कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था गम्भीर, राष्ट्रपतिसहित नेताहरुद्धारा स्वास्थ्य लाभको कामना
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए ।
नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन ९ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपचाररत नेता प्रदीप गिरिका निम्ति यतिबेला हाम्रो प्रार्थना आवश्यक भएको बताएका छन् । प्रतिनिधि सभाका सदस्य एवं समाजवादी चिन्तक गिरि अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । गिरिको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ ।
नेता गिरिको स्वस्थ्य अवस्था गम्भीर बनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।
राष्ट्रपति भण्डारीले गिरिका परिवारसँग पनि भेट गरी सहानुभूति प्रकट गर्नुका साथै स्वास्थ्य लाभको कामना गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहेकी थिइन् ।
यसअघि आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गत मंगलबार गिरिलाई भेट्न मेडिसिटी अस्पतालमा पुगेका थिए ।
प्रतिकृया दिनुहोस