विपतको बेला ‘यसो गर र उसो गर’ भनेर अह्राउने मात्रै हो र ?
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको जीवन रक्षाको लागि गर्नु भएको प्रयास प्रसंशनीय छ । परिणाम कस्तो आउँछ, त्यसको लेखा–जोखा हुँदै गर्ला । तर खोप उपलब्ध गराउन गर्नु भएको प्रयास स्तूत्य छ ।
हालसम्म नेपाली जनताको थोरै प्रतिशत व्यक्तिले मात्र खोप लगाउने सौभाग्य पाएका छन् । इजरायलले कुल जनसंख्याको ५९% प्रतिशत र वेलायतमा ४५% जनताले खोप लगाइसकेका छन् । विश्वमा हालसम्म एक अर्ब ३० करोेड जनताले खोप लगाइसकेको छन् ।
धेरै पहिले प्रधानमन्त्री केपी शर्मा ओलीबाट तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने आशयको अभिव्यक्ति आएको थियो । र पनि हामी खोप उपलब्ध गराउने विषयमा कहाँनिर चुक्यौँ ? लेखाजोखा नभए आउँदा दिनहरु झन कष्टकर हुँदै जानेछन् । शुरुमा कोभिशिल्डको बाँकी १० लाख डोज उपलब्ध हुन नसक्नुका कारणहरुको सूक्ष्मरुपले अध्ययन अुनसन्धान गर्ने हो भने खोप भाइरसको जेनेटिक पत्तो लाग्थ्यो ।
दक्षिण एशियामा भारतपछि खोप लगाउने देश नेपाल नै हो भनेर अहिले पनि कसै–कसैले नाक फुलाउने गरेका छन् । नेपालमा आठ हजार भन्दा बढिले कोरोनाकै कारणले ज्यान गुमाइसके । संक्रमितहरुको संख्या अझैँ ठूलो छ र संक्रमणको गति रोकिएको छैन । जुन अनुपात र आयतनमा संकट उर्लिरहेको छ, त्यससँग मुकाविला गर्ने ताकत र ल्याकत हामीमा देखिएको छैन । दुःखको कुरा यही हो ।
यतिबेलासम्म अत्यन्त द्रुतगतिमा खोप उपलब्ध गराई जनताहरुलाई लगाइसक्नु पर्ने हो । हाम्रा अल्छि, लाछी र अभिव्यक्तिहरुले नेपाली जनतालाई निराश बनाइरहेको छ । निराशाले संकट निम्त्याउँछ । यो निराशालाई जति सक्दो छिटो हटाउन छिटो छिटो खोप उपलब्ध गराई देशव्यापीरुपले सबै उमेर र समूहका व्यक्तिहरुलाई लगाई सुरक्षित गर्नु पर्दछ ।
नेपालको मौसम तथा जलवायु विज्ञान विभागले नेपालको मनसुनको आगमन पूर्व नै यस वर्षको मनसुनले बढि नै खतरा निम्ताउन सक्ने भएकाले विशेष सतर्क राख्नुपर्ने व्यहोरा सार्वजनिक गरिसकेको छ । सरकारसँग सम्भावित खतराहरुको पूर्वानुमान गरी त्यसको पूर्व सतर्कता अपनाउन कुनै पनि प्रयास भएको गरेको देखिँदैन । यससम्बन्धि सरकारी निकायहरु छन् । उनीहरु संकटसँग जोगिने उपायहरु बारे मौन छन् । यस क्षेत्रमा हाम्रो राज्य सन्यन्त्र कमजोर देखिएको छ । सोचे भन्दा बढि र कल्पनै नगरेका संकटहरु आइपर्दा पनि त्यससँग मुकाविला गरी संकटबाट जोगिने बलियो संयन्त्र सरकारले पहिले नै तयार गरिसक्नुुपर्छ । तर, यो बेलासम्म सबै मौन छन् र सुतेका छन् ।
प्राकृतिक प्रकोप, महामारी जस्ता संकटहरुसँग जुध्न सरकारले सबै राष्ट्रिय शक्तिहरुसँग समन्वय गरी एउटा विपत व्यवस्थापन राष्ट्रिय समिति (National Committee for Disaster Manangment) गठन गर्न आवश्यक देखिन्छ । सबै सक्रिय राजनीतिक शक्तिहरु, विज्ञहरु, उद्योगपति, व्यापारी, प्राविधिक समुह, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरु समेत समावेश गरी एउटा यस्तो राष्ट्रिय ताकत ( National force) गठन गरी सक्रिय गराउन सकियो भने जस्तो सुकै प्रकारका प्राकृतिक प्रकोप एवं महामारीहरु जस्ता समस्याहरुसँग सहज रुपले मुकाविला गर्न सकिन्छ ।
समस्या परेपछि सरकारसँग मात्र आसा गर्ने गर्छौ । अरु बेला सबै शक्तिहरु तमासे बन्ने वा ‘यसो गर, उसो गर’ भन्ने ओदश र उपदेश दिने काम मात्रै गर्छौ । यो विपतको बेला ‘यसो गर र उसो गर’ भनेर अह्राउने बेला होइन । सरकार इतर शक्तिहरुले संकटको घडीमा बक्तव्य निकालेर मात्र जिम्मेवारी पूरा हुँदैन । मैदानमा आफु पनि उत्रिनुपर्छ । संकटसँग लड्ने काम सरकारको मात्र होइन, सबै नेपालीहरुको उत्तिकै नैतिक दायीत्व हो । तर, यो बेला सबै दायीत्व सरकारको हो भनेर हामी पन्छिएका छौं । यसले हामीलाई फाईदा गराउँदैन । त्यसका लागि हामी सबै शक्ति मिलेर संकट समाधान तर्फ लागौं ।
प्रतिकृया दिनुहोस