देउवाको हठ र ओलीको राजनीतिक चरित्र : छट्पटीमा कांग्रेस
देउवा जति पटक प्रधानमन्त्री बने, ती सबैमा उनी च्याखे थापेर प्रधानमन्त्री बने
नेपालको सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेस अहिले रक्षात्मक अवस्थामा पुगेको छ । २०४६ सालको राजनीतिक परिवर्तन पछि सबैभन्दा बढीसत्तामा बसेको पार्टी अहिले आफ्नै हठका कारण रक्षात्मक अवस्थामा पुगेको हो । सर्बोच्च अदालतको सम्वैधानिक इजलासको आदेशनुसार कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसका विरुद्धमा पाँच दलीय गठबन्धन बनाएर सडक आन्दोलन हुँदै उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्च अदालतले २०७८ साल फागुन २८ गते २८ घण्टा भित्रमा गठबन्धनका नेता देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पाँच दलीय गठबन्धनमा नेपली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र माधव नेपाल समूह सहभागि भएको थियो । माधव नेपालले नेकपा एमालेलाई विभाजन गराउन वैधानिक बाटो अपनाउन नसकेपछि देउवा सरकारले राजनीतिक दल विभाजन सम्बन्धी ऐन अध्यादेश मार्फत संशोधन गरेर माधव नेपाललाई पार्टी निर्माण गर्ने बाटो खोलिदिएको थियो । अध्यादेश जारी भएपछि माधव नेपालले आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए भने उनको पार्टीलाई निर्वाचन आयोगले मान्यता समेत दिएको थियो । त्यसैगरी जनता समाजवादी पार्टीबाट विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी समेत त्यही अध्यादेशका कारण गठन भएको थियो ।
कांग्रेस सत्तामा हुँदा अन्य पार्टीहरु भित्र खेलेर अन्य पार्टीहरुलाई आफ्नो स्वार्थनुसार विभाजन गराउँदै आएको छ । कांग्रेसका सभापति देउवाले आफू प्रधानमन्त्री भएपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल जसपाका अध्यक्ष उपेन्द्र यादवसहित माधव नेपाललाई साथ लिएर करिब १७ महिना सरकारको नेतृत्व गरेका भए पनि २०७९ मंसिर ४ गते भएको संघीय संसद र प्रदेशसभाको निर्वाचनमा संघमा र प्रदेशमा सरकार बनाउन आवश्यक संख्या पु¥याउन नसक्दा अहिले कांग्रेस संघमा र प्रदेशसभामा विपक्षीको भूमिकामा पुगेको छ । निर्वाचनअघि नै पाँच दलीय गठबन्धनले आलोपालो प्रधानमन्त्री बन्ने सहमति कांग्रेस र माओवादी बीचमा भएको उद्घोष गरेको भए पनि निर्वाचन परिणाममा कांग्रेस सबै भन्दा ठुलो पार्टी भएकाले गर्दा उसले पहिला आफ्नै पार्टीका सभापतिको नेतृत्वमा सरकार निर्माण गर्ने हठ लिएका कारण कांग्रेस अहिले प्रतिपक्षीको भूमिकामा पुगेको छ । कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री दुवै पद माओवादी केन्द्रलाई दिन नचाहेकै कारण नेकपा एमालेको सहयोग र समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टीलगायतले र ३ जना स्वतन्त्र सांसदले समर्थन गरेका छन् । दाहाल सरकारमा नेकपा एमालेको महत्वपूर्ण सहभागिता रहेको छ भने माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी हेर र