तारा एयरको ट्विनअटर विमानको खोजी कार्य बिहानैबाट पुनः सुरु
काठमाडौं । आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको छ ।
पोखराबाट मुस्ताङका लागि उडेको सो विमान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ ।
मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज बेपत्ता भएको छ । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको हो ।
सम्पर्कविहीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी राखेका छन् । खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएन ।
विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको थियो । फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी गरेका थिए । खराब मौसमका कारण दुवै हेलिकप्टरलाई पूर्ण क्षमतामा परिचालन गर्न नसकिएको सुरक्षा अधिकारीहरू बताउँछन् । नेपाली सेनाका अनुसार मानापाथी हिमालको वरपर खोजी कार्य भइरहेको छ ।
उनका अनुसार नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मानापाथी हिमालतर्फ र नेपाली सेनाको अर्को एउटा टोली निलगिरि हिमालतर्फ खोज्न गएको प्रजिअ शर्माले जानकारी दिए । उनका अनुसार एउटा हेलिकोप्टर आज बिहान ५ बजेतिर नै उडिसकेको छ । अर्को एउटा हेलिकोप्टर पनि उडाउने तयारी गरिएको छ ।
प्रतिकृया दिनुहोस