प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिद्धारा नागरिकता विधेयक संसदमै फिर्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेपछि १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन् ।
उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।
‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ‚’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कुनै पनि विधेयक संसदबाट आएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण वा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था छ । यही प्रावधान अनुसार पुनर्विचारका लागि राष्ट्रपतिको कार्यालयले नागरिकता विधेयक फिर्ता पठाइदिएको हो ।
विधेयक प्रमाणीकरणबारे राष्ट्रपति कार्यालयले यसबीचमा कानुनी परामर्श पनि गरेकी थिइन्। उनले कानुनका जानकार र अन्य सहयोगीसँग पनि यसबारे छलफल गरेकी थिइन् । यो विधेयक रोकिएपछि फिर्ता हुनसक्ने अनुमान थियो । उक्त आशंकालाई पुष्टि गर्दै राष्ट्रपतिको कार्यालयले फिर्ता पठाइदिएको हो ।
नागरिकता विधेयकलाई लिएर यसअघि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने बताउँदै यदि फिर्ता गरिएमा फेरि पठाउने बताएका थिए ।
हेर्नुस् विज्ञप्ति
प्रतिकृया दिनुहोस