बुटवलमा होटलभित्र धादिङका पुरुष र दाङकी महिला मृत भेटिए
बुटवल । बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । मुख्य बजारबाट तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा दुई जना मृत फेला परेका हुन् ।
धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् । बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए ।
सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।
युवती पलगमा उत्तानो परेको अवस्थामा र पुरुष झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । कोठाको तन्ना र टाबेलमा रगत पोतिएको प्रहरीले बताएको छ ।महिलाको हत्या गरेर पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर उनका श्रीमान विदेशतिर रहेको र एक/डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरी निरीक्षक घिमिरेले बताए । दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिकृया दिनुहोस