स्थानीय तहको निर्वाचन:चितवनमा मतदाता संख्याभन्दा ९ प्रतिशत बढी मतपत्र आइपुग्यो

Nirwachan matadan


चितवन । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको छ । शुक्रबार भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जानकारी दिएको छ ।भरतपुरको लागि ४१० बण्डल र भरतपुरबाहेक ६ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको हो । एउटा बण्डलमा ५०० वटा मतपत्र छन् । निर्वाचन आयोगले चितवनका मतदाताको संख्या भन्दा ९ दशमलब १३ प्रतिशत अर्थात ३६ हजार ३१५ बढी मतपत्र पठाएको हो । जिल्लामा मतदाताको संख्या तीन लाख ९७ हजार ६८५ रहेको छ । प्याकिङ भएर आएको मतपत्रको बण्डलभित्र प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने भएकाले आयोगले करिब १० प्रतिशतबढी मतपत्र पठाउने गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको लागि दुई लाख पाँच हजार मतपत्र आएको छ । भरतपुरमा एक लाख ८५ हजार ७५२ मतदाता छन् । महानगरबाहेक ६ पालिकाको लागि दुई लाख २९ हजार मतपत्र आइपुगेको छ । छ पालिकामा दुई लाख ११ हजार ९३३ मतदाता छन् । भरतपुरको लागि बनाइएको मतपत्रमा दल र स्वतन्त्रका गरी ३६ प्रकारका चुनाव चिह्न छन् । तर उम्मेदवार भने ३५ प्रकारका चुनाव चिह्न पाएका मात्रै छन् । ३६औँ नम्बरको लाइनमा राखिएको चुनाव चिह्न कुनै पनि उम्मेदवारको होइन ।

आयोगले मतपत्रको आकार मिलाउनका लागि मतपत्रको अन्तिम लाइनमा उम्मेदवार नै नभएको चिह्न राखेर पठाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए । ‘भरतपुरमा मात्रै हो एउटा चुनाव चिह्न बढी भएर आएको । अरू पालिकाको मतपत्रमा झन् पाँच-दश वटा चिह्न बढी राखेर पठाइएको छ’, उनले भने ।

सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । २७ वैशाखमा सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरूलाई मतपत्र दिएर पठाइने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । ‘मतदान केन्द्रको लागि चाहिने मतपत्र छुट्टाएर पोको पार्छौँ र सम्बन्धित मतदान अधिकृतलाई जिम्मा लगाउँछौँ’, उनले भने, ‘मतपत्रको ढुवानी नेपाली सेनाले गर्छ ।’

मतपत्रको सुरक्षाको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । मतदान केन्द्रमा मतपत्र पुगिसकेपछि प्रहरीको सइ वा असइको कमाण्डमा मतपत्रको सुरक्षा गरिन्छ । मतदानको दिन ३० वैशाख बिहान दलका प्रतिनिधिहरूको रोहवरमा मतपत्रको पोको खोलिने उनले बताए । मतदानको समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म रहेको छ । चितवनमा १६१ वटा मतदान स्थल र ४५१ वटा मतदान केन्द्र छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...