आज यी प्रदेशहरुमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौं । हाल देशभरको मौसममा सामान्य देखि पुर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बाँके, दाङ कपिलवस्तु, रुकुम, म्याग्दीमा अहिले वर्षा भइरहेको छ । सिन्धुपाल्चोकका पनि दुई स्थानमा वर्षा भइरहेको उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर (नेपालतर्फ) सरेको छ । जसले गर्दा आज र भोलि मौसम गडबड हुने मौसमविद् पौडेलले बताए ।
आज र भोलि मौसम डिस्टर्ब हुने सम्भावना छ । आज समग्र देशभर मौसम बदली हुने र धेरै स्थानमा वर्षा हुने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।
जसमा भनिएको छ : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
प्रतिकृया दिनुहोस