‘हाम्रो लागि बुबाले लगाउनुभएको संघर्षका डोबहरु अझैं पुरिएका छैैनन्’

Sushila lohani final

बुबा आफैँमा गर्विलो शब्द हो । जब सन्तानको साथमा बुबा हुन्छन् तब सन्तानमा छुट्टै साहस र उत्साह हुन्छ । बुबा जहिल्यै खास लाग्छ । जसको रीसमा स्नेह र गालीमा आफ्नोपन हुन्छ, उहाँलाई नै बुबा भनिन्छ । सन्तानको लागि बुबा बाध्यताको पहाड हो । बुबाले कुल्चिनु भएको रहरहरु र ढाँकेका बाध्यताहरु जहिल्यै सहनशिल हुन्छन् ।

बुबाले लुकाएका दबाब र पिडाहरु सन्तानको लागि सहानुभूति जस्तै हो । बुबाको आँखाका दुःखहरु, बुबाले थकानको सुस्केरामा लुकाएका सपनाहरु सन्तानको लागि अदभूत पाठशाला हो । बाबु घरका जग हो । जग बिनाको घरको कल्पना पनि गर्न सकिदैन । आफ्ना सन्तानका लागि कहिले घोडा बन्छन् त कहिले भरिया बनिदिन्छन् । त्यसैमा आफू खुशी भएको महसुश गर्छन् ।

सन्तानको लागि आफ्नो रहरहरु बाँधेर बसेका बुबा जब आफ्नो छोराछोरीले सफलता हाँसिल गर्छन् तब मात्रै आफ्नो इच्छा चाहना पूरा गरेको ठान्दछन् । हरेक छोराछोरीको सफलतामा बाबूआमा नै अगाडी हुन्छन् । सन्तानले हिडेको बाटोलाई असल बाटो तर्फ डोर्याउने पनि बुबा नै हुन् । आफ्नो थकान र पीडालाई सन्तानको सुखमा बिसाउने एक मात्र पात्र हुन् बुबा । जसमा कहिल्यै थकान देखिँदैन । हो यसकै एक पात्र हुन मेरो बुबा ।

जीवित बुवाको हकमा त झन् कुशे औसी वा बुवाको मुख हेर्ने दिनले हिन्दु परम्परामा बिशेष अर्थ, औचित्य र तात्पर्य राख्छ । वर्षभरी हेय दृष्टिले हेर्ने वा विभिन्न बहानामा वास्ता नगर्ने अनि कुशे औसीको दिन भने विभिन्न माध्यमद्वारा समाजको सामु आखामा छारो हाल्ने नकच्चरो, कृतिम र ढोंगी कार्य भने कदापि गर्नुहुदैन । यस्तो गर्दा व्यक्ति स्वयमले आफुलाई ढाटेको, छलेको हुन्छ नै ।

यसको अलावा आफ्नो सिंगो परिवार र समाजलाई समेत गुमराहमा पारिरहेको हुन्छ । अझ निश्चित टोल, छिमेक, समुदाय, वर्ग, पेशा, समाज र रास्ट्रकै प्रतिनिधि ठानिने व्यक्तिले त झन् यस्ता काम गर्नुहुँदैन । जेहोस कोहि कसैले बुवाप्रति कुनै किसिमको व्यवहार या दुव्र्यवहार गर्नु अगाडी र गर्ने बेला आफुले आफ्नो सन्तानलाई कसरि आत्मिकरुपमा माया गरिरहेको छ, त्यहिअनुसार आफ्नो बुवाले पनि आफुलाई गर्नु भएको छ भन्ने सम्झिनुपर्छ ।

शास्त्रमा बुबाको महत्व
यो सांस्कृतिक विशेषता विस्तारै नेपालको गौरव बनेर विश्वभरी फैलिँदै गएको यथार्थलाई विश्वले स्वीकार गरेको छ । शुरुमा नेपालमा पनि नेवार समुदायमा रहेको यो संस्कृति विस्तारै सबै समुदाय हुँदै विश्वमा पुग्नु राम्रो संस्कृतिलाई सबैले स्वीकार गर्छन् भन्ने सकारात्मक तथ्यको प्रमाणित सन्देश हो ।

