यो बेला कसले कति दियो र कसले कति पायो भन्ने बेला होइन
विश्वव्यापी माहामारी कोरोना भाइरस (कोभिड –१९) बाट सबैभन्दा आक्रान्त बनेको अमेरिकाको न्यूयोर्क सिटी पछिल्लो समय केही सामान्य हुँदै गइरहेको छ । ठूलो संख्यामा रहेका नेपाली समुदायले पनि संकटबाट राहतको अनुभूति गर्दैछन् । योसँगै अब नेपालीलाई कामको चिन्ता पर्न थालेको छ । यो संकटको समयमा समुदायलाई सहयोग गर्ने नेपाली संघ संस्था वा व्यक्ति विषेशको काम प्रशंसायोग्य छ ।
हाम्रो समुदायका सहृदयी दाताहरू महान हुनुहुन्छ, उहाँहरूलाई सधैंभरी यसरी नै दिन पुगिरहोस् । संकटका बेला जो जसले सही विरामी वा असक्त मानिससमक्ष सहयोग पुर्याउनु भयो, उहाँहरूलाई विषेश धन्यवाद । राहत लिन नपर्नेलाई नदिएर तथा वास्तविक पीडितलाई राहत उपलब्ध गराउनु अहिलेको समयमा महान सेवा हो ।
हिजो कुनै दिन थियो, न्यूयोर्कमा बिरामीलाई आवश्यक पर्ने सामान्य औषधि, मास्क एवं सेनिटाईजर किन्न पाइँदैन थियो । यद्यपी ग्रोसरीको अभाव कहिल्यै भएन । न्युयोर्कका सयौं ठाउँबाट सिटीले दिने सुविधाबारे सूचनाहरू विभिन्न पत्रपत्रिका, संघसंस्था एवं प्रतिष्ठित व्यक्तिबाट प्रशारित हुँदै आईरहेको थियो । यसबाट विभिन्न मुलुकबाट अध्ययन गर्न आएका विद्यार्थीहरू सूचित हुन्छन् ।
अझैं यो संकटको बेलामा न्यूयोर्कका गभर्नर र मेयरले दैनिकजसो पत्रकार सम्मेलन गरेर सूचना दिईरहेका हुन्छन् । नेपाली समाजका अधिकांश ब्यक्तिहरू विशेष गरि विद्यार्थीले यी सूचनाहरू सहजै बुझ्न सक्छन् । कुरा कसले कति दियो र कसले कति पायो भनेर रमाउने र दुःखी हुने होईन । दाताले दिएको दानको सही सदुपयोग भएन भने दान दिने, लिने र वितरण गर्ने सबैको प्रयास निरर्थक हुन्छ ।
हामीले सहयोगीले सहयोग गरेका सामाग्री सकेसम्म सही ठाउँमा सदुपयोग गरियो भने दानीहरूको दान निरन्तर हुनसक्छ र उहाँहरूलाई दानी बनाईराख्नु नै हाम्रो महानता हो। जसले भोली आईपर्ने हरेक संकटमा सहयोगको निरन्तरता रहने छ । त्यही सहयोगले हाम्रो समुदायलाई जस्तोसुकै संकटमा पनि बचाउन सकिन्छ ।
केन्द्र सरकार र राज्य सरकारले दिएको राहत वा बेरोजगारीलाई दिने सहयोग तथा विभिन्न कानुनी जटिलता र कोरोनाबाट बच्ने तरीकाको बारेमा हामी सचेत छौं सहजै पाइरहेका छौं । यसरीनै हाम्रो समाजलाई पनि न्यूयोर्क सिटीबाट उपलब्ध गराएको राहतको सूचना किन पुगेन भन्ने हो ।
हाम्रो समाजका केही अगुवा साथीहरूले आफ्नो समाजका अन्य पीडित साथीहरूलाई उक्त सूचनाका आधारमा राहत स्थलमा किन पुर्याइएन भन्ने मुख्य कुरा हो । यसले मेरो मनमा शंका उत्पन्न गराएको छ । हामी मोही माग्ने, अनि ढुग्रो लुकाउने गरिरहेका छौं । न्युयोर्क सिटीले उपलब्ध गराउने खाध्य सहयोगमा कुनै विभेद छैन । यसबारे कसैले सामाजिक सञ्जालमा आक्रोस पोख्नुपर्ने आवश्यकता छैन ।
पछिल्लो पटक शेर्पा केदुकले गरेको सामाग्री वितरणबारे म मुक्तकण्ठले प्रशंसा गर्छु । उक्त खाद्यान्न विरतणमा लिन जाने साथीको माहोल देखेर म छक्क पर्छु । आखिर किन हाम्रा साथीहरू सिटीले वितरण गर्ने ठाउँसम्म पुग्दैनन्, के भाषा नबुझेर हो या बुझेर पनि बुझ पचाएर हो । त्यहाँसम्म पुग्न नसक्नु हाम्रो ठूलो कमजोरी हो । यद्यपी मैले कसैले वितरण गरिएको राहतको विरोध गरेको होइन । यो संकट अझै सकिएको छैन । हामी यसबारेमा बेलैमा संयमित र सचेत भएनौं भने अझै विकराल रूप देखा पर्न सक्छ । कामना गरौं, यस्तो नहोस् ।
मेरो आशय ‘हुलमुलमा जिउ जोगाउने र अनिकालमा बिउ जोगाउने’ भन्ने नै हो । सानोमा पढेको एउटा कथा ‘बाघ आयो, बाघ आयो...’ याद आयो । हो यसरी नै सुरूमा झुक्क्याउने र साच्चीकै समस्यामा पर्दा कसैले नहेर्ने नहोस् । त्यस्तै नियती हाम्रो नेपाली समाज अमेरिकाले भोग्नु नपरोस् भन्ने मेरो चाहाना हो ।
अन्त्यमा, यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमण रोकिएको होईन । केही कम मात्र भएको हो । अहिले न्यूयोर्कमा अत्यावश्यक सामाग्री खरीद गर्न सहज छ । अशक्त वा वास्तविक बिरामी र पीडितलाई सहयोग गर्न सहयोगी हातहरू तयार हुनुहुन्छ । त्यसैले सकेसम्म सिटी र राज्य सरकारले दिएको सामाग्री लिन अभिप्रेरीत गरौं । एउटा माघले जाडो जाँदैन यो बर्सेनी आउँछ । त्यसैले सहयोग लिन नपर्नेले नलिएर र नलिई नहुनेले वास्तविकता नलुकाई लिएमा उत्तम हुने थियो ।
(सुवेदी, तरुण दल अमेरिकामा उपाध्यक्ष हुन् ।)
प्रतिकृया दिनुहोस