चारैतिर वामपन्थी सरकारले धुलो उडाएको छ, हामी के गर्ने ?
२०४६ को परिवर्तनपछि नेपाली राजनीतिमा स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो जेठो पार्टी हो । नेपाली कांग्रेस र वामपन्थीहरुको विचारले अन्ततः मुलुकलाई सुखी र समृद्ध बनाउन नसक्ने ठहर गर्दै स्व.सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एकैदिन स्थापना भएको दुई राप्रपा टुट्दै, फुट्दै फेरि जुट्दै विभिन्न कालखण्डमा मुलुकको नेतृत्व गर्दै आजको अवस्थामा आइपुगेको छ ।
कुनै दिनको सर्वशक्तिमान राप्रपा आज यो हालतमा कसरी पुग्यो ? समिक्षा गर्ने समय आएको छ । पार्टीले धेरैलाई नेता बनायो, परिचय दिलाई दियो । लाभको पद दियो । पार्टीलाई धेरैले प्रयोग गरे । तर आज पार्टी थलिएको छ ।
हिजो लाभ लिनेहरु धमाधम पार्टी छोड्दै छन् । किन नेतृत्व वर्ग मै पलायनवादी चिन्तन आयो ? कार्यकर्तामा किन निरासा छाएको छ ? विष्लेषण गर्ने की नगर्ने ? नेतृत्वले पछाडि फर्केर हेर्ने कि नहेर्ने ? नेपाली जनता तथा तमाम कार्यकर्ताहरुको चाहना र भावनालाई सम्बोधन गरेर पुनस्थापित हुने कि नहुने ?
नेतृत्वको आफु केन्द्रीत सोच र चिन्तनलाई के चुनौती दिने समय आएको हो ? यावत प्रश्नहरु उठेका छन् । जुन स्वभाविक पनि हो । जनता राप्रपाको पक्षमा छन्, राप्रपाले लिएको विचारको समर्थनमा छन् । त्यही भएर एकाध व्यक्ति वा नेताले पार्टी छोड्दैमा राप्रपा सकिएको छैन । नेपाली राजनीतिको क्षितिजमा फेरि राप्रपालाई स्थापित गराउन सकिन्छ ।
मानव जातिको उच्चतम् आदर्शमा निहीत न्याय, समानता र मानवतामै अडेको नेपालको धर्मसंस्कृति, परम्परा, इतिहास र संस्थागत निरन्तरतालाई सम्वर्धनवादको रुपमा लिइएको छ भने आर्थिक, राजनीतिक, सामाजिक समावेशीता, प्रतिस्पर्धात्मक अर्थतन्त्र तथा शहुलवादी प्रजातन्त्रमा आधारित शसक्तिकरणका संस्थागत आयामहरुलाई प्रगतिशील उदारवादको रुपमा हेरेको छ ।
यो चिन्तनका धारहरुको मिश्रण र संयोजन उदारवादी चिन्तन हो । यो चिन्तन गरिवलाई मुक्ति दिलाउन र भ्रष्टाचार विरुद्धको संघर्ष तथा नयाँ समाज तथा समृद्ध नेपाल निर्माणको आधार हो । बहस र चिन्तनलाई प्रोत्साहन गर्दै मेरो राज्य छ भनी जनता सुरक्षित रहने, कानुनी मात्र नभई अवसरको पनि समानता दिने चिन्तन नै राप्रपाको चिन्तन हो ।
मुलुकको इतिहास, धनी संस्कृति, शदियौंदेखिको धर्मको मानवतावादी दृष्टिकोण यो हाम्रो परिचय हो । बहुमतको शासन, अल्पमतको सम्मान, प्रेस तथा वाक स्वतन्त्रताको प्रत्याभुति, संघ संगठन खोल्न पाउने अधिकार, व्यक्तिको जिउधनको सुरक्षा यो राप्रपाको चिन्तन हो । यो चिन्तनको परिवेसमा एक भएको राप्रपा अब अलमलिन हुँदैन । अब राजनैतिक बजारमा कसरी आफ्नो बलियो उपस्थित देखाउन सकिन्छ ? त्यो अर्जुन दृष्टि हाम्रो चुनौति हो ।
अबको दिन औपचारिकता र मानको खातिर पार्टीमा कसैको पनि उपस्थित को कुनै अर्थ रहने छैन । आरामदायी र सजिलो किसिमले माथि पुगिन्छ वा पुग्न सकिन्छ भन्ने कल्पना गर्नु मुख्र्याइ हुनेछ ।
चारैतिर वामपन्थी सरकारले धुलो उडाएको छ । यो धुलो र कोलाहलको बीचमा हामी के गर्ने ? कहाँ जाने ? भन्ने चिन्ता विलकुल नगरौं । नेपाली जनतामाथि वामपन्थीहरुले गरेका वेइमानी, भ्रष्टाचारको जञ्जाल र लुटको राजनीतिलाई जनताबीच लैजानु हाम्रो दायीत्व हो ।
