आगामी निर्वाचनमा विदेशी नम्बर प्लेटको गाडी चलाउन रोक लगाइने
राष्ट्रिय झण्डा पनि बढीमा १० मात्रै प्रयोग गर्न दिइने
काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने उल्लेख छ ।
भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी आयोगले यस्तो प्रस्ताव ल्याएको हो । यसअघिका निर्वाचनमा पनि सिमावर्ती जिल्लामा भारतबाट सस्तोमा गाडी भाडामा लिएर चुनावमा प्रयोग हुँदै आएको थियो । यस्तै दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नपाइने प्रस्ताव पनि आचार संहितामा उल्लेख गरिएको छ ।
त्यस्तै आयोगले उम्मेदवारवालाई बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने प्रस्ताव आएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचार संहितामा दल वा उम्मेदवारले बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव आएको हो ।
‘दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचार/प्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने,’ निर्वाचन आचारसंहिताको प्रस्तावमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस