नगरपालिका तोडफोड प्रकरण : सत्ता पक्ष र विपक्षी दलहरुबीच विवाद बढ्यो, प्रतिकार गर्न निर्देशन
धनकुटा । नेपालको संविधान अनुसार नै असार १० गते धनकुटाका सात वटै स्थानीय तहहरुले बजेट ल्याए । तर, सात वटामध्ये एमालेले ‘क्लीन स्वीप’ गरेको पाख्रिबास नगरपालिकामा भएको विवादले भने उग्र रुप लिएको छ ।
नगरपालिकालको हलभित्र आठौं नगरसभा चलिरहँदा वडा नं. ४ का वडावासीहरुले आफ्नो वडाको बजेट कटौती गरी नगरप्रमुख वृषबहादुर राईले एकलौटी गर्न खोजेको भन्दै विरोध प्रदर्शनमा उत्रिएपछि भएको विवादले अहिले राजनीतिक दलहरुबीच निक्कै खटपट भएको छ ।
पाख्रिबासमा भएको तोडफोडपछि राजनीतिक दलहरुबीच ध्रुवीकरण बढेको छ । नेकपा एमालेले सो घटनापछि राजनीतिक र कानुनी रुपमै प्रतिकार गर्ने चेतावनी दिएको छ भने नेपाली कांग्रेस सहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतले एमालेले सरकारी निकाय र एमालेले प्रतिकारमा उत्रिए पछि नहट्ने चेतावनी दिएका छन् । यसले गर्दा धनकुटामा बजेटकै विषयलाई लिएर राजनीतिक दलहरुमा हुन थालेको टकरावले जिल्लामा विकास निर्माणको मात्रै होइन, सुरक्षाको चुनौती पनि थपिदिएको छ ।
नगरपालिकामा भएको तोडफोडको विरोधमा शुक्रबार नेकपा एमालेले धनकुटामा पत्रकार सम्मेलन आयोजना गरी पाख्रीवास नगरपालिकाको नगरसभामा भएको हुलदंगा र तोडफोडको घटनालाई कानूनी र राजनीतिक हिसावले प्रतिवाद गर्ने चेतावनी दियो ।
पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले गुण्डागर्दी शैली देखाउनेहरुलाई पक्राउ गरी कानूनी कारबाही गर्न पनि प्रशासनलाई आग्रह गरे भने भने नेपाली कांग्रेस लगायत दलले गुण्डागर्दी शैलीमा हुलहुज्जतका साथ नगरसभा विथोल्ने, सभाहल तोडफोड गर्ने, कुर्सी टेवल भाँच्ने, सिसा फुटाउने, जनप्रतिनिधि माथि हातपात गर्ने जस्तो जघन्य अपराध गरेकाले प्रतिवाद गर्ने चेतावनी दिए ।
एमालेले प्रतिकार गर्ने चेतावनी दिएलगत्तै शनिबार पाख्रिबासमा भएको विपक्षी दलको बैठकले सरकारी तवरबाट प्रतिकार भए प्रतिवाद गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस धनकुटा लगायत विपक्षी गठनबन्धनले पाख्रिवासका केही जनप्रतिनिधिहरुले गरेको स्थानीयलाई गरेको दुव्र्यवहार र हात हाल्ने समेत गरी उत्तेजित बनाउन कार्यको सशक्त प्रतिरोध गर्ने निर्णय गरेका छन् ।
पाख्रिवासमा भएको सर्वदलीय भेलामा सत्ता पक्ष र प्रशासनले अन्याय र जवरस्ती गरे सशक्त प्रतिरोध गर्ने बताएका हुन् । उनीहरुले नगरप्रम्ख वृषबहादुर राईसहितले ओली प्रबृत्ति देखाएका कारण सम्पूर्ण शक्ति लगाएर विरोधमा उत्रने समेत बताएका छन् ।
बिहीबार नगरपालिकाको नगरसभा भइरहेका बेला वडाहरुमा जाने बजेट कटौती गरी नगरप्रमुखले एकलौटी गर्न खोजेको भन्दै स्थानीयले विरोध जनाएका थिए । सोही क्रममा हात हालाहालसमेत भएको थियो ।
नेपाली कांग्रेसका जिल्ला सदसय जयन्द्र घिसिङ, लोकेन्द्र घिसिङ्ग,निलम थापा, गोर्खबहादुर पिठाकोठे, नेकपा माओवादी केन्द्रका अध्यक्ष मुक्ति बजगाई, ओमप्रकाश निरौला, योगेन्द्र निरौला, नेपाली कांग्रेस पाख्रिवास नगर सभापति प्रेम भण्डारी, नेकपा एमाले (नेपाल–खनाल) समुहका अध्यक्ष तथा वडाध्यक्ष सोभित निरौला, जनता समाजवादी पार्टीका डम्बर राई लगायतका नेताहरुले नगर प्रमुख वृषबहादुर राईले संघीयताको मर्म विपरित अलोकतान्त्रिक ढंगले वडाका बजेट व्यापक कटौती र चरम भ्रष्टचार गरेको भण्डारफोर गर्दै जनता समक्ष जाने निर्णय गरेका छन् ।
पाख्रिवास नगरपालिकाका जनप्रतिनिधिहरुले नै गैरजिम्मेवार ढंगले हात हालेपछि स्वभाविक रुपमा प्रतिकार भएको र अब फेरि त्यसलाई प्रतिशोध साँध्नेगरी सरकारी पक्षबाट कुनै कदम चालिए यसको कडा विरोध गर्दै शसक्त प्रतिरोध गर्ने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताउँछन् ।
नेकपा एमाले धनकुटाले शुक्रबार पत्रकार सम्मेलन गरी सो घटनामा संलग्नता रहेका वडा नं. ४ का वडाध्यक्ष सोभित निरौला सहितलाई कारवाहीको दायरामा ल्याउन माग गरेको थियो । साथै नेकपा एमालेले सो कार्यको निन्दा गर्दै कडा प्रतिवाद गर्ने घोषणा गरेको थियो ।
सो लगत्तै आज बिहान पाख्रिबासमा भएको सर्वदलीय बैठकले पाख्रिवास नगर प्रमुख राई लगायतका जनप्रतिनिधिहरुबाट भएको ज्यादत्ति र दुव्र्यवहारको कडा विरोध गर्ने, सत्ता पक्ष र प्रशासनले हस्तक्षेप र दमन गरे सशक्त प्रतिरोध गर्ने निर्णय गरेको छ ।
स्थानीय तहको विरोध
धनकुटाका सात वटै स्थानीय तहहरुले पाख्रिबास नरपालिकामा नगरसभा संचालन भइरहेको समयमा सभाहलभित्र भएको तोडफोडको विरोध जनाएका छन् ।
असार १० गते विहिबार पाख्रिबास नगरपालिकाको हलमा नगरसभा चलिरहेका बेला नगरपालिका तोडफोडमा संलग्नलाई कारवाहीको दायरा ल्याउन पनि सात वटै स्थानीय तहले माग गरेको छ ।
सात वटै स्थानीय तहका प्रमुखहरुले विज्ञप्ती जारी गर्दै यस्ता कार्यको घोर निन्दा एवं भत्र्सना गर्दै संलग्न जो सुकै भए पनि अबिलम्ब कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
प्रतिकृया दिनुहोस