पर्ख भन्ने अवस्थामा पुगेका भएपनि एकीकृत समाजवादी पार्टीभित्र भने दाहाल सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा विवाद उत्पन्न भएकाले गर्दा उसले कुनै निर्णय लिन सकेको छैन । लोकतान्त्रिक समाजवादी पार्टी भने चुपचाप बसेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको राजनीतिक चतु¥याईंका कारण माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्न सफल भएका छन् ।
कांग्रेसले पहिला आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गर्नुको पछाडि सम्वैधानिक व्यवस्था पनि कारक रहेको छ । कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य पार्टीहरु मिलेर सरकार गठन गर्दा प्रधानमन्त्री भएको दुई वर्षसम्म संसदमा अविश्वासको प्रस्ताव राख्न नपाइने भएकाले गर्दा कांग्रेसका सभापति देउवा र पुष्पकमल दाहाल दुवै जना आफूँ नै पहिला प्रधानमन्त्री बन्न चाहेका थिए । अर्थात पछिल्लो वर्षमा राजनीतिक दलहरु वा सरकारमा भएका दलहरुको विचार फेरिन सक्ने भएकाले उनीहरु पछिल्ला वर्षलाई विश्वास गर्न सकेका थिएनन् । पछिल्ला वर्षमा जे पनि हुन सक्ने आंकलन उनीहरुले गरेका हुनाले देउवा दाहाल एकले अर्कोलाई गलाउने पक्षमा लागेका थिए । तर दाहालले जसरी पनि प्रधानमन्त्री बन्नुपर्ने थियो त्यही कारणले गर्दा उनी एमालेका अध्यक्ष केपी ओलीकहाँ पुगे ।
कांग्रेसका सभापति देउवाले भने दाहाल ओलीकहाँ पुगे पनि ओलीले उनलाई प्रधानमन्त्री बनाउँदैनन् । राष्ट्रपतिले दिएको समयसीमासम्म कसैले प्रधानमन्त्री बन्न सक्ने संख्या सहित राष्ट्रपति कहाँ दाबी गर्न जान सक्ने अवस्था नभएपछि आफूँ नै सबै भन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्छु भन्नेमा ढुक्क भएर बसेका थिए । देउवाको त्यो रणनीतिलाई अध्यक्ष ओलीले १ घण्टाभित्रै असफल मात्र पारिदिएनन् कांग्रेसलाई संघ देखि प्रदेशसभासम्म विपक्षमा पु¥याईदिए भने राजकीय सबै पदहरु समेत गुमाउने अवस्थामा पु¥याईदिए । कांग्रेसभित्र अहिले तिव्र विवाद उत्पन्न भएको छ । पाँच वर्षसम्म कांग्रेस संघमा र प्रदेशसभामा विपक्षमा बस्नुपर्ने बाध्यताले गर्दा छटपटाइरहेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधाानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, राष्ट्रिय सभा उपाध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री सम्वैधानिक निकाय लगायत संघीय संसदका समितिहरुका सभापति सहित सबै पद कांग्रेसले गुमाउनुपर्ने अवस्थाको सिर्जना स्वयम् कांग्रेसले नै गरेको छ ।
कांग्रेसका सभापति देउवा जति पटक प्रधानमन्त्री बनेका छन्, ती सबैमा उनी च्याखे थापेर प्रधानमन्त्री बनेका हुन् । पछिल्लो पटक अदालतले प्रधानमन्त्री बनाइदिएको हो । अहिले पनि आफूँ प्रधानमन्त्री बन्नेमा उनी ढुक्क थिए । कम्युनिष्टहरु विभाजित भएका र उनीहरुले एकले अर्कोलाई विश्वास गर्न सक्ने वातावरण नै नभएकाले गर्दा ओली र दाहालको मिलन असम्भव रहेको बुझाई नै उनको लागि पत्तासाफ हुने वातावरण मिल्यो । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैनन् । राजनीति भनेको बाङ्गो टिङ्गो अवस्थामा हिड्छ भन्ने कांग्रेस जनले बुझ्न नसकेका हुनाले हातमा आएको सत्ता गुम्न पुग्यो । यो कांग्रेसको लागि पिडादायक हुने निश्चित रहेको छ ।