पितासम्मान दिवस मूलतः मूलको सम्झनाको दिवस हो । कसैले पनि वर्षमा मात्र एक दिन आमा बाबुको सम्झना गर्ने र अरु दिन वास्ता नगर्ने भन्ने कदापि होइन । एउटा सन्देशात्मक विशेषतालाई महत्व दिएको हो यो बाबुको मुख हेर्ने त्यस्तै आमाको मुख हेर्ने दिनले ।

सनातन हिन्दु दर्शन र परम्परामा केहि तिथिहरू बिशेष प्रकृति र महत्वका छन् । त्यसमध्य पूर्णिमा र औसी पनि हुन् । औसीहरु मध्य कुशे औसी एक बिशेष र महत्वपूर्ण तिथि हो। यो पुर्बिय सनातन हिन्दु परम्पराअनुसार भाद्र महिनाको कृष्ण औसी तिथिका दिन पर्छ ।

यो दिन पछिल्लो चरणमा बुवाको मुख हेर्ने दिनको रुपमा पनि प्रख्यात छ । यस दिन सु–सन्तानहरुले (छोरा–छोरीहरुले) आ–आफ्ना जीवित बुवालाई विभिन्न तौर–तरिकाबाट आफ्नो बुद्धि, बर्कत र गच्छे आदि अनुसार बिशेष मान र सम्मान गर्छन् ।

प्रसन्न बनाउँछन र बुवाबाट आशिर्वाद प्राप्त गर्छन् । बुवा नहुनेहरुले भने विभिन्न पवित्र स्थानहरुमा गई मृतक बुवाको नाममा श्राद्ध, तर्पण गरी यथासक्य सिदा लगायत अन्य दान गर्छन् । कथंकदाचित नजिकमा धार्मिक पवित्रस्थल नभए या नपाइए वा पायक नपरे आ–आफ्ना कुल परम्परा प्रचलन र रीति अनुसार नजिकको पधेरा, पोखरी, धारा आदिमा गइ वा घरैमा बिहानै स्नान गरि बुवाको श्राद कर्म गर्छन् ।

संघर्षमय बुबाको जिन्दगी
सघर्षबाट कहिल्यै नथाक्ने मेरो बुबा उमेरले ६० वर्ष पार गरिसक्नु भएको छ । तर पनि उतिक्कै संघर्षरत हुनुहुन्छ । एक दिनभर रटिएर काम गर्न नसक्ने हामी हाम्रो बुबा दिनभर पसिना चुहाएर काम गर्दा पनि कहिल्यै थकाइ महसुस गरेका थाहा छैन । एकछिन आफुलाई फुर्सदिलो नराख्ने मेरो बुबाको त्यो मेहनत केवल हामी छोराछोरीकै लागि हो । आफु जस्तै मेहनती र लगनशिल छोराछोरी बनाउन चाहने मेरो बुबा अझैं हाम्रो भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ ।

हाम्रो लागि बुबाले लगाउनुभएको सघर्षका डोबहरु अझैं पुरिएका छैैनन् । ‘एउटा बुबा सयौ शिक्षकभन्दा महान हुन्छन्’ भने जस्तै मेरो पहिलो गुरु भनेको पनि बुबा नै हो । हक्की स्वभाव कडा बोल्ने बुबाको बानीले हामीलाई कहिल्यै उपध्रो गर्न सिकाएन । धेरै छोराछोरी भएको हाम्रो परिवार एउटा बुबाको कमाइले पालिन समस्या नै थियो । तर त्यो अभाव कहिल्यै देखानुभएन मेरो बुबाले । शिक्षा दिक्षामा पनि समाजका अन्य परिवार भन्दा कम राख्नु भएन ।

