अर्थमन्त्रीमा शर्मा पुनः दोहोरिँदै, आजै सपथ लिने
काठमाडौं । अर्थमन्त्री पदमा पुनः जनार्दन शर्मा नै फर्किने भएका छन् । माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटवार्तामा अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पुनः नियुक्ति गर्ने सहमति भइसेको छ ।
बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
अर्थमन्त्री छँदा शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । करको दर हेरफेर गर्न उनले बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको उनीमाथि आरोप लागेको थियो ।
उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो । बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
प्रतिकृया दिनुहोस