‘बादल’ लाई भोट बर्साउन ओलीको कडा निर्देशन

पार्टी निर्णयविरुद्ध गएर मतदान गरे क्षम्य नहुने चेतावनी, यस्तो छ ओलीको अपिल

Consultation meeting pm kp sharma oli

काठमाडौं । वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचन नजिकिँदै गर्दा फेरि नेकपा एमालेभित्रको विवाद चर्किन थालेको छ । नेकपा एमालेभित्रको आन्तरिक द्धन्द्धका कारण भोली हुने मतदानमा मतदाताहरुसमेत अलमलमा परेका छन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् ।

वागमतीमा राष्ट्रियसभाको उपनिर्वाचन भोली हुँदैछ । चुनाव हुने अघिल्लो दिन अध्यक्ष ओलीले पार्टीभित्र नै विवाद रहेको स्वीकार गर्दै यस्तो अपील गरेका हुन् । यलिे पनि एमालेभित्रको विवाद भुसको आगो झैं सल्किरहेको प्रष्ट हुन्छ ।

मंगलबार मात्रै माधवकुमार नेपालको घर पुगेर रामबहादुर थापा ‘बादल’ आफुलाई सहयोग गर्न अनुरोध गरेका थिए । तर नेपालले भने डा. खिमलाल भट्टराईले आफैंले उम्मेदवार बनाएकाले सहयोग गर्न नसकिने बताएका थिए । त्यसकै आधारमा मत क्रस हुने देखेर ओलीले यस्तो निर्देशन दिएका हुन् ।

‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु’, ओलीले अपीलमा भनेका छन् ।

प्रधानमन्त्री समेत रहेका ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौँ जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय एमाले पार्टीमा कल्पना बाहिरको कुरा रहेको बताएका छन् । उनले एमाले भएर एमाले उम्मेदवारलाई मत नदिने विषय क्षमायोग्य नहुने चेतावनी पनि दिएका छन् ।

‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्’, ओलीले चेतावनीको शैलीमा भनेका छन् ।

ओलीले एमालेको आधिकारिक उम्मेदवारलाई मत नदिए क्षमा गर्न नसकिने चेतावनी दिएका हुन् । ‘हामी सबै जनप्रतिनिधिहरु पार्टीका तर्फबाट उम्मेदवार बनेका हौँ। पार्टीका सयौँ कार्यकर्ताहरु र हजारौँ मतदाताहरुको अमूल्य मतबाट विजयी बनेर यस जिम्मेवारीमा आएका हौँ । निर्वाचन अभियानका क्रममा र विजयपछि पार्टी घोषणापत्रमा उल्लेख गरिएका विषयहरु जसरी पनि पूरा गरी छाड्ने छौँ भनेर हामीले जनतामाझ प्रतिवद्धता गरेका छौंँ । हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टीे हित विपरित काम नगर्ने सपथ लिई आएका छौँ । आफ्नै शपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने बिन्दूमा पुग्छौँ ? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन’, ओलीले भनेका छन् ।

‍’प्रत्येक चुनौतीपूर्ण घडीमा हामीले आफूलाई उम्मेद्वार बनाउने पार्टीको निर्देशनलाई पालना गर्नु, आफूलाई जिताउन अहोरात्र खट्ने कार्यकर्ताको भावनालाई सम्मान गर्नु र जनतामाँझ आफूले गरेका वाचाहरुप्रति हमेशा वफादार रहनु हामी सबैको कर्तव्य हो’, ओलीले भनेका छन् ।

उनले अग्रजहरुले अत्यन्त कष्टका साथ जन्माएको, हुर्काएको र जनताको माया एवम् विश्वासका जगमा यस बिन्दुसम्म आइपुगेको पार्टीलाई विभिन्न समयमा विभिन्न कोणहरुबाट कमजोर पार्ने प्रयासहरु पनि हुँदै आएका बताएका छन् । ती सबै प्रयासलाई चिर्दै अहिले पार्टीभित्र देखापरेका समस्याको समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन कार्यदल बनेर काम समेत सुरु भइसकेको ओलीले बताएका छन् ।

‘यस निर्वाचनमा हाम्रो एकताबद्ध सङ्कल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्‍याउने छ। अतः यस निर्वाचनमा पार्टीका उम्मेद्वार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु’, ओलीले भनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...