आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर नेपाल पठायो
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आइओसीले) पछिल्लो समय सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइओसीले पन्ध्र–पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउँछ। सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्छ। वैशाख १८ गते आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो। यसअघि वैशाख ३ गते आइओसीले पठाएको मूल्यको तुलनामा अहिले सबभन्दा बढी खाना पकाउने एलपी ग्यासको मूल्य बढेको देखिन्छ। पन्ध्र दिन अघिभन्दा अहिले ग्यास एक सिलिन्डरमा ९८ रूपैयाँ ७३ पैसा बढेको छ। त्यो बेला प्रतिसिलिन्डर दुई हजार पाँच सय ५१ रूपैयाँ ४५ पैसामा आएको ग्यास अहिले दुई हजार ६ सय ५० रूपैयाँ १८ पैसा भएको छ।
त्यस्तै डिजेलमा प्रतिलिटर दस रूपैयाँ ८ पैसा बढेको छ। पन्ध्र दिनअघि लिटरको एक सय ७३ रूपैयाँ ५ पैसामा निगमले किन्ने डिजेल अब एक सय ८३ रूपैयाँ १३ पैसा पर्ने भएको हो। पेट्रोलको खरिद लागत प्रतिलिटर एक सय ८३ रूपैयाँ २ पैसा पुगेको छ। पन्ध्र दिनअघि प्रतिलिटर एक सय ७८ रूपैयाँ १६ पैसा थियो। यसमा चार रूपैयाँ ८६ पैसा वृद्धि भएको छ। हाल निगमले ग्यास प्रतिसिलिन्डर एक हजार ६ सयमा बिक्री गरिरहेको छ। त्यस्तै पेट्रोल लिटरको एक सय ६० र डिजेल एक सय ४३ रूपैयाँमा बेचिरहेको हो। त्यस्तै पन्ध्र दिनअघिको तुलनामा अहिले मट्टीतेल लिटरमा तीन रूपैयाँ ८६ पैसा बढेको हो। हवाई इन्धन (आन्तरिकतर्फ) पनि चार रूपैयाँ १२ पैसा र बाह्यतर्फ चार रूपैयाँ १४ पैसा वृद्धि भएर आएको छ।
आइओसीले धेरै समयपछि सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो। पहिले कुनै न कुनै इन्धनको मूल्य घटेर आउने गरेको थियो। वैशाख ३ गते पनि पेट्रोलमा केही मूल्य घटेर आएको थियो। विश्व बजारमा प्रशोधित तेलको मूल्य बढेकाले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको जानकारहरू बताउँछन्। पछिल्लो एक-डेढ महिनामा डिजेलमा प्रतिलिटर ३४ रूपैयाँसम्म बढेर आएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
वैशाख १८ गते बढेर आएको मूल्यसँगै आगामी पन्ध्र दिनमा करिब पाँच अर्ब १९ करोड रूपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ।आइओसीले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रूपैयाँ दुई पैसा र डिजेलमा ४० रूपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यास सिलिन्डरमा एक हजार पचास रूपैयाँ १८ पैसा घाटा हुने निगमले जनाएको छ। मट्टीतेल भने लिटरमा २ रूपैयाँ ८१ पैसा, हवाई इन्धन आन्तरिकतर्फ १२ रूपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रूपैयाँ ६९ पैसा नाफा रहेको निगमले जनाएको छ। पेट्रोलियम पदार्थमा भइरहेको नोक्सान परिपूर्तिको क्रममा निगम स्रोतबिहीन भएको छ।
प्रतिकृया दिनुहोस