हेटौडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) की मीना लामाको इन्ट्री
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) की नेता मीना लामा निर्वाचित भएकी छन् । २०४९ सालदेखि नेकपा एमालेले नेतृत्व गर्दै आएको उपमहानगरपालिमा ३० वर्षपछि फरक पाटीको नेतृत्व निर्वाचित भएको हो ।
जितसँगै उनी वाग्मती प्रदेशको एक मात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयरसमेत बनिन् । नेकपा एमाले र राप्रपाको चुनौती पन्छाउँदै लामाले पाँच वर्षका लागि शासनसत्ता आफ्नो हातमा पार्न सफल भइन् ।
एमालेका उम्मेदवार अनन्त पौडेललाई दुई हजार एकसय ६७ मतले पछि पार्दै उनी मेयर निर्वाचित भएकी हुन् । लामाले २३ हजार ७५ मत ल्याउदा निकतम प्रतिस्पर्धी नेकपा एमालेका नेता अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे । त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो स्थानमा चित बुझाउनु पर्यो ।
भारी मत अन्तरसहित उपमेयरमा कांग्रेसका राजेश बानिया निर्वाचित भए । उनले ३२ हजार ५ सय ९३ मत प्राप्त गरे। नेकपा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ र राप्रपाकी इन्दिरा न्यौपानले ५ हजार ४ सय ८३ मत ल्याइन् । हेटौंडा उपमहानगरपालिकाको कुल एक लाख चार हजार चारसय ७३ मतमध्ये ७३ हजार ४ सय १४ मत खसेको थियो ।
२०७४ को स्थानीय तह निर्वाचनबाट लामा नेकपा एमालेबाट उपमेयर र बानिया नेपाली काङ्ग्रेसबाट हेटौंडा ५ को वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
सत्तारुढ गठबन्धनबाट मेयरको उम्मेदवार बन्नेबित्तिकै नेपाली कांग्रेस र आफ्नो पार्टीभित्रकै चरम असन्तुष्टिबीच लामा चुनावी मैदानमा होमिएकी थिइन् । टिकट नपाएको झोकमा तत्कालीन नेकपा (एस) जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी नै परित्याग गरी नेकपा एमाले प्रवेश गरेर उनलाई असहयोग गरे ।
कांग्रेसका असन्तुष्ट नेताहरुले पनि लामालाई खुलेर सहयोग गरेनन् । एमालेका बलियो संगठन, गठबन्धनबाटै असहयोग भएको अवस्थामा पनि उनी दृढतापूर्वक निर्वाचन अभियानमा होमिएकी थिइन् । फलस्वरुप उनी निर्वाचित भइन् ।
प्रतिकृया दिनुहोस