गठबन्धन दलका नेताहरुलाई गगन थापाको धम्की, २ हजारमा कांग्रेसको २० हजार थपेर २२ हजार हुँदैन
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा हालको सत्ता गठबन्धन कायम रहिरहने बताइएका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनभित्र कांग्रेसलाई पेल्न खोजे निर्वाचनमा परिणाम राम्रो नआउने चेतावनी दिएका छन् ।
कांग्रेस प्रदेशसभा क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनमा न्यूनतम साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताएका हुन् । चुनावपछि पनि यही गठबन्धन कायम रहन्छ भन्ने सुनिश्चिता हुनुपर्ने उनको भनाइ छ । गठबन्धनमा बसेर त्यहीभित्रका दललाई राष्ट्रघाती भन्दै हिँड्नेले अलग बाटो रोज्नुपर्ने समेत बताए ।
उनले भने, ‘स्थानीय चुनावदेखि संघको चुनाव गरेर जाँदै छौँ । अहिले तालमेल बनेको छ । तालमेलको विषयमा दलमा दुई मत थियो । हामीले तालमेल नगरे अरूले गर्छ भन्नेमा हामी प्रष्ट छौँ । त्यो कुरा ०७४ मै देखियो । सिटको बाँडफाँड गरेर मात्रै हुँदैन । न्यूनतम विषयमा साझा अवधारणा लिएर जनतामा जानुपर्छ ।’
‘यसअघिको नतिजा हेर्दा चुनावपछिको तालमेल हामीले जोसँग पनि तालमेल गरेर तालमेल गरेका छौँ । चुनावपछि फेरि अर्को बाटोमा हिँड्यौँ भने त्यसको आधार के हो ? हामीले ०७४ मा एमाले र माओवादी जस्तो भयो भने के गर्ने ?’‚ उनले भने, ‘तालमेल गरेर एकैठाउँमा बसेको छ तर हरेक विषयमा फरक कुरा गरेको छ। गठबन्धनमा न्यूनतम कुरा पनि मिल्दैन भने त्यसको अर्थ हुँदैन ।’
उनले चेतावनी दिँदै भने, ‘कांग्रेसलाई यही वेला पेल्न सकिन्छ भनेर सोचियो र हाम्रो मतदाताको मनोभाव बुझिएन भने परिणाम नराम्रो नआउनसक्छ । तलको अवस्था नहेर ०७४ को निर्वाचनको आधारमा गयौँ भने पार्टीभित्र ठूलो असन्तुष्टि आउनसक्छ । कुनै अमुक पार्टीको २ हजार भोट छ‚ कांग्रेसको २० हजार भोट छ भने यस्तो अवस्थामा गठबन्धनको दलहरुले बुझ्नुपर्छ । २ हजारमा २० हजार थपेर २२ हजार हुँदैन ।’
कम्युनिष्ट पार्टीकै कारणले अहिले जनतामा ठूलो निराशा पैदा भएको बताए । ‘हामीले ठूलो पार्टी बन्दै गर्दा जनतामा देखिएको निराशा अन्त्य गर्नसकेका छैनौँ । ०७४ का कम्युनिष्टको स्थिर सरकार आएपछि पनि कुनै परिवर्तन नआएपछि ठूलो निराशा बढेको छ। हामी पहिलो दल बनेका छौँ । संसद् र प्रदेशमा सरकार छ । हामी कसैलाई प्रश्न गर्न मिल्दैन’‚ उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस