सईबाट इन्स्पेक्टर बढुवामा चलखेल : बरियता मिचेर मन्त्री र सचिवका बडीगार्ड हाबी
नेपाल प्रहरीले शुक्रबार ७३ प्रहरी नायव निरीक्षक (सई)लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा गरेको छ । आइजीपी ठाकुर ज्ञवालीले अडान लिन नसकेकै कारण बरिष्ठता र कार्यसम्पादनको आधारमा भन्दा पनि भीभीआइपीदेखि भीआइपीहरुको सुरक्षामा खटिएका पीएसओहरु बढुवामा परेको गुनासो प्रहरीमा छ । प्रहरीको बढुवामा संगठन प्रमुखले मूल्यांकन गरी बढुवा गर्ने परिपाटी स्थापित गर्न नसकेको र राजनीतिक हस्तक्षेप बढाएको आरोप आइजीपी ज्ञवालीमाथि लागेको छ । बरिष्ठ सईहरुलाई इन्स्पेक्टर बढुवा नगरी पहुँच हुने भीआइपीहरुका बडीगार्डहरुलाई मात्र गरिएको छ ।
उनीहरुलाई प्रहरी नियमावली २०७१ अनुसार बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एआईजी शैलेश थापा सदस्य सचिव रहेको बढुवा समितिले गृहमन्त्री र गृहसचिबका जुनियर पिएसओहरुलाई सिफारिस गरेर सिनियर सईहरुको मानमर्दन गरेको छ । ज्ञवालीपछि आईजीपीका समेत दाबेदार रहेका शैलेश थापा अन्तिम समयमा आएर गृहमन्त्रालयसंग चिढिन चाहेका छैनन् त्यसैले उनि जसो भन्यो उसै सहिछाप लगाउदै आएका छन् । छोटो समयका लागि आईजीपी बनेका ज्ञवालीले आफ्नो पदीय मर्यादा कायम राख्न नसकेको आरोप लाग्ने गरेको छ । उनि हरेक पटकको सरुवा र बढुवामा विवादमा पर्दै आएका छन् ।
बढुवा सिफारिसमा २०६० र २०६१ सालमा सई बनेका झन्डै ५० जना छुटेका छन् भने २०६२ मा सई बनेका ८ जनालाई राजनीतिक दबाबमा इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ । जसका कारण प्रहरीमा ठूलो असन्तुष्टि छाएको छ । इन्स्पेक्टर बढुवा सिफारिसमा गृहमन्त्री रामबहादुर थापाका पीएसओ राजनप्रसाद तिमिल्सिना र गृहसचिवका पिएसओ महेश केसी पर्न सफल भएका छन् । दुबै जना २०६२ भदौमा सईमा बढुवा भएका थिए । त्यसैगरी २०६२ कै सईहरु शरण महर्जन, हरि भट्टराई, उत्तमसिंह भण्डारी, टुपेन्द्र श्रेष्ठ, बबिन्द्र नेम्वाङ र टंकवहादुर श्रेष्ठको नाम पनि इन्स्पेक्टर बढुवामा सिफारिस भएको छ । आइजीपी ज्ञवालीका सचिवालयको घुमुवा रमेशप्रसाद तिमिल्सिना पनि इन्स्पेक्टर बढुवामा परेका छन् । एसपी भूपेन्द्र खत्री आइजीपी सचिवालयमा आएपछि उनलाई घुमुवा बनाएर परिचालन गरेका छन् ।
स्रोतका अनुसार शरण महर्जनको बढुवाका लागि बालुवाटारबाट प्रधानमन्त्रीका सल्लाहाकार राजेश ब्रजाचार्यको दबाब परेको थियो भने लोकमानसिंह कार्कीका पूर्व पिएसओ रहेका उत्तमसिंह भण्डारी पनि बढुवा सिफारिसमा पर्न सफल भएका छन् । बढुवा सिफारिसमा कतिपय कारवाही भोगेकाहरु पनि पर्न सफल भएका छन् । इन्स्पेक्टर बढुवा सिफारिसमा राम्रो काम गर्ने र पुरस्कार पाएकाहरु छुटेका छन् ।
प्रहरी नियमावली २०७१ ले कार्यसम्पादन मूल्याङ्कनलाई बढुवाको आधार बनाएको छ । तर, नियमावलीले बढुवामा चलखेल गर्ने आधार पनि दिएको छ । एक सय नम्बरमध्ये ४० नम्बर कार्यसम्पादन मूल्याङ्कन, २० नम्बर ज्येष्ठता, ८ नम्बर भौगोलिक क्षेत्रमा काम गरेको अनभुव, १० नम्बर शैक्षिक योग्यता, ७.५ नम्बर शारीरिक व्यायाम तथा खेलकुद तथा २ नम्बर सरकारले प्रदान गरेको विभूषणको आधारमा दिइन्छ, जून नम्बरमा खासै चलखेल हुँदैन । बाँकी साढे १२ नम्बरमध्ये ७.५ नम्बर दिने अधिकार बढुवा सिफारिस समितिलाई हुन्छ भने ५ नम्बर चुनौतीपूर्ण काम गरेबापत प्रहरी महानिरीक्षकले दिन्छन् । यही १२.५ नम्बरमा चलखेल हुने गरेको छ ।
प्रतिकृया दिनुहोस