‘गण्डकी प्रदेश : विवादित पृष्ठभूमिका मनाङ्गेको प्रवेश, ओराली लागेको हरिणको चाल भो...’
काठमाडौं । बढ्दो कोरोना संक्रमणका कारण ठाउँठाउँमा निषेधाज्ञा भइरहेका बेला गण्डकी प्रदेशको राजनीति भने निक्कै तातिएको छ । नेकपा एमालेले गण्डकी प्रदेशमा सरकार टिकाउनकै लागि विवादित पृष्ठभूमिका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई विहीबार युवा तथा खेलकूद मन्त्री बनाएको छ ।
मनाङबाट निर्वाचित सांसद मनाङ्गे स्वतन्त्र सांसद हो । सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो । माओवादी केन्द्रका मन्त्री फिर्ता भएपछि गण्डकीमा दुईवटा मन्त्रालय खाली छ ।
गण्डकी प्रदेशमा सरकार टिकाउन मनाङ्गेलाई मन्त्री बनाए पनि बहुमत नपुग्ने पक्कापक्की छ । गण्डकी प्रदेशमा माधव नेपाल पक्षका सांसद एकजना मात्रै छन् । अविश्वासको प्रस्तावमा मतदान हुँदा नेपाल पक्षका सांसदले फ्लोर क्रस गरे भने सरकार ढल्ने लगभग निश्चित जस्तै छ ।
६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका ३ र जसपाका २ गरी ३१ सीट पुग्छ । चारवटै दलले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताइसकेका छन् ।
दीपक मनाङ्गेलाई समेत जोड्दा एमालेसँग २८ मत मात्र छ । बराबरी भएको अवस्थामा निर्णायक मत दिन पाउने सभामुख पनि माओवादीकै छन् ।
अस्पतालमा रहेका सांसद शाहीले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् । जनमोर्चाका नेताहरुले आफ्ना सांसद पार्टीको अनुशासनप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
प्रदेश सरकारको बहिर्गमन निश्चित भएका बेला अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएको राष्ट्रिय जनमोर्चाका एक सांसद खिमविक्रम शाही एकाएक वेपत्ता भए ।
शाही वेपत्ता भएपछि प्रदेशमा ठूलो हल्लाखल्ला भयो । अनेक आशंकाबाजी भए । संसद बैठक नै अनिश्चितकालका लागि स्थगित गरियो । अनि शाहीको खोजीमा पार्टी सांसदहरु लागे ।
‘शाही भर्ना भएको अस्पताल प्रशासनले जनमोर्चाकै प्रतिनिधिलाई समेत शाहीसँग भेट गर्न दिएन । सांसद शाहीसँग भेट गर्न नदिएपछि अनेक थप आशंकाहरु पैदा भए’ पार्टी अध्यक्ष चित्रबहादुर केसीले निशान न्युजसँग भने, ‘त्यो घटनाको पार्टीले छानविन गर्छ, त्यसै छोड्दैन । छानविनको प्रक्रिया अघि बढिसकेको छ । छानविन गरेर सत्यतथ्य नेपाली जनतालाई बताउँछ ।’
सांसद शाही कसरी पार्टीको सम्पर्कमा आए त ? के उनी बिरामी नै भएका हुन् या कुनै नाटक मञ्चन गरियो ? आम मानिसले शंका गरेजस्तो सांसद किनबेचमा राजमो पनि मुछिएको त होइन ? यस्ता यावत प्रश्नहरु जन्मिएका छन् । तर, जनमोर्चाले छानविन गरिरहेको र स्वयं शाहीले समेत विज्ञप्ती निकालेर पार्टीको निर्देशन विपरित नजाने बताएपछि गण्डकी प्रदेशमा आफ्नो सत्ता टिकाउन पृथ्वी सब्बा गुरुङले जतिसुकै कोशिस गरे पनि त्यो ‘वालुवामा पानी हाले’ सरह हुने देखिएको छ ।
प्रतिकृया दिनुहोस