स्थानीय तहको निर्वाचनमा ५ अर्ब खर्च, ३५ हजार ९७ जनप्रतिनिधि निर्वाचित (आयोगको पूर्ण प्रतिवेदनसहित)
काठमाडौं । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पाँच अर्ब रुपैयाँ खर्च भएको छ । स्थानीय तहको चुनावमा निर्वाचन आयोगले ५ अर्ब ४ करोड, ३ लाख ९२ हजार ८ सय ७६ रुपैयाँ खर्च गरेको छ । सरकारलाई ३ अर्ब ६ करोड, ९६ लाख ७ हजार १ सय २४ रुपैयाँ फिर्ता पठाएको छ ।
निर्वाचन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा सो रकम खर्च भएको जानकारी गराएको हो । निर्वाचनको सुरक्षासम्बन्धी खर्च अलग्गै छ ।
आयोगका अनुसार स्थानीय तह निर्वाचनमा प्रति मतदान केन्द्र खर्च दुई करोड २९ लाख ५९८ रहेको छ । त्यस्तै प्रति मतदाता खर्च भने २८४ रहेको छ । आयोगका अनुसार यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचन, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको भन्दा कम हो ।
०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनमा आयोगले सात अर्ब ८० करोड १४ लाख ४९ हजार १२१ रुपैयाँ खर्च गरेको थियो । त्यस्तै स्थानीय तह निर्वाचनमा सात अर्ब १५ करोड ७७ लाख १९ हजार ९६२ रुपैयाँ खर्च गरेको थियो ।
स्थानीय तहको निर्वाचनमा प्रति मतदान केन्द्र खर्च २ लाख २९ हजार ५ सय ७८ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ । सो निर्वाचनमा प्रतिमतदाता खर्च २ सय ८४ रुपैयाँ पर्न आएको आयोगले बताएको छ ।
स्थानीय तह निर्वाचन २०७९ मा सबैभन्दा धेरै ४१ देखि ६० वर्ष उमेर समूहका जनप्रतिनिधि निर्वाचित भएका छन् । देशभरका ७५३ पालिकामा निर्वाचित ३५ हजार ९७ जनप्रतिनिधिमध्ये ४१ देखि ६० वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् १८ हजार ३४७ छन् ।
आयोगको तथ्यांकअनुसार ४१ देखि ६० वर्ष उमेर समूहका व्यक्ति २१८ पालिकामा प्रमुख, १७४ मा उपप्रमुख, ३२० पालिकामा अध्यक्ष र २१२ पालिकामा उपाध्यक्ष निर्वाचित भएका छन् । ३७ पालिकामा प्रमुख, ९५ पालिकामा उपप्रमुख, १०६ पालिकामा अध्यक्ष र २३४ पालिकाको उपाध्यक्ष पदमा २१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति निर्वाचित भएका छन् ।
त्यस्तै, ६१ देखि ८० वर्ष उमेर समूहका व्यक्ति ३८ पालिकामा प्रमुख, २४ पालिकामा उपप्रमुख, ३४ पालिकामा अध्यक्ष र १४ पालिकामा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । आयोगका अनुसार ४१ देखि ६० वर्ष उमेर समूहका ३ हजार २५३ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।
प्रतिकृया दिनुहोस