प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान प्रदान गरिने
पोखरा । गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान २०७९ प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभाका अवसरमा पगेनीलाई सो सम्मान प्रदान गर्ने भएको हो ।
पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा साधनारत पगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् । यसका अलावा प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् । तिसको दशकदेखि नै साहित्य साधनामा क्रियाशील प्रकटका चुलेसीमा..., वर ढले पीपल एक्लै... लगायत दर्जनौँ गीत चर्चित छन् ।
पगेनीलाई गीतकार प्रतिष्ठानले असोज २९ गते शनिबार पोखरामा आफ्नो दोस्रो साधारण सभासँगै सम्मान गर्ने कार्यक्रम रहेको सचिव अनुराग अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले गीतकारहरूको हकहितका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सोही अवसरमा आजीवन सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिने पनि उनको भनाइ छ । २०७७ मा स्थापित प्रतिष्ठानले यसअघि गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन कार्यक्रम सम्पन्न गरेको थियो ।
प्रतिकृया दिनुहोस