नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिमा विधायन समितिमा पठाइयो
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाले संसदीय समितिमा पठाएको छ ।
राष्ट्रिय सभाको आइतबारको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापम समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको' घोषणा गरेका थिए ।
राष्ट्रपतिले प्रमाणीकरणका लागि प्राप्त भएको १४ दिनपछि गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । त्यसक्रममा राष्ट्रपतिले संसद्लाई ८ पृष्ठ लामो सन्देश लेखेकी थिइन् ।
प्रतिनिधिसभाले भदौ २ गतेको बैठकबाट विधेयकलाई जस्ताको तस्तै पारित गरेको थियो । प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रिय सभामा पुगेको हो । राष्ट्रिय सभाको आइतबारकै बैठकमा प्रतिनिधिसभाबाट विधेयक पारित भएको सन्देश पनि सुनाइएको थियो ।
राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि पेस हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।
राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक संशोधनसहित वा जस्ताको तस्तै राष्ट्रिय सभाबाट पारित भएपछि त्यसको सन्देश प्रतिनिधिसभामा पेस गरिनेछ । प्रतिनिधिसभाले त्यो सन्देश स्वीकार गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक पठाइनेछ ।
संघीय संसदबाट पारित भएर आएको नागरिकता विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते ३ बजेका लागि बोलाइएको छ ।
प्रतिकृया दिनुहोस