उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिह्न राखिने
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र छाप्ने भएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ सय ६५ प्रकार र प्रदेशतर्फ ३ सय ३० क्षेत्रका लागि सोही संख्यामा छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ । यस्तै ७ प्रकारका प्रदेशसभाका समानुपातिक तर्फको मतपत्र र प्रतिनिधिसभा तर्फ समानुपातिकतर्फ १ प्रकारको मतपत्र छाप्ने तयारी गरिएको छ ।
आयोगले आउँदो निर्वाचनका लागि संघीयको १६५, प्रदेशतर्फ ३३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५०३ प्रकारका मतपत्र छपाइ हुने जनाएको छ ।
त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो भएको र बदरको संख्या पनि बढाएको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी संघीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिह्न समावेश गरेर मतपत्र छपाइ गरिने जानकारी दिए ।
आइतबार आयोगले गरेको पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवारी दिने दलहरूको मात्र निर्वाचन चिन्ह राखी मतपत्र छपाई हुने जानकारी दिएका छन् । मतदान स्थलमा मतदाताका लागि चारवटा छुट्टाछुट्टै मतपत्र, मत संकेत गर्ने स्थान र मत पेटिकाको व्यवस्था हुने उनले बताए ।
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि १० अर्ब हाराहारी खर्च हुने आयोगले जनाएको छ । आयोगले बनाएको आर्थिक कार्यविधि २०७९ बजेट सिलिङ सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको, आजै त्यसबारेमा आयोगका पदाधिकारी र अर्थ मन्त्रालय बीच छलफल हुने प्रवक्ता पौड्यालले बताए ।
आयोगले विकेन्द्रीकृत तवरले खर्चमा जोड दिएको बताउँदै उनले आयोगले मितव्ययी निर्वाचनलाई प्राथमिकता दिएको बताए । यस्तै निर्वाचन अधिकृतले कार्य सम्पन्न गरेपश्चात् आन्तरिक लेखा परीक्षण गरी खर्चको श्रेस्ता निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान राखिएको उनले बताए ।
यस्तै आयोगले निर्वाचन अनुगमन निर्देशिका तयार पारिरहेको, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको अनुगमन गर्ने, केन्द्र तथा जिल्लास्तरमा अनुगमन संयन्त्र, अनुगमन टोली निर्माण गर्ने जनाएको छ । यस्तै आयोगले हालसम्म निर्वाचन कार्यतालिका निर्माण, निर्देशिका, कार्यविधिको तर्जुमा, राजनीतिक दल दर्ता आव्हान र कागजातमाथि जाँचबुझको काम भइरहेको, मतदाता नामावली अद्यावधिकको काम सुरू गरेको र मतदानस्थलको पुनरावलोकनको काम गरिरहेको उनले बताए ।
प्रतिकृया दिनुहोस