आज आठौँ चुरे दिवस, चुरे संरक्षणका लागि एकैदिन एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोपिदै
काठमाडौँ । चुरे क्षेत्रको संरक्षणमा जोड दिँदै आज आठौँ चुरे दिवस मनाइँदैछ । चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई हरेक वर्ष चुरे दिवसको रूपमा मनाउने गरिएको छ । दिवसका अवसरमा राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यसपालि एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोप्न लागेको छ ।
असार महिना वृक्षारोपण महिनाका रूपमा मनाउँदै महिनाभरी कम्तीमा पाँच लाख वृक्षारोपण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । चुरे क्षेत्र भनेको हिमालय पर्वत शृङ्खलाको सबैभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको कमलो र कमजोर पर्वत शृङ्खला हो । यसले देशको करिब १३ प्रतिशत भूभाग ओगटेको छ भने पूर्वमा इलामदेखि पश्चिममा डडेलधुरासम्म ३७ वटा जिल्लाहरूमा यो क्षेत्र फैलिएको छ ।
पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरे श्रृङ्खला शिवालिकको नामबाट पनि चिनिन्छ । यो क्षेत्रमा राम्ररी नखाँदिएका खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको बताइन्छ ।
प्रतिकृया दिनुहोस