हामीले लिएको नीति, सिद्धान्त ठीक छ भन्ने सन्देश जनता समक्ष कसरी लान सकिन्छ भन्ने दृष्टि त्यतातिर मात्र केन्द्रत गरौं । चुनौतीपूर्ण आगामी दिन र परिस्थितिसँग नडराई सरकारका क्रियाकलापलाई समर्थन, आलोचना वा सडक संघर्षले सकारात्मक स्थान दिलाउँछ । सहि तरिकाले जनताका विषयलाई सम्बोधन गर्दै अगाडि बढ्ने भने भोली थाम्न नसकिने भीड र समर्थन हुने छ ।
यो वामपन्थी धुलो र बजारको नीरिह प्रतिपक्ष (कांग्रेस) को कार्यशैली हाम्रो लागि परीक्षा पनि हो । यो पार लाउन ऐजेन्डाप्रति दृढ रहेर संगठन निर्माणमा समर्पित हुनु हाम्रो दायित्व हो ।
संसदीय व्यवस्थामा मत विना आफ्नो उपस्थित देखाउन सकिँदैन र आफ्नो उपस्थित देखाउन नसक्ने दलसँग जनताले आशा गर्दैनन् । जनताले आशा नराख्ने दलहरु भनेका मृत प्रायः हुन्छन् । यसैले हिजोको मत परिणाममा अल्मलिनु हुन्न । यो एउट निर्वाचन व्यवस्था र दलको लागि अन्तिम हुनै सक्दैन । यद्यपि गत निर्वाचनको मतलाई समिक्षा चाहीँ गर्नुपर्छ ।
हामी कहाँनिर चुक्यौ त ? नीति, सिद्धान्त, प्रतिवद्दता वा नेता के माथि जनताले प्रश्न उठाएका छन् त ? यसलाई गम्भिर विष्लेषण गर्दै यसको निरुपण गर्दै जाने हो भने राप्रपाको राजनैतिक भविष्य सुरक्षित छ ।
राजा, धर्म, संस्कृति, कुलपरम्परा मान्ने यत्रो वर्गको साथ हामीलाई छ । पञ्चायत व्यवस्थामा काम गरेका बहुदलीय व्यवस्थालाई समेत नेतृत्व दिएका क्षमता र दक्षवान, निष्कलंक नेताहरु एक भएर उभिएका छन् । अब हामी उठन सक्ने कि नसक्ने ?
मानव अधिकार, प्रेस, अख्तियार, अदालतमाथिको नियन्त्रणको प्रयास, आफुभन्दा फरक मत राख्नेलाई निषेधको राजनीतिले व्यवस्थामाथि नै आक्रोस बढ्दो छ । यो परिवेशमा राष्ट्रियताको जगलाई सुदृढ तुल्लाउन, राष्ट्रको मौलिक पहिचानको पर्याय रहिआएको धम संस्कृतिको जगलाई मजवुद बनाउन, राष्ट्र निर्माणमा उल्लेख योगदान दिँदै आएको राजसंस्था पुनस्र्थापना गर्न अब राप्रपाले विलम्ब नगरी आन्दोलनको नेतृत्व गर्नुपर्छ । अब राप्रपाले आन्तरिक मतभेद, कलहलाई पूरै त्याग गर्नुपर्छ । नेतृत्वको छाति कुखुरे हुनुहुँदैन । चौडा र विशाल छाति लिएर तेरो–मेरा नभनी मन खोलेर अगाडि बढ्नुपर्छ । अब घर घुमेर कानभित्र छिर्ने गणेशप्रति नेतृत्व चनाखो हुनुपर्छ ।
नेतृत्वमा पनि छलकपट, जालझेल रहन हुन्नँ । यो इतिहासले दिएको अन्तिम अवसर पनि हो । यसको सदुपयोग गरी राप्रपालाई राष्ट्रिय राजनीतिमा नेतृत्वदायी दलको रुपमा स्थापित गराउन नसके भावी पुस्ताले माफी गर्ने छैन । कसैको जीवनसँग खेलबाड गर्ने कसैलाई पनि अब माफी हुने छैन । यसतर्फ वर्तमान नेतृत्वले ध्यान दिनुपर्छ ।
नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, गौरवशाली इतिहास, राष्ट्रिय चरित्र, कला, संस्कृति, भाषा र भेषको संरक्षणको लागि शिक्षा, स्वास्थ, रोजगारी, यातायात, आवास, पिउने पानी, जिउधनको सुरक्षा, महंगी नियन्त्रण र भ्रष्टाचारको विरुद्ध अबको आन्दोलनको नेतृत्व राप्रपाले गर्नुपर्छ । यसको विकल्प देख्नै हुन्नँ, हेर्नै हुन्नँ र सुन्नै हुन्नँ ।
आन्दोलनलाई नै संगठन निर्माणको मुल आधार बनाउँदै ७७ नै जिल्लामा जिल्लास्तरीय आन्दोलनको सुरुवात गरौं । ततपश्चात् प्रप्त हुने जनसमर्थनको सदुपयोग गर्दै केन्द्रमा हुने आन्दोलनले माथि उल्लेख गरिएका विषयहरु लाइ सम्बोधन तथा पुनःस्थापना गर्न सकिन्छ । तमाम नेता तथा कार्यकर्ता पनि राजनैतिक रुपले सुरक्षित रहन्छ । आउँदो दिन नेपाललाई दक्षिण एसियाको चम्किलो ताराको रुपमा संसारलाई चिनाउने अवसर पनि प्राप्त हुनेछ । त्यसका लागि सबै नेतृत्व मिलेर अघि बढ्ने प्रण गर्नुपर्छ ।
प्रतिकृया दिनुहोस