निहारिकाको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत जनकपुरले निहारिका राजपुतका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले बुधबार यस्तो आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले डीएनए परीक्षण माग गर्दै उच्च अदालतमा निवेदन दिने सहमति यसअघि नै भएको थियो ।
निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षण माग गर्दै आएकी थिइन् । जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् ।
आदेशमा शिवराज श्रेष्ठ र पीडिताको छोरालाई उच्च सरकारी वकील कार्यालय, जनकपुर मार्फत् राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाई बच्चाको आमा पीडिताको रोहबरमा डीएनए परीक्षण गराई परीक्षण प्रतिवेदन प्राप्त भएपछि पेश गर्न भनिएको छ ।
प्रहरीले आरोपित शिवराज श्रेष्ठलाई यसअघि नै पक्राउ गरिसकेको थियो । हाल उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ । यसअघि उच्च अदालतमा मुद्दाको पेसी सरिरहेको थियो । गत माघ २४ गते जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो ।
अदालतले सफाइ दिएपछि निहारिका अन्यायमा परेको भन्दै काठमाडौंमा पटकपटक अनशन बस्दै आएकी छन् । पछिल्लोपटक उनले १७ दिन लामो अनसन सोमबार तोडेकी थिइन् ।
जिल्ला अदालतले शिवराजलाई सफाइ दिए पनि निहारिकाको बच्चाबारे मौन थियो । बच्चाको विषयमा पनि अदालतले केही नभनेपछि निहारिकाले शिवराज र बच्चाको डीएनए परीक्षण गर्न माग गर्दै आएकी छन् । अनशन तोड्दा पनि यसका लागि पहल गर्न सरकारले सहमति गरेको थियो ।
प्रतिकृया दिनुहोस