एकाएक मौसम खराब हुँदा एकै दिन १ सय ४ वटा आन्तरिक उडान रद्द
काठमाडौँ । काठमाडौं भित्रिने र बाहिरिने हवाई मार्ग (इनरुट) को मौसम सोमबार साँझ एकाएक खराब हुँदा एकै दिन १ सय ४ वटा आन्तरिक उडान रद्द भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, इनरुट, पश्चिमी भेग र काठमाडौं आसापासको मौसम खराब भएका कारण सोमबार रातिसम्म १ सय ४ वटा आन्तरिक उडान रद्द भए । प्रवक्ता शेर्पाका अनुसार, काठमाडौं फर्किनुपर्ने बुद्धका ८ र यतिका ४ वटा जहाज भद्रपुर, बिराटनगर, जनकपुर, भरतपुर, पोखरा, भैरहवा र नेपालगंजमै ‘नाइट–स्टप’ मा परेका छन् । ती विमान मंगलबार बिहान नियमित उडानमार्फत फर्किएको आन्तरिक टर्मिनल कार्यालयले जनाएको छ ।
बुद्ध एयरको दिउँसो २ बजे पोखराबाट काठमाडौं आउने जहाज तनहुँ, गोरखा हुँदै काठमाडौं प्रवेश गर्ने इनरुटको मौसम अत्याधिक खराब भएका कारण भरतपुर पुगेर भारतीय सिमावर्ती क्षेत्र र वीरगंज हुँदै सिमराबाट काठमाडौं फर्किएको थियो । त्यस्तै पोखराबाट आएको यतिको जहाज काठमाडौंमा अवतरण हुन नसकेर भैरहवा फर्किएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय उडानतर्फ सोमबार ३२ वटा आउने र ३१ वटा जाने गरी ६३ वटा उडानको तालिका थिए ।
काठमाडौं विमानस्थल र इनरुटको मौसम खराब भएका कारण दिल्लीबाट आउँदै गरेको इन्डिगो, जापानबाट आउँदै गरेको नेपाल वायुसेवा निगम र दोहाबाट आउँदै गरेको कतार एयरवेजको विमान कम्तीमा १ घन्टा काठमाडौं बाहिरको आकासमा होल्ड (आकासमा फन्को लगाउने) मा परेका थिए । त्यस्तै अन्य अन्तर्राष्ट्रिय उडान पनि ढिलो भएको थियो । अन्तर्राष्ट्रिय उडान डाइभर्ट र रद्द भने नभएको प्रवक्ता शेर्पाले बताए ।
प्रतिकृया दिनुहोस