अलविदा प्रदिप गिरि : कम्युनिष्ट फैल्याउने गैरकम्युनिष्ट चिन्तनको विश्वविद्यालय
काठमाडौं । नेपाली चिन्तनको विश्वविद्यालय भनिएका नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि ललितपुरको मेडिसिटी अस्पतालको आईसीयूमा उपचारका क्रममा शनिबार राति साँढे ९ बजेर उनको निधन भएको हो ।
स्वास्थ्यमा सुधार नदेखिएपछि परिवारको आग्रहमा भेण्टिलेटर हटाइएका उनलाई चिकित्सकले मृत घोषित गरे । उनलाई चार दिनदेखि भेन्टिलेटरमा अक्सिजन दिएर राखिएको थियो । गिरीका शरीरका अधिकांश अंग प्रत्यंगले काम गर्न छोडेपछि उनलाई परिवारका सदस्यले भेन्टिलेटरबाट निकाल्न भनेका थिए ।
आज बिहान ९ बजेदेखि ११ बजेसम्म पार्थिव शरीर अस्पतालमै श्रद्धाञ्जलीका लागि राखिने, ११ः३० देखि २ बजेसम्म पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कार्यतालिका रहेको कांग्रेसले जनाएको छ ।
दर्शनमा आधारित राजनीतिको विश्लेषण गर्ने विशिष्ट क्षमता राख्ने नेता गिरी अब सधैँका लागि अस्ताएका छन् । तर नेपाली राजनीतिमा उनले छोडेका केही असामान्य यादहरुले भने उनलाई सम्झाइरहनेछन् ।
उनले नेपाली राजनीतिमा करिब पाँच दशकसम्म प्रभावशाली भूमिका निभाए । तर, पद र सत्ता प्राप्तिका लागि आशक्ति कहिल्यै देखाएनन् । गिरिलाई अनेक तप्काबाट उच्च श्रद्धाका साथ सम्झनुमा उनले बाँचेको जिन्दगी र बाँडेको चेतना नै हो । सिराहाको एउटा सम्पन्न परिवारमा २००४ मा जन्मिएका गिरि आजीवन समाजवादी निष्ठामा अडिग रहे । सम्पत्ति, शक्तिको प्रलोभन र भयबाट टाढा रहेर बोले, लेखे र चिन्तन गरे ।
लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरे पनि बौद्धिक नेताको छवि बनाएका गिरीलाई कम्युनिष्ट राजनीतिक दर्शन बोक्ने नेता र दलहरुले पनि उत्तिकै सम्मान गर्छन् । त्यसो त उनले कम्युनिष्ट नेता कार्यकर्ताका अघिल्तिर उभिएर कम्युनिष्ट विचार र दर्शनको ज्ञान समेत बाँडे । जीवनभर कांग्रेसको राजनीति गरेका उनलाई पार्टीभित्र नेताहरुको नेपालमा कम्युनिष्ट फैलाउन सघाएको आरोप समेत लगाउँथे ।
एकदमै साधारण र एकांकी जीवनशैलीमा रमाउने गिरी पटक–पटक कांग्रेसको केन्द्रीय सदस्य भए, सांसद भए । तर, उनी न कहिल्यै पार्टीको नेतृत्वमा जान चाहे, न मन्त्री, प्रधानमन्त्री पदको लोभ देखाए । उनले जीवनभर काठमाडौंमा आफ्नै घर बनाएनन्, बरु डेराको जीवन बाँचे ।
कम्युनिष्टहरुले गिरिलाई प्रशिक्षणमा पनि बोलाउनुमा उनको मार्क्सवादी अध्ययन थियो । कतिसम्म भने सन् २०१८ मा कार्ल मार्क्स द्विशतकी वार्षिकी समारोह मनाइरहँदा गिरिलाई सल्लाहकारमै राखियो । अध्ययन गरेको विषय र पात्र समेत कण्ठाग्र बोल्न सक्ने गिरिले पूर्वीय र पश्चिमा दर्शन, भौतिकतावादी चिन्तन र आध्यात्मिक सोचबारे सरल भाषामा सारांश सुनाउन सक्थे ।
राजा, पञ्चायत, कांग्रेस, कम्युनिष्ट र विश्व राजनीतिक पात्र अनि तिनको प्रवृत्तिसँग वर्तमान राजनीतिलाई तुलनात्मक अध्ययन गर्न सक्ने खुबीकै कारण युवा पंक्तिमा उनी प्रिय रहे । समाजवादी चिन्तन र जीवनशैलीप्रति जसरी आजीवन सम्झौता गरेनन्, त्यसैगरी राजनीतिक द्वन्द्वमा आफ्नो कित्ता सधैं प्रष्ट पारे । भन्थे– युद्धमा योद्धाले आफ्नो कित्ता प्रष्ट पार्नैपर्छ ।
कांग्रेसमा सक्रियता र सहभागिता भए पनि कम्युनिष्टहरुमा पनि उत्तिकै उनी सुनिने व्यक्ति रहे । ‘समाजवादी चिन्तनमा पनि प्रदीप गिरि मार्क्सवादी धाराका हुन् । उनले जुन कुरा धेरैपटक कबुल गरेका छन्’ घनश्याम भूसाल भन्छन्, ‘प्रदीप गिरिको मृत्यु त्यसकारण हाम्रो खेमाका लागि उत्तिकै ठूलो क्षति हो ।’
अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । राजनीति गर्ने, तर जिम्मेवार पदमा नबस्ने नेता गिरी भूमिका पाउने डरले भाग्ने गर्थे ।
सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा गिरीले करिब चार वर्ष जेल जीवन बिताए ।
संसदीय राजनीतिमा भने गिरी २०५१ सालपछि मात्रै सत्रिय भए । उनले २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भए । ०५६ मा भने उनी पराजित भए । २०६४ र ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उनी समानुपातिक तर्फबाट संविधान निर्माणको काममा संलग्न भए ।
२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने गिरीले सिरहा क्षेत्र नं। १ बाट चुनाव लडे । बाम गठबन्धनका बीच पनि उनले चुनाव जिते । उनी प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य थिए ।
संसद्मा मधेशी, महिला, दलित र पिछडिएको समुदायको पक्षमा निरन्तर बोल्ने नेता गिरी मधेस आन्दोलनको भाष्य निर्माण गर्ने नेतामध्ये पर्छन् । मधेसी जनताको भावनालाई नजिकबाट बुझेका उनले संविधान निर्माणमा भूमिका खेलेपनि २०७२ सालमा संविधान जारी हुँदा संविधानमा हस्ताक्षर भने गरेनन् ।
चार पटक सम्म सांसद बनेका गिरीलाई ०६२/६३ पछि मन्त्री पदका अफर पाए । तर, स्वीकारेनन् । खास उनी मन्त्री बन्नबाट भाग्नुको कारण भने स्वतन्त्रता गुम्छ भन्ने डर रहेछ ।
उनी भन्थे– ‘मन्त्री भएपछि मनमौजी गर्न मिल्दैन, स्वतन्त्र जीवन गुम्छ । मन्त्री भएपछि सुत्ने, उठ्ने, हिँड्ने, भेटघाट गर्ने जीवनशैली नियमित हुन्छ, फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न पाइँदैन, व्यक्तिगत जीवनमा हस्तक्षेप हुन्छ, मन्त्री पद व्यवस्थापन गर्दा आफु सकिने डर हुन्छ ।’
प्रतिकृया दिनुहोस