फोरम र नयाँ शक्तिबीच एकता, बन्यो समाजवादी पार्टी
९ बुँदे सहमतिपत्रमा हस्ताक्षर
काठमाडौँ । उपन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी र डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी एकता भएका छन् । सोमबार प्रज्ञा प्रतिष्ठानमा औपचारिक रुपमा पार्टी एकता भएको घोषणा गर्दै उनीहरुले नयाँ पार्टी समाजवादी पार्टी नेपाल हुने बताएका छन् ।
मधेशका मुद्दामा केन्द्रीत राजनीति गरिरहेको फोरम र माओवाद त्यागेर वैकल्पिक शक्ति बन्न खोजिरहेको नयाँ शक्तिबीच समाजवादसहित अघि बढ्ने सहमति भएको हो ।
यादव नेतृत्वको फोरम अहिले सरकारमा पनि सहभागी छ । फोरम र नयाँ शक्ति एकता वार्ता यादव सरकारमा गएपछि अड्किएको थियो । नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।
अब पार्टी एकीकरण भएपछि सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएको बताइएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई आफैं एकमात्र सांसद छन् ।
यसअघि स्थानीय तहको निर्वाचनका बेला पनि फोरम र नयाँ शक्तिबीच एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । तर, नेतृत्वमा सहमति नहुँदा दुई पार्टीबीचको एकता प्रक्रिया रोकिएको थियो । दुई वर्षदेखि चलेको वार्तालाई निष्कर्ष दिँदै दुई दिनअघि पार्टी एकिरकण गर्ने सहमति भएको थियो।
प्रतिकृया दिनुहोस