हाम्रा कम्युनिष्ट नेताहरूलाई रूकुम घटनाले पोल्छ कि पोल्दैन ?

Gs smith 2 15

संसारमा कुनै त्यस्तो प्राणी छैन, जहाँ सजातिले सजातिलाई मारोस् । कुकुरले कुकुरलाई, बाघले बाघलाई मारेको कुनै तथ्यांक छैन, सामान्य झगडाबाहेक । मान्छे त्यस्तो प्राणी हो, जसले मान्छेले मान्छेलाई मार्छ या हत्या गर्छ । सायद त्यही हत्या गर्नलाई होला कथित समाजले मान्छेभित्र पनि जात र विजात छुट्याएको । मध्य युगीन समाजमा हत्या र हिंसाका शृंखला तीव्र थिए । तर त्यसबेला जातीय विभेद थिएन । त्यसको निरन्तरता आधुनिक समाजको विश्वयुद्धसम्म सांगठनिक रूपमा हावी भयो । तथापि अहिले हुँदै नभएको होइन ।

आज समाज मानवीय मूल्यको सम्मान गर्दै आफ्ना खुसी र स्वतन्त्रता विरोधी हरेक कुरा त्याग्ने युगमा प्रवेश गरिसकेको छ । समाज आज जात, धर्म, सम्प्रदाय र राजनैतिक विचारधारालाई मात्र होइन, कतिपय अवस्थामा देशलाई समेत स्ततन्त्रताको विरोधी ठानी अन्तर्राष्ट्रवादी भातृत्वको भावना विकासको दिशामा अघि बढिरहेको छ ।

मानवीय खुशी र स्वतन्त्रता स्खलन गर्ने हरेक कुराको साथ र समर्थनलाई छोडी मानवीय मूल्यको स्थापना गर्न र केवल मानव जातिको मात्र कल्याण गर्न आतुर भइरहेको छ । विश्व समुदायको चरम मानसिक र भावनात्मक विकासको यस घडीमा नेपालमा अन्तरजातीय प्रेमकै कारणले कसैको हत्या हनु भनेको सिंगो मानवीय सभ्यता र मानव जातिमाथि जबर्जस्त हमला हो । यो जातीय अतिवादीताको पराकाष्ठा हो । नेपाली समाज मानवताविहीन अति खोक्रो देखिन थालेको छ । र, विश्व मानव समुदायमा हामी कहाँ छौँ भन्ने पुष्टि पनि भएको छ ।

गत शनिबार बेलुकी नवराज विश्वकर्मा साथीहरूसहित आफ्नी प्रेमीकालाई लिन प्रेमिकाकै आग्रहमा जाजरकोटबाट रूकुमको चौरजहारी हिँडे । उनकी प्रेमिका सुष्मा मल्लकी आमाले चाल पाएपछि गाउलेहरूलाई गुहारिन् । गाउँलेहरू हातमा खुकुरी, भाला जस्ता घरेलु हतियार ल्याएर आए । नवराजको टिमलाई खेद्न थाले । बाटोमा जे भेटिन्छ, त्यसैले हाने । अन्ततः नवराजलाई ढुङ्गाले किचिकिची मारे । त्यो हत्यारा समूह त्यति मै सीमित भएन । उनीसँग गएका अन्य ५ जनाको विभत्स हत्या गरी भेरी नदीमा बगाइदिए । त्यसमध्यका अझैं १ जना बेपत्ता छन् ।

अन्तरजातीय प्रेमकै कारण भएको यो हत्याले सम्पर्ण नेपाली समाजलाई नै फेरि एक पटक स्तब्ध बनाएको छ । यस प्रवृत्तिको घटना यो पहिलो भने होइन । यसअघि पनि अजित मिजार, संगीता परियार, कृष्णकुमार पासवान, शिवशंकर दास, माया तोलांगीले विजातीय प्रेमकै कारण हत्या हुनुपरेको थियो । पीडितले अहिलेसम्म न्याय पाएका छैनन् । यो जातीय अहंकारले मुलुक र मानवताको धज्जी उडाएको छ भने कानुनी र लोकतान्त्रिक व्यवस्थाको उपहास गरेको छ ।

के प्रेम गर्नु पाप हो ? स्वतन्त्र वर बधु छान्न पाउने अधिकार कसैलाई छैन ? यसलाई अपराध नै ठान्ने हो भने पनि यसको कुनै कानुनी उपचार छैन ? हत्या मात्र निर्विकल्प उपाय हो ? सिंगो गाउँ नै उर्लेर सामूहिक हत्या गर्नु र घटनामा जनप्रतिनिधि वडाध्यक्ष डम्बरबहादुर मल्लको संलग्नताले घटनालाई झन रहस्यमय बनाएको छ । यो नियोजित र योजनावद्ध थियो भन्ने अनुमान लगाउन कुनै गाह्रो छैन । यसरी सिंगो समाज नै मिलेर छ, सात जनाको हत्या गर्नु जत्तिको निन्दनीय र भत्सनीय कार्य कथित जातीय विभेदको नांगो रूप अरू के हुन सक्ला र ? जातीय साम्प्रदायिक हिंसा भड्काएर सामाजिक सदभाव बिथोल्न गरिएका यस्ता प्रयास कसरी पटक पटक नै सफल भएका छन् ।

