नेपालले साउन ९ मै एसपीपी अघि नबढाउने लिखित पत्र पठायो : परारष्ट्रमन्त्री
काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । आजको संसद बैठकमा बोल्दै परराष्ट्रमन्त्री नारायण खड्काले साउन ९ गते अमेरिकालाई लिखित जानकारी गराइसकेको जानकारी दिए ।
सदनमा पटकपटक गत ६ असारमा सरकारले एसपीपीमा सहभागी नहुने भनेर गरेको निर्णयबारे अमेरिकालाई जानकारी किन नगराएको भनेर प्रश्न गरिरहेका थिए । आज त्यसको जवाफ दिँदै मन्त्री खड्काले उक्त पत्र ९ साउनमा नै कूटनीतिक च्यानलमार्फत पठाइसकेको जानकारी दिएका थिए ।
त्यसपछि एमाले सांसद भीम रावल र शिवमाया तुम्वहाम्फेलगायत २० जना सांसदले उक्त पत्र सार्वजनिक गर्नुपर्ने आवाज उठाएपछि मन्त्री खड्काले उक्त जवाफ दिएका हुन् । ‘यसले राज्य सञ्चालन, स्वतन्त्र र स्वाधिन राष्ट्रलाई अगाडि बढाउन सघाउ पुर्याउँदैन,’ उनले भने, ‘मन्त्री नै आएर बोलेपछि विश्वास गर्नुपर्छ ।’
साउन ४ गते नेकपा एमालेका सांसद भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको भनी रोष्ट्रममा उभिएर अमेरिकालाई पत्र पठाउन निरन्तर माग, सरकारलाई रुलिङ गर्न आग्रह गरेका थिए ।
निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन पाँच गते सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गर्नुभएको थियो । मन्त्री खड्काले संसदको रुलिङपछि आज जवाफ दिएका हुन् ।
मन्त्री खड्काले जवाफ दिने क्रममा सन् २०१७ भन्दा पहिले एसिया प्यासिफक हुँदादेखि नै नेपाली सेनाका प्रमुख उक्त सम्मेलनमा सहभागी हुने गरेको र अहिले इन्डोप्यासिफक हुँदा पनि गइरहेको बारेमा मात्रै आफूलाई जानकारी भएको बताए ।
त्यस्तै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूलगायत विभिन्न देशबाट पछिल्लो समय नेपालमा भइरहेको भ्रमणका विषयमा बोल्दै त्यसमा आशंका नगर्न उनले आग्रह गरे ।
‘विगतमा केपी ओली नेतृत्वको सरकार हुँदा पार्टीलाई प्रशिक्षण दिन गरी नै यहाँ आवतजावत भएको थियो । तर, अहिले त्यो स्तरमा केही भएको छैन,’ उनले भने, ‘भ्रमणहरू भएपनि नेपाल कुनै प्रकारका सैन्य र सामरिक गठबन्धनमा सहभागी हुँदैन ।’
उनले नेपाल असंलग्न परराष्ट्रनीति, पञ्चशीलको सिद्धान्त र संविधानले निदृष्ट गरेका निर्देशनविपरित कुनै पनि गतिविधि नगर्ने विश्वास दिलाए ।
प्रतिकृया दिनुहोस