ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न माधव नेपालको निर्देशन, यस्तो छ कारण
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।
काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराएका हुन् ।
ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उनको चेतावनी थियो । अध्यक्ष नेपालले आफूहरुलाई अपराधी घोषणा गर्ने, देशद्रोही भन्ने र अस्तित्वलाई समेत स्वीकार नगर्ने ओलीलाई मुखभरीको जवाफ दिन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।
‘हाम्रा विरोधीहरुले कुप्रचार गरिरहेका छन एमालेमा विलीन हुने भनेर। त्यसमा कुनै सत्यता छैन। हाम्रो पार्टी विचारको आधारमा उभिएको छ । हाम्रो पार्टी आर्दशको आधारमा उभिएको छ। त्यसो हुनाले एमालेले जेसुकै बोलोस्, त्यसका नेताहरुले हामीलाई जथाभावी आरोप लगाऊन्,’ नेपालले भने, ‘त्यसको हामीले जवाफ दिन सक्नु पर्दछ ।’
‘उनीहरुले बाँडिरहेको भ्रमलाई चिर्नुपर्छ हामीले । उनीहरुले लेख्छन् भने पनि काउन्टर जवाफ दिनुपर्छ हामीले। उनीहरुको महिमा गर्ने होइन । केपी ओलीका खुट्टा टाँसीटाँसी हिँडने पनि होइन । हामीलाई समाप्त पार्ने कोसिस गरेसम्म हामीले पनि उनीहरुप्रति माया, दया गरेर बस्ने पनि होइन,’ नेपालले भने, ‘अहिले पनि मसँग खबर आइरहेका छन्– केपी ओलीसँग बस्न सकिँदैन भन्दै । एकीकृत समाजवादीमा आएर चुनाव लडन चाहन्छौं भनिरहेका छन् । त्यसो हुनाले एमालेसँग जाने कल्पना नै गर्न सकिँदैन। जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन, जसले हामीलाई अपराधी घोषणा गरेको छ, जसले हामीले देशद्रोही भनेको छ, त्यस्ता नेताप्रति कुनै किसिमले पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नु होला । गर्नु हुन्छ भने कुरा बिग्रन्छ म क्लियर गर्न चाहन्छु ।’
उहाँले विचार मिल्ने, कुरा मिल्ने वामपन्थी दलहरुसँग एकतावद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडी बढाइरहेको तर एमालेसँग मिल्ने कुनै सम्भावना नभएको स्पष्ट पारे । अध्यक्ष नेपालले पार्टी विभाजनका बेला गएका १० भाइहरुको एमालेमा बिजोग भइरहेको टिप्पणी पनि गरे । एमालेमा बिजोग हुने अवस्था आउने देखेरै आफूहरुले बाध्य भएर नयाँ पार्टी गठन गर्नु परेको उनको भनाइ थियो ।
प्रतिकृया दिनुहोस