९ बजेर ३६ मिनेटमा कांग्रेस नेता प्रदीप गिरिको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि ललितपुरको मेडिसिटी अस्पतालको आईसीयूमा उपचारका क्रममा शनिबार राति ९ बजेर ३६ मिनेटमा उनको निधन भएको हो ।
स्वास्थ्यमा सुधार नदेखिएपछि परिवारको आग्रहमा भेण्टिलेटर हटाइएका उनलाई चिकित्सकले मृत घोषित गरे । उनलाई चार दिनदेखि भेन्टिलेटरमा अक्सिजन दिएर राखिएको थियो । गिरीका शरीरका अधिकांश अंग प्रत्यंगले काम गर्न छोडेपछि उनलाई परिवारका सदस्यले भेन्टिलेटरबाट निकाल्न भनेका थिए ।
भारतमा नयाँदिल्ली र मुम्बईमा घाँटीको सफल शल्यक्रिया गरेर नेपाल फर्किएका गिरीलाई निमोनिया भएको थियो। त्यसपछि उनी मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
उनको मेडिसिटीका दुई सातादेखि उपचार चलिरहेको थियो । प्रतिनिधिसभा सदस्य गिरीको स्वास्थ्य अवस्थाबारे परिवारले शनिबार साँझ प्रेस नोट निकालेको थियो। जसमा उनको स्वास्थ्य स्थिर रहेको उल्लेख थियो । भारती सिलवाल गिरिले जारी गरेको प्रेस नोटमा गिरिलाई निमोनियाले एकदमै चापेपछिर केही दिनयता शरीरका थुप्रै अंगले काम गर्न छाडेको उल्लेख थियो ।
अहिले कांग्रेसका नेता कार्यकर्ताहरु मेडिसिटी अस्पताल पुगेका छन् । गिरीको पार्थिव शरिरलाई नौ बजेदेखि ११ बजे सम्म अस्पतालकै शिवालय मन्दिरमा राखिने त्यसपछी पार्टी कार्यालय लगिने कांग्रेस नेता दीपकुमार उपाध्यायले जानकारी दिए । पार्टी कार्यालयमा दिउँसो ४ बजेसम्म राखेपछी आइतबारै उनको दाहसंस्कार गरिने छ ।
कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मेडिसिटी पुगेका थिए । अस्पतालमा कांग्रेसलगायत पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरु पुगेका थिए ।
को हुन् प्रदीप गिरि ?
गिरिले २०१७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा थालेका थिए । बुवा मित्रलाल गिरि कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरी राजनीति सानै उमेरबाट प्रारम्भ भयो ।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष उनले जेल जीवन बिताइसकेका छन् । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस) को निर्वाचित उपाध्यक्ष थिए । २०५१ सालको संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएपछि गिरि राष्ट्रिय राजनीतिमा उदाएका थिए ।
०५६ साल निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए । ०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
कांग्रेसमा गिरि कृष्णप्रसाद भट्टराई नजिकका नेताका रूपमा चिनिन्थे । पछि पनि गिरिले शेरबहादुर देउवालाई साथ दिए । देउवाले पार्टी फुटाउने बेलामा पनि गिरि देउवाकै साथमा थिए । भारत, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र र दर्शनशास्त्रका स्नातकोत्तर गरेका गिरिले नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएका थिए ।
प्रतिकृया दिनुहोस