भारतीय गायक कृष्णकुमार कुन्नथको निधन, मोदीद्धारा दुःख व्यक्त
काठमाडौं । भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । ५३ वर्षीय केकेको मंगलबार अबेर राति कोलकातामा निधन भएको हो । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उनको स्वास्थ्य बिग्रिएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भयो ।
महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन पुगेका केके स्टेजमा गीत गाउँदै गर्दा हर्टअट्याक आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
१९६८ मा भारतको दिल्लीमा जन्मिएका केकेले हिन्दी, तामिलसहित आठ भाषामा गीत गाएका केकेले फिल्म ‘माचिस’मा संलग्न ‘छोड आए हम’मार्फत बलिउड डेब्यु गरेका थिए । हम दिल दे चुके सनम, तडप तडपबाट उनले पछि फर्केर हेर्नुपरेन ।
एल्बम पलबाट उनले सांगीतिक करियर थालेका थिए । बजरंगी भाइजानको गीत तु जो मिला, ओम शान्ति ओमको अजब सी, वो लम्हेको क्या मुझे प्यार है, रेडीको हमको प्यार हुवा, पल एल्बमको पल, काइट्सको दिल क्यों ए मेरा, भूल भूलैयाको लबों को, द ट्रेनको बिते लम्हे, हम दिल दे चुके सनमको तडप तडप, दसको दस बहाने लगायत उनका चर्चित गीत हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनका गीतमा सबै उमेर समूहका मानिस जोडिने गरेको बताउँदै मोदीले गीतमार्फत केके सबैको हृदयमा बस्ने भन्दै ट्वीट गरेका छन् । राष्ट्रपति रामनाथ कोविन्दले पनि उनको निधनमा शोक जनाएका छन् ।
प्रतिकृया दिनुहोस