राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान चाड इद उल फित्रले विविध धर्म र संस्कृति अङ्गाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन् । शुभकामना सन्देशमा उनले पवित्र महिना रमदानको बिदाइसँगै शान्ति र भाइचाराको सन्देश प्रवाह गर्दै यस पर्वका अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीलाई ‘इद मुवारक’ भन्दै शुभकामना दिएका छन् ।
प्रधानमन्त्रीले दिएको सन्देशमा इस्लामिक क्यालेण्डरअनुसार रमदानको एक महिनाभरि भोक र तिर्खा बिर्सेर इन्द्रीयहरूलाई क्रोध र स्वार्थजस्ता अवगुणबाट टाढा राखी मानव जातिका लागि आदर्श जीवनयापनको अभ्यास गर्ने अवधिका रुपमा ग्रहण गरिने उल्लेख छ । त्यसलगत्तै वर्षका बाँकी अवधिका लागि असल मानिसको जीवनयापन गर्न अभ्यस्त भएको खुशियालीमा यो पर्व मनाउने गरिएको विश्वास पनि मुस्लिम समुदायमा रहेको उनले बताएका छन् ।
नेपालको संविधानको प्रस्तावनामै देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षाेल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित भएको बताएका छन् ।
संविधानले धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षतालाई सुनिश्चित गरिसकेको आजको परिप्रेक्ष्यमा नेपालका मुस्लिम समुदायलगायत सबैको धार्मिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति रहेको सन्देशमा उल्लेख छ । सन्देशमा देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्थाअनुरुप मुस्लिम आयोग पनि क्रियाशील रहेको भनिएको छ ।
प्रतिकृया दिनुहोस