अबको ५ महिनामा २ लाख नयाँ संक्रमित थपिने स्वास्थ्यमन्त्रालयको प्रक्षेपण
काठमाडौँ । अबको पाँच महिनामा कोरोना भाइरसका झण्डै दुई लाख संक्रमित थपिने प्रक्षेपण सरकारले गरेको छ । यद्यपि, यो अरु समयको तुलनामा गिर्दो संख्या हुने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणअनुसार साउन महिनापछि कोरोना संक्रमणको दर घट्दै जानेछ ।
लोहनीले अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरिएको जानकारी दिए । साउनमा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदा मंसिर महिनासम्ममा यो संख्या घटेर २५ हजार पुग्ने मन्त्रालयको अनुमान छ ।
पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने तथा तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने पनि सरकारले जनाएको छ ।
कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशत व्यक्तिको कोरोना परीक्षणसम्पन्न भएको छ भने २ दशमलव ६ प्रतिशतमा कोभिड संक्रमण भएको देखिएको छ ।
साउन २० सम्म ७ लाख ६९ हजार ९ सय २२ जनामा संक्रमण देखिएको छ भने कोभिड १९ बाट ९ हजार ९ सय ५७ जनाको मृत्यु भएको छ ।
साउन २० सम्ममा नेपालमा कोरोना खोपको पहिलो मात्रा ४२ लाख ९७ हजार ६ सय १२ जना तथा पूर्ण खोप २० लाख ७४ हजारले लगाएको पनि लोहनीले जानकारी गराए ।
प्रतिकृया दिनुहोस