गाँडा तन्नेरी नेताहरुबाट नयाँ बाटोको खोजी सम्भव छ ?
नेपाली जनताको आर्थिक स्तर तीव्ररुपमा उकास्न सक्ने बुद्धि, वर्गत, फराकिलो छाती र अग्लो कद भएको इमान्दार नेता नेपालमा आजसम्म देखा पर्न सकेको छैन । ‘तन्नेरी गाँडा’ हरू त प्रशस्तै देखिए । छिमेकी मुलुकहरूमा अरबको जनसंख्या छ । तैपनि तुलनात्मक रुपले उनीहरू सुखी र सम्पन्न छन् । हामीसँग भएका जाबो चार करोड जनताहरूमध्ये पनि अधिकांशका चुलाहरू चिसा छन् र धेरैका मुहारहरू मलिन छन्, तैपनी ‘तन्नेरी गाँडा’हरुको गर्जन ठूलै छ ।
हामी संकटमा छौँ र अब पनि केही नौला क्रान्तिकारी र दुरदर्शी कार्ययोजनाहरू नबन्ने हुन् भन्ने हाम्रा नाती, पनाती र खलातीहरू पनि यही दुःख र अभावको गहिरो दलदलमा फसिरहने छन् । सुखको दिन धेरै टाढासम्म पनि देखिँदैन । यसकारण मुलुकमा एउटा ठूलै परिवर्तनको खाँचो छ । एकै पटक सबै परिवर्तन सम्भव हुँदैनन् र परिवर्तन ध्वंसात्मक पनि हुनुहुँदैन । यसर्थ परिवर्तनको स्वाभाविक गतिलाई सकारात्मक रुपले तीव्र बनाउने रणनीति सान्दर्भिक हुन्छ ।
यस वखत सबै नेपालीहरूलाई समानरुपले माया गर्ने असल नियत र विशेष योग्यता, प्रतिभा भएको स्वप्नदर्शी, बहादुर र इमान्दार राजनेताहरूको ठूलो खाँचो छ । नेपालमा केही त्यागी समर्पित विद्वान र असल राजनीतिज्ञहरू पनि छन् । तर उहाँहरू नेतृत्वको तहमा आउने बाटाहरूमा सधैँ खराब तत्वहरूले तगारा लगाइरहेका छन् । असल, सक्षम र इमान्दार राजनीतिज्ञहरू देशका भाग्य विधाताहरू हुन् । दुःखको कुरो यो छ कि, हालसम्म त्यस्ता विलक्षण प्रतिभाका सम्मानित नेताहरू सतहमा देखिएका छैनन् । भएका गाँडा तन्नेरीहरू त सपना देख्न पनि डराउँछन् । कसैले पनि नेपाली जनताहरूको उज्यालो भाग्य भविष्य बनाउने भरपर्दो नविन कार्य योजना बनाउने हिम्मत आजसम्म गर्न सकेको छैन ।
हरेक वर्ष राष्ट्रप्रमुखले संसदमा प्रस्तुत हुने वार्षिक कार्ययोजना अघिल्लो साल प्रस्तुत कार्ययोजना भन्दा खासै फरक पाइँदैन । नयाँ सोचाइ नै छैन, नयाँ कार्य योजना छैन, सपना नै छैन, कल्पना नै छैन । आफ्नै वौद्धिक औकात खुम्च्याउँदै मान्छेले गर्न सक्ने मात्र बोल्नुपर्छ भनेर कर्मक्षेत्रबाट भाग्न खोज्छन् ।
मान्छेको क्षमता मापनको संयन्त्र के हो ? यस्तै औसत औकातका नेताहरू नेपालमा ‘गाडाँ तन्नेरी’ भइरहेका छन् र हामी दुःखको गहिरो खाडलभित्र निरीहरुपले निस्सासिदै छटपटिरहेका छौँ । वौद्धिक दरिद्रता हाम्रो दुःखको मूल कारण हो । मान्छे शक्तिको अथाह पुञ्ज हो । उसको हिम्मतले उसको शक्तिको र औकातको मापन गर्दछ ।
कुनै बेला भूमध्य सागरको पानी लगेर हवाइजहाजमा माटो ओसारी लिवियन मरुभूमी हराभरा बनाएका थिए । इजरायलको कृषि क्रान्ति प्रशंसा योग्य छ । एउटी अकेली महिला मदर टेरेसाले विश्वका ८० करोड दुःखी गरिवहरूलाई आफ्नो सेवा पु¥याइरहेकी थिइन् । लि क्वान युले वर्तमान समृद्ध सिंगापुर बनाए । मान्छेले गरे के सक्दैन ? कल्पना, आँट र उम्मेद चाहिन्छ । मान्छेले धेरै पर पुग्नेगरी कल्पना गर्नुपर्छ र कल्पित स्थानमा पुग्न भगिरथ प्रयास गर्नुपर्छ । यस्ता बहादुर नेताहरू नयाँ युवा पुस्तामा पाइन्छन् । यस कारण युवाहरूलाई राजनीतिमा सहज प्रवेशको वातावरण अहिले सक्रिय भइरहेको पुस्ताले बनाइ दिनुपर्छ । समस्या समाधानको पहिलो पाइला यहीँ हुन सक्छ ।
पुरानो पुस्ताको आर्शिवाद र अनुभव लिएर शिक्षित युवा पुस्ता अघिसर्ने वित्तिकै मुलुकमा आसा र उमंगको झुल्के घाम लाग्न थाल्दछ । देश विदेशमा रहनु भएका शिक्षित युवा पुस्ताले मातृभूमिको सेवा गर्ने सबैभन्दा उपयुक्त उपाय भनेको नै नीति निर्माण तहमा आफ्ना उपस्थिति जनाउनु हो । निर्वाचन नजिकिदै छ, सम्पूर्ण नेपाली युवाहरू संगठित भई स्थानीय तहदेखि संघीय निर्वाचनमा सहभागि भई नीति निर्माण तहमा समेत बलियो उपस्थिति हुन सक्यो भने मात्र मुलुकले काँचुली फेर्छ । उज्यालो र उन्नत नेपाल पुग्ने नयाँ बाटो यहीँ हो ।
प्रतिकृया दिनुहोस