हाम्रो अभावलाई सधैं पूर्ण बनाउने मेरो बुबा अझैं पनि नयाँ कपडा लगाउन डराउनुहुन्छ । नयाँ चप्पल फेर्न डराउनुहुन्छ । सायद यो डर सन्तानकै रहर पूरा गर्न लागि भएर होला, सधैं मेहनत र संघर्षबाट टाढा रहन सक्नु भएको छैन । अनेक अपजस र अपमान पनि चुपचाप सहेर हामीलाई खुसी दिने मेरो बुबा आमाको असल साथी मात्र होइन, सृष्टिको पहरेदार पनि हुनुहुन्छ ।

बुवा, पिता अनेक शब्द । तर एकै रुपमा हो । रक्षक, पालनकर्ता, जन्म र कर्म दिने व्यक्ति र संसार चिनाउने मेरो बुबा समाजकै मान्य गन्यमा पर्नुहुन्छ । मेरो बुबा घरको मात्रै नभएर समाजकै अभिभावकमा पर्नुहुन्छ । निडर, प्रखर व्यक्तिको रुपमा रहेर समाजको उन्नति प्रगति चाहने मेरो बुबा सिंगो समाजको मध्यस्तकर्ता भन्दा फरक नपर्ला । आफुजस्तै लगनशिल बनाउने चाहने मेरो बुबाले हामीलाई माया र संरक्षण मात्रै होइन सघर्ष गर्न पनि सिकाउनुभएको छ । मेरो बुबा घरको मात्र होइन, मेरो जीवनको पनि हिरो हो । त्यसैले त बुबाले चुहाएको पसिना हातभरी अञ्जुलीमा लिएर भन्न मन छ बुबा तपाईको पसिना खेर जान दिन्नँ ।

वर्षौदेखि फाँटेका मेरो बा को कमिज फेर्न सकुँ
सन्तानकै लागि साँचेका मेरो बा को सपना फेर्न सकुँ ।

सधै आधा आधार खाएर आधा रहेको पेट भर्न सकुँ
सुनि रहुँ जस्तै लाग्ने मेरो बाको बोली किन्न सकुँ ।

कहिल्यै रोग नलाग्ने औषधीको गोली किन्न सकुँ
वर्षौदेखि फाँटेका मेरो बा को कमिज फेर्न सकुँ ।

पिताप्रति समर्पित यस दिनको रोचक इतिहास छ । डेली अमेरिकाका रिर्पोट अनुसार वाशिङ्टनका सोनोरा स्मार्टा डोड यस दिनको जन्मदाता हुन् । उनले आमाको दिवस बारेमा थाहा पाए र सोचे बाबुको पनि एक दिवस मनाउनु पर्छ । सोनारा पिता विलीयमले श्रीमतीको निधन भएपछि अर्को विवाह नगरी परिवारको हेरविचार गरेर बसेका थिए । सोनाराले आफ्ना पितालाई मुटुदेखिको धन्यवाद दिन खोजेका थिए । तर उपयुक्त अवसर पाएका थिएनन् । सन् १९१० जुन महिनाको तेस्रो आइतबार दिन बाबु दिवस मनाउन थाले तर अमेरीकामा यस दिनमा छुट्टी दिए पनि बाबु दिवसलाई आधिकारीक अवकासको दिन बन्न भने धेरै समय लागेको थियो ।

समष्टिमा आमा–बाबुप्रति सन्तानबाट सधैं हुनपर्ने सेवा, सत्कार, सद्भाव, आदर–सम्मानको कर्तव्यबोध मातृ र पितृ दर्शन आमावश्याले दिँदै आएको छ । यी दिनमा गरिने मातृश्रद्धा तथा पितृश्रद्धाको भाव सदासर्वदा अक्षुण राख्नसक्नु सत्पुत्रपुत्रीहरूको दायित्व हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय