कोरोना कहर : सरकारको कामभन्दा धेरै कुरा, कहिले गर्ने पूरा ?
गत डिसेम्बर ३१ मा चीनको बुहानबाट फैलिएको कोरोना भार्ईरस विश्वका २०६ देशहरुमा फैलिएको छ । यदी हामीले कोरोनाबाट सजक भएको भए नेपालमा पनि कोरोनाको यात्रा सफल हुने थिएन । चीनमा कोरोनाले आक्रमण गरेको बेला यता नेपाल आफ्नै सुुरमा थियो । लकडाउन समयमै गरेको भए नेपालमा कोरोना निषेधित देश बन्ने थियो । नेपाल यस्तो देश हो, यहाँ अहिलेसम्म कोरोनाकै कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन । यही अवस्थामा बस्न सक्यौ भने कोरोनाबाट मृत्यु निक्कै दुर्लभ हुनसक्छ ।
मानव स्वास्थ्यकै कुरा गरिरहदाँ मान्छे पूर्णरुपमा स्वस्थ रहन शारीरिक स्वास्थ्य सँगसँगै मानसिक रुपमा स्वस्थ रहनु महत्वपूर्ण हुन्छ । विभिन्न मनोसामाजिक सवालका कारण मानिसको मनोभाव (मन) तथा व्यवहारमा परिवर्तन हुनु मनोसामाजिक समस्या हो । प्राकृतिक प्रकोप जस्तै भूकम्प, बाढिपहिरो हावाहुण्डरी, माहामारी, द्वन्द्व जस्ता घटनाहरुले नेपालीलाई धेरैपटक मनोसामाजिक समस्याको चरणसम्म पु¥याएको छ ।
यस्तो समयमा मानिसहरुमा भोक निन्द्रा नलाग्ने, बेचैन हुने, छटपटी हुने लगायत दैनिक जीवनका क्रियाकलापहरुमा परिवर्तन हुने गर्दछ । कोरोना कहर र लकडाउनका कारण क्वारेन्टाइन आइसोलेसनमा बसेका बिरामीहरु संक्रमण सँगसँगै मनोसामाजिक समस्याले बढी सताइरहेको मनोचिकित्सकहरु बताउँंछन् । त्यसैगरी विद्यार्थी, दैनिक ज्यालादरी गर्ने मजदुर, किसान, व्यापारी, स्वास्थ्यकर्मी तथा कम आयश्रोत भएका मानिसहरुलाई यस्तो समस्याले छिटै छुने गरेको छ । खासगरी महिला बालबालिका तथा जेस्ठ नागरिकहरु मनोसामाजिक समस्याको शिकार बन्न थालेका विभिन्न संस्थाहरुको सर्बेक्षणले देखाउन थालेको छ ।
सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण र संक्रमित बिरामीको उपचारका लागि मात्रै ध्यान लगाएकाले अन्य बिरामी तथा मनोसामाजिक समस्या देखापरेका बिरामीहरुको उपचार तथा रोकथाममा ध्यान दिन सकेको छैन । मनोसामाजिक समस्या उचित परामर्श तथा चाँडै औषधि पाए निको हुने समस्या हो । तर शुरुमा सामान्य लक्षणहरुले गर्दा मानिसले वास्ता गर्दैनन् र दिर्घकालीन समयसम्म असर गरिरहेको हुन्छ । कहिलेकाहीँ उपचारको अभावमा मानिसको मृत्यु हुने र जीवनभरिको लागि चरम डिप्रेसनमा जान सक्छन् ।
पीडै पीडा
महामारी तथा बिपद्का बेलामा गलत समाचारहरु सामाजिक संजाल र आमसंचार माध्यममा आउने अपुष्ट समाचारहरुले पनि समस्या उत्पन्न गराइरहेको हुन्छ । यसैगरी अहिले बढिरहेको अर्को ठूलो समस्या रोगभन्दा भोक भइरहेको छ । दिनभरी मजदुरी गरेर बिहान बेलुका चुलो जलाउने श्रमजिबी मजदुरहरु, रोजगारीका लागि शहर पसेका मजदुरहरु, अध्ययनका लागि शहर तथा राजधानी गएका विद्यार्थी, श्रम गर्न बिदेश गएकाहरु भोकभोकै भएको अवस्था छ । राजधानीमा श्रम गर्न गएका मजदुरहरु गाँस र बाँस दुबैको समस्याले सडकमा आए । विद्यार्थीहरु खानेकुरा सकिएपछि स्थायी घर जान पोको पन्तुरो बोकेर बाटो लागिरहेका छन् । कम आयस्रोत भएक मानिसहरु आफ्नो गृहजिल्ला जान निस्किएकाहरु सयौं कोश टाढा पैदल हिँडेर घर पुगेका छन् । अझैं कति बाटोमै छन् ।
केहिदिन यतादेखि मात्र केही जिल्लाहरु र स्थानीय निकायहरुले आफ्ना नागरिकलाई स्थायी बासस्थानमा लाने ल्याउने काम गर्न थालेका छन् । यसले संक्रमण बढ्ने जोखिम पनि त्यतिकै ल्याएको छ । समयमै सरकारले त्यस्ता नागरिकहरुलाई उचित व्यवस्थापन गर्न चाहेको भए उक्त जोखिम कम गर्न सकिन्थ्यो । नागरिकहरुले जीवनमै नपाएको दुःख पनि पाउने थिएनन् । आफ्नो बास खोज्दै भोकै प्यासै हिँडेका मानिसहरुको दर्दनाक पीडा सुनिनसक्नु छ । त्यतिबेला उनीहरुले घामपानी, बादल झरी नभनी दिनभरी उभिएर भोट हालेका आफ्ना नेताहरुलाई कतिपटक झल्झली सम्झिए होला ? कठै !
नेपालको सन्दर्भमा नेपाल सरकारले जारी गरेको लकडाउनलाई नेपाली जनताले पूर्णरुपमा पालना गरेका छन् । कहिले नसुनेको लकडाउन, क्वारेन्टाइन र आइसोलेसन जस्ता शब्द अब नेपाली जनजिब्रोमा भिजिसकेको छ । यही शब्दमा नेपाली जनजिब्रोले अभ्यास गर्न थालेको छ । कहिले नसुनेको शब्दलाई स्वीकार गरेर त्यसको सामना गर्न नेपालीजन तयार रहेकै कारण अहिले नेपालले यो सफलता प्राप्त गरेको छ । अहिलेको सफलताले हामी जस्तो परिस्थितिसँग जुध्न सक्षम रहेछौ भनेर पनि पुष्टि गरिदिएको छ । तर विडम्बना, हाम्रो सरकारले कामभन्दा धेरै कुरा गर्छ । अझैं कोरोना विरुद्धका कदमहरु कडाईकासाथ लागू गर्नुपर्नेमा आलटाल गरेको भान भएको छ । यसले गम्भीर दुर्घटना निम्त्याउन सक्छ । बेलैमा सचेत बनाउन सकिएन भने नसोचेको दुर्घटना पनि हुनसक्छ ।
डामाडोल अर्थतन्त्र
लामो समयको बन्दाबन्दी (लकडाउन) ले गर्दा मानिसहरुले दैनिक कष्टकर बनेको छ । व्यापार व्यवसाय, कलकारखाना र उद्योगधन्दा बन्द भएका छन् । यसले नेपालको अर्थतन्त्रमा ठूलो क्षति भोग्नुपरेको छ । रेमिटेन्सले धानेको नेपालको अर्थतन्त्र डामाडोल हुने अवस्थामा छ । आन्तरिक तथा बाहिय पर्यटन भित्र्याउँदा वितका वर्षहरुमा नेपालको अर्थतन्त्रलाई टेवा दिने काम भइरहेको थियो । कोरोनाका कारण पर्यटन व्यवसाय ध्वस्त भएको छ । विश्व नै अर्थतन्त्रको गिरावटको चपेटामा परेको अवस्थामा नेपालले पनि यसवर्ष ८.५ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य राखेकोमा १.५ प्रतिशतदेखि २.८ प्रतिशतसम्म मात्र हुनसक्ने बिश्व बैंक, साउथ एसिया इकोनोमिक्स फोकसले उल्लेख गरेको छ । यसलाई ४० वर्ष यताकै नाजुक अर्थात् खराब स्थिती मानिएको छ ।
विश्वव्यापी कोरोना कहरले संसारै आर्थिक मन्दीसँग जुधिरहेको बेला गरिब मुलुकहरुको अग्रपंक्तिको सुचिमा रहेको देश यसबाट अछूतो कहाँ रहन सक्छ र ? यसकारण पनि अब मानिसहरुमा तनाव, दिग्दारी, चिडचिडाहट हुन थालेको छ । बिस्तारै भोकमारीले नछोला भन्न सकिने अवस्था छैन । भुकम्प, नाकाबन्दी, बाढिपहिरो, द्वन्द आदिबाट आक्रान्त बनेको नेपालमा कोरोना कहरका कारण थप मानसिक समस्याहरुबाट गुज्रिनुपर्ने अवस्था आइसकेको छ ।
कोरोना कहर र लामो लकडाउनले विद्यार्थीहरुको पठनपाठन डामाडोल भएको छ । एसईई परीक्षा दिन तयार भएका विद्यार्थीहरुको भविश्य पनि उस्तै भएको छ । केही विद्यालयहरुले अनलाइनमार्फत अध्ययन शुरु गरेका छन् । तर सबै विद्यालय त्यो पहुँचमा छैनन् । यसका लागि पनि सरकारले कोरोनाबाट पीडित बनेका नागरिकका लागि नीति बनाउनुपर्ने हो । त्यसतर्फ सरकारको ध्यान गएको देखिँदैन । भाडामा बस्नेहरुको समस्या उस्तै छ । उनीहरुको निद हराम भएको छ । सरकारले घरभाडा तिर्नु नपर्ने भनेर अबैज्ञानिक निर्णय गरेको छ । तर त्यसका लागि आधारभुत ब्यवस्थाहरु गरेको छैन । बैंकबाट ऋण लिएकाहरु मर्नु न बाच्नु भएका छन् । उनीहरुका लागि पनि सरकारले केही न केही नीति ल्याउनुपर्छ ।
तरंगित विश्व
अहिले प्रकृतिले समग्र मानव जातिमाथि यति ठूलो समस्या ल्याइदिएको छ की पटकपटक विश्वमा स्वास्थ्य र आर्थिक संकट नै निम्त्यो । योभन्दा अगाडिसन् २००९ मा स्वाईनफ्लु, सन २०१४ मापोलियो, सन २०१६ माजिका र सन २०१४ र सन २०१९ मा इबोला संक्रमण फैलिएर विश्वलाई हल्लाइदिएको छ । विश्वलाई स्वास्थ्य संकटकाल घोषणा गर्न बाध्य बनाइदिएको छ ।
सन् २००३ मा सार्स भनिने भाईरसको संक्रमणबाट विश्वभरका ३० वटा देशमा ७७४ जनाले मात्र ज्यान गुमाएका थिए । सो सार्सकै दोस्रो रुपमा देखिएको कोभिड १९ ले भने २ लाख ८ सय १२ जनाको मृत्यु भइसकेको छ । २८ लाख ७४ हजार ६ सय ६० यसको संक्रमणमा परेका छन् । दिनदिनै संक्रमितहरुको संख्या बढेको बढ्यै छ । यसको नियन्त्रण कहिले होला भनेर विश्वमा मानव जाति पर्खाइमा छ ।
प्रथम विश्वयुद्ध १८ जुलाई १९१४ देखि ११ नोभेम्बर १९१८ सम्म चलेको थियो । ततपश्चात अक्टोवर क्रान्ति भनेर रुसमा सन १९१७ मा महान अक्टोवर समाजबादी क्रान्ति भएको थियो । दोस्रो युद्ध १९३९ देखि १९४५ सम्म चल्दा यो लडाईमा ७० देशहरुका जल–थलबायु सेनाहरु युद्धमा सम्मिलित थिए । ६ करोड मानिसको ज्यान गएको थियो । त्यो मानव ईतिहासमा घातक युद्ध भएको थियो । यो युद्ध अलाईज र एभ्सिस शक्तिहरुको बीचमा भएको थियो । खुला आकाशमुनी मृत्यु र मुक्तिको दोसादमा जीवनलाई राखेर युद्ध सफल गर्ने मानवजाति अहिले भने कोरोनाको कारण घरभित्र बसेर युद्ध लड्न परेको छ । जसमा मानव शाहस र आटले कोरोनालाई केहि सहजै जित्न सक्ने परिस्थिति भने छैन ।
निरीह स्थानीय सरकार
अहिले देशमा तीन तहको सरकार छ । यो बेला तीनै तहका सरकारहरुले जनताका लागि के कति गर्नसक्छन् भनेर मुल्यांकन गर्ने बेला पनि हो । कोरोनाको कहर शुरु हुनुभन्दा अघिसम्म सरकारको कारकारवाही ठीकसँग चलेको छैन । तीनै तहका सरकारप्रति जनता खुसी छँदै छैनन् । जनताले संघीयता आएको अनुभूती गर्न पाएकै छैनन् । त्यसका लागि अर्थात् जनतालाई तीन तहका सरकार छ भन्ने दिलाउन पनि सरकारले सम्पूर्ण विवेक प्रयोग गरेर आफ्ना नागरिकलाई सुरक्षित राख्नुपर्छ । राज्यको सारा ढुकुटी खर्च गरेर भए पनि जनताको भोक मेटाउनुपर्छ । त्यसै पनि अहिले राज्य कोषमा पैसा छँदैछ । विकास निर्माणका कामहरु हुन नसक्दा त्यो खर्च फ्रिज हुने हो । बरु त्यो खर्चले नागरिकको छाक टार्नु राज्यको दायीत्व पनि हो ।
यो कठिन अवस्थामा लाखौं जनताको दैनिकी कष्टकर बनेको छ । हजारौं जनता राहतको पर्खाईमा छन् । अहिलेजस्तो २/४ केजी चामल दिएर उम्किन खोज्नु हुन्न । जस्तोसुकै कष्ट परे पनि नेपालीले सहेकै छन् । जनताले दुःख सहलान्, तर भोक सहँदैनन् । जुन स्वभाविक पनि हो । कोरोना पीडितका लागि सरकारले थोरबहुत राहत उपलब्ध गराएको छ । त्यो राहत पनि हुँदा खानेको पहुँचमा छ, वास्तविक गरिव र निमुखाले निक्कै मुस्किलले पाएका छन् । यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।
समयमै लकडाउन गरेको र सिमा नाकाहरु बन्द गरी अन्तर्राट्रिय हवाइ उडान बन्द गरेकोले त्यति जोखिम मोल्नुपरेन । यस अर्थमा सरकार उत्कृष्ट भएको छ । नेपालमा पनि केही जिल्लाहरुमा लकडाउनलाइ खुकुलो पार्ने कुरा आउन थालेको छ । प्रदेश १ मा कोरोनाको संक्रमण फैलिने क्रम बढेको छ । यसकारण पनि नेपालमा अब के हुन्छ भन्ने कुर सहजै अनुमान लाउन सक्ने अवस्था छैन । उचित स्वास्थ्य व्यवस्थापन गरेर मात्र लकडाउनलाइ खुकुलो पार्नुपर्छ । या त विपन्न नागरिक, दैनिक ज्यालादारी मजदुरहरुलाई भरपर्दो राहतको कार्यक्रम बनाएर तुरुन्तै कार्यान्वयन गर्नुपर्छ । सरकारले निरन्तर लकडाउन मात्रै गर्ने, अल्पकालीन दिर्घकालीन राहतको योजना नबनाउने हो भने जनताले कोरोना कहरभन्दा भोकमारी र मनोसामाजिक समस्या लगायतका थुप्रै जोखिम तथा समस्याहरु व्यहोर्नुपर्ने हुन्छ ।
(गजमेर दलित जनअधिकार मञ्चकी अध्यक्ष हुन्)
प्रतिकृया दिनुहोस