‘माफ गर्नुहाेला, त्यसैले दशैंको शुभकामना दिन सकिएनँ’

Dipak pariyar final

घटना १- अस्तीकाे फूलपाती । घर अगाडिकाे चाैरमा राँगाे ढालिँदै थियाे । ७-८ चाेटी फलामकाे घनले टाउकाेमा ठाेकेपछि बल्ल ढल्याे । घन हान्नेमा गन्धर्व, मगर र नेवार जातका थिए । जब राँगाे पाेल्ने बेला भयाे, गन्धर्व युवा तर्किए । बास्तवमा त्याे राँगाे खाेजेर ल्याउने उनै थिए । तर आफू राँगाे काट्न तम्सिँदा मासु नबिक्ने चिन्ता उनलाई थियाे । तिनै मगर र नेवारले मासु काटेर बिलाे लगाए ।

घटना २- गतवर्ष दसैं अघि मेराे बुबाआमा, एक मगर र एक बाहुन परिवार सँगै मुक्तिनाथ पुगे । फर्किँदा सबै मिलेर मुस्ताङबाट च्यांग्रा किनेर ल्याए । मलाई के थाहा थियाे भने त्याे च्यांग्रा काट्न हाम्राे परिवारलाई सामेल गराइने छैन । मैले घरमा भनेकाे थिए- काट्न बाेलाएनन् भने मासु नै नल्याउनु । भयाे त्यस्तै, च्यांग्रा काट्न बाेलाइएन । म घरमा थिइनँ । बुबाले मासु ल्याउनुभएछ ।

यी प्रतिनिधि घटना हुन् । दलित समुदाय हरेक पल यसरी नै अपमानित भएर बाँचिरहेछन् । चाडबाडमा झन् यस्ताे अपमानकाे उच्चतम रूप देखिन्छ । दसैंमा दमाईंलाई पुच्छर दिइनु, दमाईं र गन्धर्वले घरघर पुगेर सेवा लगाउनु, सेवा लगाएवापत् आँगनतिरै राखेर 'दान' दिनु, मन्दिर प्रवेश नदिइनु, सामूहिक पूजामा दलितकाे भेटी नलिइनु लगायत विभेदकै रूप हुन् । याे वर्गीय मात्रै भन्ने हाे भने गाउँमा एक घर गरिब बाहुन र अरू धनी दलित छन् भने गरिब बाहुनले टाेल थर्काएकाे देखिन्छ ।

म त भन्छु, दलितले आफ्नाे पेशा छाेड्नुपर्छ । कसैले 'लाै दलितकाे परम्परागत पेशा नयाँ पुस्ताले छाेडे' भनेकाे सुन्दा मेराे कन्पारो तात्छ । हाम्रै पत्रकार साथीले यसरी लेखेकाे देख्दा उदेक लाग्छ । गन्धर्वले सधैं घरघर गएर सारंगी बजाउँदै माग्नै पर्ने ? सार्कीले सधैं जुत्ता सिलाइरहनुपर्ने ? कामीले सधैं घन ठटाइरहनुपर्ने ? दमाईंले सधैं बाजा बजाइरहनुपर्ने ? डाक्टर, इन्जिनियर, शिक्षक, कर्मचारी, सेना, प्रहरी चाँहि 'उच्च जात' भन्नेहरू मात्रै हुनुपर्ने ! पेशालाई आधुनिकीकरण गरेर व्यावसायिक रूप दिए जसले गरे पनि हुन्छ ।

'मलाई दलित भएकाेमा गर्व लाग्छ' भन्नेहरूसँग पनि मेराे घाेर विमति छ । अरूले 'दास' काे रूपमा लादेकाे जात माथि केकाे गर्व ? क्षत्री, बाहुन पाे जात व्यवस्थाकाे उच्च स्थानमा छन्, जातीय दलनमा परेका छैनन्, संरचनागत लाभ लिन पाएका छन् र छाती फुलाएर 'म क्षत्री, म बाहुन, म फलानाे जातकाे भन्छन् । दलितलाई केकाे गर्व ?

याे चाडबाडमा नमिठाे कुरा नगराैं भने पनि परिस्थिति त्यस्तै छ । समाज बिथाेलिए बिथाेलियाेस्, हाम्राे दिमागबाट उँचाे/निचाेकाे साेच बिथाेलिनु जरूरी छ । अपमानकाे बाेझले थिचिएर सँस्कृति बचाउनै पर्छ भन्ने छैन । मान्छेलाई मान्छे नभन्ने सँस्कृति ध्वंस भएकै राम्राे । त्यसैले, माफ गर्नुहाेला, दसैंकाे शुभकामना दिन सकिएनँ ।

(परियार राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज हुन् )

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...