कथित दलितहरूले विशाल नेपालको एकीकरणदेखि लोकतान्त्रिक गणतन्त्रसम्म नै सामाजिक राजनीतिक रूपान्तरणमा अहम भमिका निभाएकै छन् । आन्दोलन र क्रान्तिमा सबैभन्दा बढी सामेल भएको देखिन्छ । यसको प्रमाण कथित जनयुद्धका सहिद र बेपत्ताको लिस्ट हेरे पुग्छ । सयौँ वर्षदेखि हेपिँदै, चेपिँदै समाजको पिँधमा रहेको यो समूदाय मुक्तिको सपना देख्दै निकै आन्दोलनमा सहभागी भयो । समाजमा न्याय, समानता र शान्तिका लागि भनेर जनयुद्धको सुरूवात भएको थियो । रोल्पा र रूकुम नै जनयुद्धको केन्द्र थिए । जनार्दन शर्मा जनमुक्ति सेनाका कमाण्डर थिए । यही युद्धको केन्द्र भएको व्याजले नै शर्मा लगायत अन्य नेताहरूलाई पटक पटक मन्त्रीमा आसिन बनायो ।

देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो । देश धर्म निरपेक्ष भयो । छुवाछूतमुक्त भयो । विसं २०२० को मुलुकी ऐनदेखि नै कानुनी रूपमा छुवाछूत तथा जातीय विभेदलाई दण्डनीय मान्दै आएको छ । कानुनी रूपमै जातीय विभेदलाई हटाएको ५७ वर्ष भैसक्दा पनि जातीयताकै आधारमा यसरी हत्याका शृंखला बढिरहनुमा के राज्यको जिम्मेवारी हुँदैन ? जातीय कारण देखाएर हत्या हुनुको प्रमुख कारण सरकार हो । किनकि जात व्यव्था अहिले (५७ वर्ष) सम्म जीवन्त राख्न सरकारका अंगहरूले नै साथ दिइरहेका छन् ।

जातीय अहंकारले ग्रस्त हत्याराहरू त गौण कारक मात्र हुन् । मूल कारक र प्रेरक सरकार नै हो । उक्त हत्या राज्य संरक्षित हत्या हो । यो भन्दा पहिले अजित, संगीता लगायतका हत्या काण्डका दोषीले न्याय नपाएकै कारणले हत्याराहरू प्रेरित भएका हुन् । यो स्थिति सिर्जना गर्ने सरकार होइन र ? जातीय विभेद कानुनी रूपमा अन्त्य भएको यतिका वर्षसम्म विभेद विरूद्धको अधिकारको जनतामा प्रत्याभूत नहुनु, जनतालाई महसुससम्म बनाउन नसक्नु राज्यको दोष होइन भन्न मिल्दैन । सत्ता र सरकारले जातीय विरासत तोडेर नागरिकलाई समानता र भातृत्व प्रदर्शन गर्नुपर्नेमा उल्टै मलजल गरी हत्याराई शक्ति र सत्ताका भरमा मैमत्त साँढेलाई झै सडकमा छोडिएको छ ।

हत्याको कारण जे भए पनि कारक भने कानुन निर्माण गर्ने कार्यान्वन नगर्ने राज्य हो । हैसियतका आधारमा काम गर्ने राज्यका अंग हुन् । जात र भातलाई समाई राख्ने जनता पनि हुन् । यसको कलंक सबैलाई लाग्नुपर्छ । यस्तो विभत्स, पासविक र जघण्य हत्याले कसको मन नपोल्ला र ? संसारकै उत्कृष्ट संविधान भनिएको कानुनी राज्य र आफूलाई जातिपाती नमानी अन्तर्राष्ट्रवादी मान्ने कम्युनिष्ट पार्टीको शक्तिशाली सरकार हुँदासमेत यस्तो प्रवृत्ति दोहोरिरहनु, दोहो¥याउन प्रेरित गरिरहनुले झन बढी पोलिरहेको छ । कम्युनिष्ट नेताहरूलाई यस घटनाले पोल्छ कि पोल्दैन खोई ?

नवराज पवित्र प्रेमको खातिर तिम्रो रगत मात्र बगेको छैन, रगतसँगै मानवीय संवेदना र चेतना पनि बगेको छ । भेरीलाई रंग्याउने तिम्रो रगतले, मानव सभ्यातालाई कलुषित बनाएको छ । संसारको सबैभन्दा खतरनाक प्राणी मानिस नै हो भन्ने प्रमाणित भएको छ । मान्छेको प्रमाणपत्र हुने र नहुनेका बीचको झन गहिरो खाडल बनाएको छ। थाहा छैन यो खाडल पूर्ण अझैं कति जनाले बलिदानी दिनुपर्ने हो ? भावपूर्ण श्रद्धाञ्जली ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय