्ष्य भनेर २०३० मा एउटा मापदण्ड छ । यसमा सबै योजनाहरू दिगो विकास लक्ष्यसँग मिल्ने गरी गराउनुपर्छ । २०३० सम्म दलितलाई कहाँ पुर्‍याउने भन्ने विषयमा राज्यले स्पष्ट दृष्टिकोण बनाउन सक्नुपर्छ । नियम कानुनहरू बनाउनपर्छ ।

दोस्रो कुरा, राज्यले आफ्ना मातहतका निकायका विधि, विधानभित्र दलित समुदायको सहभागितालाई सुनिश्चित गराउनुपर्छ । बल्ल यति काम गरिसकेपछि राजनीतिक दलबाट समुदायको काम गर्न बाध्य बन्नेछन् । उत्थान गर्नको लागि कानुन बाधक छ भने वा कुनै प्रणाली बाधक छ भने त्यसलाई सच्याउनुपर्छ । जस्तै समावेशी आयोग छ आयोगमा दलितलाई समेटेर गयौँ भने राम्रो हुन्छ । किनकि यसमा कानुन बाधक बन्न सक्दैन । पहिला आफ्नो मात्र कभर गर्ने अनि एउटा मात्र बाँकी रह्यो भने दलितलाई सहभागिता गराउने प्रवृत्ति मान्य हुन सक्दैन ।

जस्तै राष्ट्रिय योजना आयोग बनेको ७२ देखि ७५ वर्ष हुन लागिसक्यो । यति वर्षका वर्षसम्म दलित समुदायको एकजना व्यक्तीपनि सदस्य बन्न सकेका छैनन् । दलित समुदायमा पनि पिएचडी गरेका मान्छेहरू छन् तर किन अटाउन सकेन त प्रश्न यही हो ।

अहिलेसम्म एउटा पनि दलित महिला मन्त्री भएको अवस्था छैन । संविधान सभामा धेरै दलित समुदायका मान्छेहरू भए पनि उनीहरू चुप लागेर बसेजस्तो त लाग्दैन । उनीहरू संसद्मा बोलेको र दलित समुदायको लागि भन्दै दिनदिनै सिंहदरबार धाएको सुन्छौँ । तर प्रभाव देखिदैन ।

जहिले पनि बाहुन वा अन्य जातिका व्यक्तिहरू मात्र पार्टीका अध्यक्ष हुने ठाउँमा दलितले हुँदा के हुन्छ भन्ने हो । दलित समूदयमा गुणस्तर छैन होला त ? कस्तो किसिमको गुणस्तर चाहिन्छ ? त्यो त हामीले निर्माण गर्ने हो नि, यस्तो योग्यताको मान्छे चाहियो भन्योभने हामी त्यस्तै किसिमको योग्यताको मान्छे खोज्छौँ नि ।

दलित समुदायमा धेरै चुनौतीहरू छन् तर त्यसलाई कसरी हेर्ने भन्ने कुरामा हामीमै निर्भर गर्दछ । संरचनाको कुरा गर्ने होभने पनि सबैभन्दा ठुला जातका माथिल्लो पदमा, त्योभन्दा अलि सानो जातको मान्छे त्यो भन्दा तल्लो पदमा बस्ने परिपाटी छ । यसले गर्दा दलित समुदायको पद पनि सबैभन्दा तल्लो नै अवस्थामा रहेको पाइएको छ ।

यस्तो समस्या दलित समुदायभित्र पनि छ । विश्वकर्माले हामी ठुलो हौँ भनेका छन्, दमाईं, सार्कीले पनि आफ्नै दाबी गरिरहेका छन् । यसरी दलित समुदायभित्र पनि एक किसिमको विभेद छ । यसले आन्दोलनलाई कमजोर बनाइरहेको छ । तर एउटा कुरा के सत्य छ भने दलित समुदायभित्र अन्तरजातीय विवाह गरेर स्वीकार नगरिएको जस्तै विश्वकर्माले बनाएको मन्दिरमा कामीले विवाह गरेको छ भने पनि झगडा हुने र मारामार हुने प्रवृत्तिका घटनाहरू घटेका छैनन् ।

दलित समुदायभित्र विभिन्न पहुँचवावाहरुको सङ्ख्या हेर्ने हो भने विश्वकर्माको पहुँच सबैभन्दा बढी रहेको पाइन्छ । त्यसपछि दमाई समुदायका व्यक्तिको पहुँच रहेको अवस्था छ । हामीले दलित समुदायको सङ्गठन बनाउँदा, प्रतिनिधित्व गराउँदा, अन्तरजातीय प्रतिनिधित्वलाई पनि कडाइका साथ लागू गर्नुपर्छ भन्ने बहस अहिले चलिरहेको छ । राजनीतिक दलहरूले सुधार्नुपर्ने के छ भने विधानमै जातीय छुवाछुत गर्ने पार्टी सदस्यलाई कारबाही गरिनेछ भनेर उल्लेख गर्नुपर्छ ।त्यो लेख्नुपर्ने अवस्था छ । अनि लेखेर मात्र भएन उजुरी दिने र तत्काल कारबाही समेत गर्नुपर्छ ।

नेपाल न्यूज बैंक

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी धनकुटा नगरमा दोहोरिए खगेन्द्र विष्ट, पूर्व जनसरकार प्रमुख बस्नेत सम्मानित

Udaya bdr basnet samman

धनकुटा । नेकपा (माओवादी केन्द्र) धनकुटा नगरपालिका कमिटीमा खगेन्द्र कुमार विष्ट पुनः अध्यक्ष चयन भ...