५२ जना संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामाथिको सुनुवाइ फेरि स्थगित भएको छ ।
विपक्षी बनाइएका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो । सुनुवाइ शुरु हुनासाथ विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानून व्यवसायीहरुले संवैधानिक निकायलाई पनि विपक्षी बनाउनुपर्ने र उनीहरुबाट लिखित जवाफ आउनुपर्ने माग गरेका थिए ।
उनीहरुले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको र तिनलाई पनि संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखे ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको नेतृत्व गरी यी मुद्दा सुनुवाइ गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेपछि सुनुवाइ स्थगित भएको हो ।
विपक्षी बनाइएकाहरुका कानून व्यवसायीहरुले अघि सारेका मागवारे लिखित आदेश हुनसक्ने एक कानून व्यवसायीले बताए ।
प्रतिकृया दिनुहोस