‘एक हारले धनकुटामा हाम्रो सर्वश्व गुमेको छैन, फेरि समय आउँछ’

Sabitra ghimire

स्थानीय तह भनेको जनताका लागि पहिलो र अनिवार्य सरकार हो । जसले जनताको काम स्थानीय सरकारले नै गर्छ । त्यही भएर पनि यो पटक भएको स्थानीय तहको निर्वाचनमा जनताको सहभागिता उत्साहपूर्ण भयो । जनताले आफ्नो मताधिकार प्रयोग गरेर आफ्ना जनप्रतिनिधि छानी सकेका छन् ।

यही बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम पनि करिव करिव आइसक्न लागेको छ । सम्पूर्ण पालिकाहरुको मत परिणाम हेर्दा कसैका लागि फलिफावपूर्ण भएको छ भने कुनै पार्टीहरुका लागि अफावसिद्ध पनि भएको छ ।

बेशाख ३० गतेसम्म हामी विभिन्न पार्टीमा आवद्ध थियौं र आज पनि छौं । हिजो हामीले कसलाई भोट हान्यौ र हानेनौं ? त्यो आजको मुख्य विषय होइन । अबको मुख्य विषय भनेको त हाम्रा जनप्रतिनिधिहरुले जन चाहना बमोजिम काम गर्ने हुन् कि होइनन् ? हाम्रो पालिकालाई भ्रष्टाचारमुक्त पालिका, विकासमुलक पालिका, सुशासन र पारदर्शी पालिका बनाउने हुन् की होइनन् ? कि पूरानै ढर्राको पालिका त बनाउने होइनन् ? यो मुख्य विषय हो ।

कतिपय जनप्रतिनिधिहरुले जनचाहना बमोजिक काम नगर्न पनि सक्छन् । यो नौलो कुरा होइन । तर, हामी जनताले हाम्रा जनप्रतिनिधिहरुलाई आफुखुसी चल्न दिनु चाँही हाम्रो कमजोरीको रुपमा लिनुपर्छ । किनकी भोट दिनुपूर्व मात्रै नेताहरु वा उम्मेदवारहरु जनता अनुकुल हुन्छन्, निर्वाचन सकिएपछि उम्मेदवारहरु जनता प्रतिकुल हुन्छन् । यसलाई तोड्नु हामी जस्ता सचेत नागरिकको कर्तव्य हो ।

हो निर्वाचनमा हार जित स्वभाविक हो । निर्वाचनको मैदानमा पुगेपछि एउटाले जित्ने र एउटाले हार्नु पर्छ नै । पाख्रिबास नगरपालिकाको सवालमा हामीले जितेका छौं र हामीले हारेका पनि छौं । हामीले हार्दैमा संसार भासिएको छैन र हामीले जित्दैमा कायापलट पनि भएको छैन । तर हामीले कहिले त्यसतर्फ सोच्ने प्रयाससम्म गरेका छैनौं ।

कुन पार्टीको भन्दा पनि पाख्रिबास नगरपालिकाभित्रका १० वटा वडाहरुमा ५२ जनाले जितेका छौं भने बाँकीले हारेका छौं । हामीले हा¥यौ, अब हामी सक्कियौं भन्ने सोच हामीले राख्नुहुँदैन । जित्नेले हामीले जित्यौं, अरु हाम्रा लागि कोही होइनन् भन्ने भ्रम त्याग्न सक्नुपर्छ ।

सवाल पाख्रिबासमा हामी
स्थानीय तहको निर्वाचन सकिएको छ । अब हामीले स्थानीय तहको निर्वाचनको समिक्षा गर्न जरुरी छ । हामी अर्थात् नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भर्खर जन्मिएको पार्टी हो । जन्म भएको छोटो समयमा निर्वाचनमा होमिनु पर्दा हामीले पाख्रिबासमा राम्रो परिणाम ल्याउनै सकेनौं । यसमा हामीले पश्चाताप मान्नुपर्ने कुनै कारण छैन ।

पहिलो कुरा हामीसँग थुप्रै समर्थकहरु भए पनि सबै वडाहरुमा पार्टी कमिटीहरु बनाउन सकेका थिएनौं । टोल कमिटीहरु बन्न सकेको थिएन । पार्टीका जनवर्गीय संगठनहरु बन्न सकेको थिएन । यस्तो अवस्थामा हाम्रो शक्ति कति छ भन्ने अनुमान बाहेक अरु थिएन । सत्ता गठबन्धनभित्रको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि एकीकृत समाजवादीको शक्ति आँकलन नै गर्न सकेका थिएनन् । यस्तो अवस्थामा हामी निर्वाचनमा जानु भनेको विना हतियार युद्धमा जानु सरह नै थियो ।

नगरपालिका स्तरीय गठबन्धनको बैठक ९ औं पटक बस्दा पनि निर्वाचनमा कसरी जाने र कस्तो सहकार्य हुने विषयमा टुंगिन सकेन । यो विषयमा एकीकृत समाजवादीको नगर र जिल्ला कमिटीले समयमै टुंग्याउन पनि सकेन । जिल्ला स्तरमा भएको वार्तालाई सफल बनाउन नसक्नु ठूलो कमजोरी रह्यो । यसले पनि पार्टीलाई ठूलो क्षति पुग्यो ।

नगरको सवालमा सत्ता गठबन्धनमा रहेका राजनीतिक पार्टीहरुबाट योपटक धेरै अपहेलित हुनुपर्दाको पीडा बिर्सनै सकिन्न । किनकी हामी उनीहरुका लागि राजनीतिक हैसियतको त के कुरा, एउटा मानवसमेत बन्न सकेनौं । यो अवस्थामा हामीलाई गठबन्धनबाट सहयोग हुन्छ भनेर अपेक्षा गर्नु हाम्रा लागि मुर्खता प्रदर्शन गर्नुसरह थियो ।

जिल्लामा बसेको गठबन्धनको बैठकले सहमति गर्छ भन्ने थियो । हामी सहमति हुन्छ र निर्वाचनमा हामी जित्छौं भन्नेमा थियौं । गठबन्धनले हामीलाई कुनै महत्व दिएन । गठबन्धनलाई जोगाउनैका लागि नगर प्रमुख, उपप्रमुख र केही वडाध्यक्षमा दिइएका उम्मेदवारी फिर्ता लिएर गठबन्धनको रक्षार्थ जुट्यौं । तर, विडम्बना, गठबन्धनले हाम्रो यो त्यागलाई सामान्य सम्झियो । अर्काेतर्फ जिल्लाले पाख्रिवासलाई वास्ता गरेन । केन्द्रिय सहमति अनुसार पाख्रिवास वडा नं. ४ हामीले पाउनुपर्ने थियो । जुन हामीले पाउन सकेनौं । यसमा हामी दुःखित छौं ।

जे हुनु भइसकेको छ । अबका दिनमा पार्टी निर्माणमा लाग्नु जरुरी छ । हामी स्थानीय सरकारमा नभए पनि स्थानीय सरकारको असल प्रतिपक्ष बन्ने मौका आएको छ । जनताले हामीले पाँच वर्षसम्म प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएका छन् । अबको पाँच वर्षसम्म राम्रो कामको समर्थन र गलत कामको भण्डाफोर गर्नु हाम्रो दायीत्व हुनेछ ।

(घिमिरे, नेकपा एकीकृत समाजवादी धनकुटाको सचिवालय सदस्य तथा अनेरास्ववियुको केन्द्रिय सचिव हुन् ।)

प्रतिकृया दिनुहोस