राजनीति भनेको देखिने एउटा र भित्र भित्र गरिने अर्को नीति हो । त्यो नीतिमा जो सफल हुन्छ, उ नै असली राजनीतिज्ञ हो । अहिले एमाले अध्यक्ष ओली सफल भएका छन् । उनले एउटै तिरले दुई वटा शिकार गरेका छन् एकातिर नेपाली कांग्रेसलाई सत्ता विहिन अवस्थामा पु¥याईदिएका छन् भने अर्कोतिर आफूलाई सुन्नै नसक्ने अनि ओलीको समर्थनमा कहिल्यै प्रधानमन्त्री बन्दिँन भन्ने दाहाललाई प्रधानमन्त्रीको कुर्सीमा पु¥याईदिएका छन् । त्यतिमात्र होइन कांग्रेसलाई सबै राजकीय पदहरुबाट बाहिर बस्न बाध्य पारिदिएका छन् त्यसैले गर्दा भन्न करै लाग्छ ओली नै असली राजनीतिज्ञ हुन् । असली राजनीतिज्ञले कसैसँग रिस राग राख्दैन भन्ने अध्यक्ष ओलीले प्रमाणित गरेका हुनाले ओली नै असली राजनीतिज्ञ हुन् ।
दाहाल नेतृत्वको सरकारमा केही नयाँ पार्टीहरुको समेत सहभागिता र सरकारलाई समर्थन रहेको हुनाले नयाँ पार्टीबाट सरकारमा गएकाहरुले फुकीफुकी पाइला चाल्नुपर्ने अवस्था रहेको छ । विगतको सरकारका मन्त्रीहरु जेलमा बन्दी जीवन विताईरहेका व्यक्तिलाई भेट्न पुग्नु तथा अदालतले दोषी ठहर गरेकालाई रिहा गर्ने प्रयास गर्नु कामचलाउन सरकारले रातारात जनघातक अध्यादेश ल्याउन खोज्नु सत्ता स्वार्थ बाहेक अन्य केही थिएन । राजनीति भनेको देश विकास र जनताको हक अधिकारका लागि गरिने नीति भएकाले गर्दा यसलाई गलत बाटोतर्फ लैजानु किमार्थ उचित हुन सक्दैन । राजनीतिका लागि विकास होइन विकासका लागि राजनीति गरौँ । सरकारमा रहेका व्यक्तिहरुले हाम्रोलाई होइन राम्रोलाई हेरेको खण्डमा सही रुपमा समस्याको समाधान हुन सक्छ ।
पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थलाई प्रधानमन्त्री दाहालले त्यागेर अब आफ्नो अन्तिम कार्यकालमा जनताको मन जित्ने कार्य गरेको खण्डमा उनको विगतको क्रियाकलापलाई जनताले माफ दिन सक्छन् । मुलुक प्रधानमन्त्रीय पद्दतिमा रहेको हुनाले सबै मन्त्रीहरु प्रधानमन्त्री प्रति जवाफदेही भएर जनताको सेवामा लागेको खण्डमा मात्र नयाँ पार्टीहरुको अस्तित्व जोगिन सक्छ । खास गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो पटक नै जनताले राष्ट्रिय पार्टी बनाई दिएका छन् त्यही कारणले गर्दा उक्त पार्टीका सभापति उपप्रधान सहित गृहमन्त्री बनेका छन् । गृह मन्त्रालय अति सम्वेदनशिल मन्त्रालय भएकाले गर्दा गृहमन्त्री रवि लामिछानेले आफूमात्र जान्ने बुझ्ने छु भन्ने घमण्ड नगरी सबैको सहयोग र सल्लाहमा अघि बढेको खण्डमा मात्र दाहाल सरकार सफल हुन सक्छ नत्र भने जुन जोगी आए पनि जनताका लागि कानै चिरेको जस्तो मात्र दाहाल सरकार हुन सक्छ ।
प्रतिकृया दिनुहोस