एकता टुंग्याउने नेकपा शीर्ष नेताको समझदारी

काठमाडौं  । सत्तारूढ दल नेकपाले दुई पार्टी एक भएको वर्षगाँठमा एकताका सबै प्रक्रिया टुंग्याउने भएको छ। जेठ ३ मा नेकपाको पार्टी एकता भएको वर्ष दिन पुग्दै छ। 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली बिहीबारबाट कम्बोडिया र भियतनाम भ्रमणमा जाने भएकाले उनी फर्किएपछि मात्र एकता टुंग्याउने नेकपा शीर्ष नेताको समझदारी छ। 

ओली जेठ १ गते मात्र स्वदेश फर्किनेछन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी बैठकले जेठ ३ मा एकता टुंग्याउने गरी समझदारी निकालेका हुन्।

 शीर्ष नेताको बैठकमा पोलिटब्युरो गठन, जनसंगठनको एकता र कार्यविभाजन केन्द्रित छलफल भएको र एक कदम अगाडि बढेको अध्यक्ष दाहालले पुष्टि गरेका छन्।

बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा यी विषयमा छलफल अघि बढेको उनले बताए। ‘पोलिटब्युरो गठन, केन्द्रीय नेताहरूको कार्यविभाजन र जनसंगठनहरूको एकतामा हामी अन्तिम टुंगोमा पुगेर आजै मात्र हामी एक कदम अगाडी बढेका छौं,’ दाहालले भने। नेकपामा कुल केन्द्रीय समितिको एकतिहाइ अर्थात् १ सय ४७ जनाको पोलिटब्युरो बनाउने सहमति छ, जसमा ८१ जना पूर्वएमाले र ६६ जना पूर्वमाओवादी नेता पोलिटब्युरोमा समेट्ने समझदारी शीर्ष तहमा यसअघि नै भइसकेको छ।

तत्कालीन एमालेका तर्फबाट पोलिटब्युरोमै रहेका ६१ जना र थप २० नयाँ अनुहार समेटिनेछन् भने माओवादीका तर्फबाट अहिले स्थायी समितिमा रहेका १९ जना र अन्य ४७ जना भने विगत सचिवालयमा रहेका नेता र एकता प्रक्रियामा सहभागीबाट छनोट गर्ने तयारी छ।

 जनसंगनठका सवालमा भने महिला, विद्यार्थी, युवा र मजदुरमा सबैभन्दा बढी पेचिलो विवाद छ। चारै संगठन तत्कालीन एमालेले नेतृत्व छोडन चाहेको छैन भने माओवादी तर्फकाले दुईदुई वटा संगठन भागबन्डा लगाउनुपर्ने बताएको छ।


प्रतिकृया दिनुहोस